उमा कुङफुको भर्चुअल प्रतिष्पर्धामा नेपाललाई चार स्वर्ण

पोखरा । ‘अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्स’मा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेका छन् । अनलाइन प्रतिष्पर्धामा ४ स्वर्णका अलावा नेपालले २ रजत र १ कांस्य पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् ।

कमल मगर र सञ्जयराज पुटुवारले नेपाललाई दोहोरो पदक दिलाए । पुरुष ताइचीको सफ्ट स्टायलमा कमलले स्वर्ण जिते भने नन् ट्रेडिसनल वेपनमा कांस्य हात पारे । पुरुषतर्फ सञ्जयले सफ्ट स्टायल तथा ट्रेडिसनल वेपन दुवै विधामा रजत प्राप्त गरे ।

महिला ताइचीको सफ्ट स्टायलमा मुन्नी सुवेदी लामा तामाङले स्वर्ण जित्न सफल भइन् । महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जिते ।

वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) ले आयोजना गरेको प्रतियोगिता अस्ट्रियाको ब्रिगेन्जमा मे २८ देखि ३० तारिखसम्म भएको थियो । प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २ सय ३३ खेलाडीले प्रतिस्पर्धा गरेको अध्यक्ष लामाले जानकारी दिए ।

नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन् । खेलाडीले आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेट सम्मको श्रब्यदृष्य डब्लुएमएसीमा पठाउनु पर्ने थियो । एक स्पर्धाका लागि खेलाडीले १५ युरो दर्ता शुल्क तोकिएको थियो । एक भन्दाबढी स्पर्धामा भाग लिनुपर्ने भए अतिरिक्त ५ युरो तिर्नुपर्ने थियो ।

डब्लुएमएसीले कोरोना भाइरस (कोभिड– १९) कारण आफ्नो सम्पूर्ण वार्षिक प्रतियोगिता स्थगित गर्नु परेपछि यो भर्चुअल प्रतियोगिता आयोजना गरेको अध्यक्ष लामाले जानकारी दिए । अध्यक्ष लामाले अहिलेको विषम परिस्थितमा पनि भर्चुअल प्रतियोगिता आयोजना गरेर खेलाडीको मनोबल उच्च पार्न सहयोग गरेकोमा डब्लुएमएसीका अध्यक्ष हेराल्ड फोल्लाडोरीलाई धन्यवाद दिए ।

स्थिति सामान्य नभए नोभेम्बरमा डब्लुएमएसीले भर्चुअल विश्व च्याम्पियनसिप पनि आयोजना गर्न लागेको अध्यक्ष लामाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button