मनमहोन अधिकारी र केपी ओलीले मात्र जनपक्षीय काम गरे : मुख्यमन्त्री गुरुङ

पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीका धेरै प्रधानमन्त्री भए पनि मनमहोन अधिकारी र केपी शर्मा ओलीले मात्र जनपक्षीय काम गरेको बताउनुभएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालमा कम्युनिष्ट सरकारको नेतृत्व गर्ने मध्ये अधिकारी र ओलीले मात्र जनताको हितमा काम गरेको बताउनुभएको हो ।  मुख्यमन्त्री  गुरुङले भन्नुभयो, ” कमजोर सरकार भए पनि मनमोहनले भारतमा असमान सन्धि पुनरावलोकनको कुरा उठाएर भारतलाई झस्काउनुभयो । त्यसपछि मुलुकको समृद्धिका लागि काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओली मात्र हो ।”

नेकपाका स्थायी कमिटीका सदस्य तथा प्रदेश इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा  अवरोध सिर्जना गरेको कारण प्रधानमन्त्रीले  संसद् विघटन गरी जनतामा जानुपरेको बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले भन्नुभयो, “सरकारलाई काम गर्न नदिने र अर्को प्रधानमन्त्री बनाउन सक्ने वातावरण नभएको बेलामा  प्रधानमन्त्रीलाई थाहै नदिई अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि मुलुकलाई सङ्कटबाट जोगाउन प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प थिएन ।” उहाँले प्रचण्ड माधव पक्षले   बहुमतका नाममा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर मुलुकलाई सरकारविहीन बनाउँदै अराजकतातर्फ धकेल्ने खेल खेलेको आरोप लगाउनुभयो ।

नेकपा प्रचण्ड–माधव समूह बहुमतको नाममा आफ्नो निजी स्वार्थका लागि पार्टीको विधि, विधान र सहमतीय संस्कारविपरीत गएको  उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सरकारले घोषणा गरेको मध्यावधि चुनावको लागि सबै एकजुट भएर अघि बढ्ने बेला प्रचण्ड–नेपाल समूह निर्वाचनमा जान डराइरहेको बताउनुभयो। उहाँले हिम्मत भए चुनावमा आएर निर्वाचन जितेर प्रधानमन्त्री चलाउन चुनौती समेत दिनुभयो ।

भेलामा  बोल्ने नेकपाका केन्द्रीय सदस्यहरुले  अध्यक्ष र महासचिव भएको पार्टी नै संस्थापन पक्ष हुने  र सूर्य चिह्न पनि संस्थापनकै हुने दाबी गरेका थिए  । कार्यक्रममा नेकपामा प्रवेश गरेका २०० जनालाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले टीकामाला लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button