स्याङ्जामा व्यावसायिक केरा खेतीबाट मनग्य आम्दानी

स्याङ्जा। दुई दशक खाडीमुलुकमा रोजगारी गरी स्वदेश फर्किएका स्याङ्जा चापाकोट–९ सुन्तलीटारका रामु बस्यालले व्यावसायिक रुपमा केराखेती गरेका छन ।

झण्डै तीन वर्षअघि विदेशबाट फर्किएका उनले साढे दुई वर्षअघिदेखि ‘मैदाने बहुउद्देश्यीय कृषि फार्म’मार्फत व्यावसायिकरुपमा केराखेती थालेका हुन् । “छ रोपनी क्षेत्रफलमा पहिलो चरणमा ६ सय वटा केराका बोट लगाएको छु” उनले भने, “मसँग २६ रोपनीको खेत छ । सबैमा केरा लगाउने तयारीमा पनि छु ।”

उनले फार्ममा ‘झापाली शालिग्राम’ र ‘टिशुकल्चर जी नाइन’ गरी दुई जातका झण्डै तीन/तीन सय केराका बिरुवा लगाएको छ । “झण्डै साढे दुई वर्षअघि रोपेको बिरुवाले अहिले उत्पादन दिन थालेको छ” उनले भने, “अहिलेसम्म उत्पादन भएको केरा स्थानीय चापाकोट बजारमै बिक्री हुने गरेकाले बजारको समस्या छैन यही खपत भइरहेको छ ।”

धान हुने खेत मासेर केराखेती लगाउँदा धान मासियो यो नहुने खेलो किन गरेको होला भन्ने गाउँलेहरु अहिले केराखेतीबाट आम्दानी हुन थालेपछि फरक सोच बनाउनुभएको बस्यालको भनाइ छ । “धान उत्पादनभन्दा केराखेतीबाट तीन गुणा बढी फाइदा हुने मैले अनुभव गरेको छु”, उनले भने, “अब अहिले धानखेती भइरहेको २० रोपनीमा पनि क्रमशः केराखेती विस्तार गर्ने योजनामा रहेको छु ।”

दुई दशक विदेशी भूमिमा पसिना बगाएका बस्यालले स्वदेशमा फर्केपछि थालेको केराखेती सफलतातर्फ उन्मुख भएसँगै पहिलेदेखि नै स्वदेश फर्केर गर्नुपर्नेमा ढिलो भएकामा दुखेसो पोखे । “म धेरै लामो समय विदेशी भूमिमा रोजगारी गरे, विदेशमै पनि मेरो राम्रो काम थियो तर अब स्वदेश फर्केर उही केही गर्नुपर्छ भन्ने लागेर फर्किएँ र केराखेती थालेँ”, उनले भने, “काम गर्न चाहनेलाई स्वदेशमै थुप्रै सम्भावना छ ।”

साढे दुई वर्षअघि जग्गा सम्याउने, केराको बिरुवा खरिद, मल खरिदजस्ता कार्यका लागि रु १० लाख खर्च लागेको बस्यालले बताए । अहिले धेरै उत्पादन नभएकाले पनि नजिकैको स्थानीय चापाकोट बजारमै केरा बिक्री हुने गरेको छ । चापाकोट बजारमै खपत नभएमा नजिकैको अन्य बजारमा लैजाने गरी तयारी भइरहेको उनको भनाइ छ ।

“यहाँ उत्पादन भएको केरा लिनका लागि अहिले ग्राहक घरमै आउने गर्नुहुन्छ”, उनले भने, “ढिलै भए पनि राम्रो व्यवसाय थालेको रहेछु । मैले थालेको पेशाबाट म पूर्णरुपमा सन्तुष्ट पनि छु ।” -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button