कोरोना विरुद्धको खोप पहिलो चरणमा एक लाख ८४ हजारले लगाए

पोखरा न्यूज । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका दुई सय एक खोप केन्द्रबाट एक लाख ८४ हजार ८ सय ५७ जनालाई दिइएको छ ।

जसअनुसार प्रदेश नं १ मा २४ हजार २ सय २४, प्रदेश नं २ मा २५ हजार ६ सय ३७, वाग्मती प्रदेशमा ६३ हजार ३ सय ८, गण्डकी प्रदेशमा १८ हजार ४ सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार ९सय ४१, कर्णाली प्रदेशमा नौ हजार ४ सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८ सय ५५ जना छन् ।

मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ ।

नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button