१९ करोड भुक्तानीको तालिका सार्वजनिक

पोखरा न्यूज । सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले उखु क्रसिङ बन्द गरेको छ । जारी सिजनमा ७९ दिन उखु क्रसिङ गरेर उद्योगले उखु लिन बन्द गरेको हो ।

उद्योगले यो सिजनमा २२ लाख १६ हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । गत वर्ष करीब २६ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगले यस वर्ष करीब चार लाख कम उखु क्रसिङ गरेको हो ।

चालु सिजनमा २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि विविध कारणले लक्ष्यअनुसार उखु पेल्न नसकिएको उद्योगले जनाएको छ । इन्दुशङ्कर गत पुस ६ गतेदेखि सञ्चालनमा आएको थियो ।

उद्योगबाटै उखुको भुक्तानी वर्षौँसम्म नपाइने अनि सरकारी अनुदान पाउन पनि वर्ष दिनभन्दा बढी कुर्नुपर्नेलगायत झञ्झट बेहोर्नुपर्ने भएपछि किसानले पछिल्लो समय उखुखेती छाड्दै गएका छन् । यसबाट चिनी उद्योगको लक्ष्यअनुसार उखु क्रसिङ हुनसकेको छैन ।

इन्दुशङ्करले केही वर्षअघि मात्र करीब ४० लाख क्विन्टल उखु क्रसिङ गरेको थियो । अन्य चिनी उद्योगले भुक्तानीमा किसानलाई लामो समयसम्म हैरानी दिइरहे पनि इन्दुशङ्करले निरन्तर भुक्तानी गरिरहेको उखु प्रबन्धक रजकले जिकिर गर्नुभयो । उद्योगले जारी सिजनमै रु ७५ करोड भुक्तानी गरिसकेको र फागुन १ देखि १५ गते सम्मको बाँकी भुक्तानी रु ३० करोडमध्ये रु १९ करोडको भुक्तानी तालिका प्रकाशित गरिएको र सो भुक्तानी चैत १ गतेदेखि शुरु गरिने उहाँले जानकारी दिनुभयो ।

सर्लाहीकै गोडैता नगरपालिकामा रहेको बगदहमा रहेको महालक्ष्मी सुगर मिल पनि फागुन १९ गते नै बन्द भइसकेको छ । आठ लाख ९० हजार क्विन्टल उखु क्रसिङ गरेको सो उद्योगले अझै पनि किसानको भुक्तानी गरेकोे छैन ।

अघिल्ला वर्षमा पनि उखु उत्पादक किसानले आन्दोलन गरेपछि मात्रै महालक्ष्मीले पूरा भुक्तानी गरेको थियो । महालक्ष्मीले पुस ५ गतेदेखि उद्योग सञ्चालन गरेको भए पनि चार÷पाँच दिनको मात्रै भुक्तानी गरेको किसानले बताएका छन् । सर्लाहीका तीन चिनी उद्योगमध्ये धनकौलको अन्नपूर्ण चिनी उद्योग गत वर्ष र यो वर्ष सञ्चालन नै हुन सकेन । नेपाली उखु उत्पादक किसानले उखु उत्पादन घटाएपछि उद्योगलाई उखुको अभावसमेत भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button