जिफानका तीन पूर्व अध्यक्षले फिल्म ‘कर्म क्याँ’ हेर्ने

अनलाइन मार्फत गरे टिकट बुक

पोखरा न्यूज । गुरुङ फिल्मको इतिहासमा नयाँ अध्यायको शुरुवात हुँदैछ । किनकी अब केही दिनमा गुरुङ फिल्म नियमित रुपमा हलमा प्रर्दशन हुने क्रमको आरम्भ हुँदैछ । गुरुङ फिल्म एशोसिएसन नेपालको ब्यवस्थापनमा यो कार्य हुन लागेको हो । ‘घर दैलोमा टिकट किनेर होइन चलचित्र हलमा गएर सहयोग गरौं’ भन्ने अभियानलाई यतिबेला जिफानले व्यापक बनाउन खोजेको छ । फलस्वरुप गुरुङ फिल्म हेर्न अनलाइन मार्फत टिकट बुक गर्न पाइने अवस्था सिर्जना भएको छ ।

‘हलमा नियमित फिल्म प्रर्दशन र अनलाइन मार्फत टिकट बुक गर्न पाइने अवसर गुरुङ फिल्मको बजारमा ऐतिहासिक कदम हो’ गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले भन्नुभयो ।नियमित गुरुङ फिल्म प्रदर्शनको लागि सोमबारबाट गुरुङ फिल्म ‘कर्म क्या’ को अग्रिम टिकट बिक्री तथा बुकिङ खुल्ला गरिएको हो । बुकिङ खुल्ला गरिएको केही समयमानै जिफानका तीन पूर्व अध्यक्षहरुले टिकट बुक गर्नुभएको छ ।

जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङसहित पूर्व अध्यक्ष बेद बहादुर गुरुङ तथा निवर्तमान अध्यक्ष गिरी प्रसाद गुरुङले ई-टिकट किनेर अनलाइन बुकिङ शुभाराम्भ गर्नुभएको हो । जिफानका तीन पूर्व अध्यक्षले ई-टिकट किनेर जिफानको अभियानमा गुरुङ फिल्मका दर्शकको साथ खोजेका छन् । नियमित रुपमा हलमा फिल्म प्रर्दशन गर्ने अन्तिम तयारी तथा अनलाइन टिकट बुकिङको सुरुवातले गुरुङ फिल्मको क्षेत्रमा नयाँ उर्जा थपेको छ ।

नियमित रुपमा हलमा प्रर्दशन हुने क्रमको आरम्भ माघ २३ गते शुक्रबारबाट हुँदैछ । यसरी प्रर्दशन हुने पहिलो फिल्म बन्ने अवसर फिल्म कर्म क्याँ (कर्मको बाटो)ले पाएको छ । तमु फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म माघ २३ र २४ गते मिड टाउन ग्यालरीयामा प्रर्दशन हुनेछ ।

‘कर्म क्या’ जसु गुरुङले निर्देशनमा डेब्यु गरेको फिल्म हो । यो फिल्म चार वर्ष अगाडि नै दर्शकमाझ देखाइएको थियो । यसरी प्रर्दशन हुँदा दर्शकको माया यो फिल्मलाई मिलेको थियो । लमजुङको नाल्मा र भिम्डा गाँउमा छायांकन गएिको फिल्ममा देखेको होइन कर्ममा लेखेको नै हुन्छ भन्ने सन्देश दिन खोजिएको छ । करिब २५ वर्ष पुरानो गुरुङ गाउँको परिवेशको कथालाइ फिल्मको माध्यमबाट दर्शकमाझ पस्कने प्रयास फिल्म युनिटले गरेको छ ।

फिल्मका निर्मातामा लोकबहादुर गुरुङ र धर्ममाया गुरुङ, सहनिर्देशकमा गजेन्द्र गुरुङ, छायांकन भेषबहादुर गुरुङ, कथा शंकर गुरुङ (बतासे)को रहेको छ । सुजित गुरुङ र रिया गुरुङको बेजोड अभिनय फिल्ममा हेर्न पाइन्छ । यसका अलावा गजेन्द्र गुरुङ, सीतला गुरुङ, बालकलाकार मञ्जु गुरुङका साथमा छायाकंन स्थलका स्थानीय कलाकारको अभिनय फिल्ममा हेर्न पाइन्छ । धन बहादुर गुरुङले संगीत भरेको फिल्ममा तीन वटा गीत समावेश छन् ।

फिल्म ‘कर्म क्या’ को प्रर्दशन सँगै गुरुङ फिल्म नियमित रुपमा हलमा प्रर्दशन गरिनेछ । यसरी हुने प्रर्दशन निरन्तर अगाडि बढ्ने जिफानले जनाएको छ । पहिलो चरणमा २० वटा फिल्मको प्रर्दशन मिति तय गरेर फिल्म प्रर्दशनको थालनी गर्न लागिएको हो । यसरी प्रर्दशन गरिएका फिल्म गुरुङ फिल्मका नियमित दर्शकका अलावा अन्य नयाँ दर्शकले समेत हेर्ने जिफानको विश्वास छ । पहिलो चरणमा हप्तामा दुईदिन शुक्रबार र शनिबार फिल्म प्रर्दशन गरिएपनि दर्शकको साथ पाएमा यसलाई थप विस्तार गर्ने जिफान तथा गुरुङ फिल्मकर्मीको तयारी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button