नागरिकको जीवन रक्षा गर्न बजेटको अभाव हुँदैन: मुख्यमन्त्री नेपाली

पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशवासीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कोरोना महामारीमा नागरिकको जीवन रक्षा गर्न बजेटको अभाव नरहने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ,“कोरोना भाइरसको रोगथाम एवम् नियन्त्रणका लागि तीनै तहका सरकारको समन्वय आवश्यक छ । सङ्घले अनुदानका रुपमा पाउने र खरिद गर्ने वाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत प्रदेश सरकारले अध्ययन गरिरहेको छ । ”सङ्घीयताको आधारस्तम्भ स्थानीय तहलाई थप बलियो र अधिकार सम्पन्न गराउन सङ्घ र प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिंदै उहाँले स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्छ भन्नुभयोे ।

उहाँले संविधानमा उल्लेखित साझा अधिकारका सूची कार्यान्वयनमा साझा दृष्टिकोण भने बनाउनुपर्ने आवश्यकता औल्याउँदै विकास निर्माण र राजश्वका योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र सहकार्यको खाँचो औल्याउनुभयो । उहाँले कोरोना नियन्त्रण र प्राकृतिक प्रकोप पीडितको व्यवस्थापनमा प्रदेशले बनाएका योजनामा महानगरबाट सहयोगको अपेक्षा गरेको र प्रदेशको प्राथमिकतामा रहेको कोरोला, पोखरा, त्रिवेणी सडकका निर्माणमा समेत सहकार्य गर्न सकिने बताउनुभयो ।

प्रदेश सरकारले घोषणा गरेको स्तन क्यान्सरको निशुल्क उपचार, ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार, विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रममा पनि स्थानीय तहसंग सहकार्य गर्न सकिने मुख्यमन्त्री नेपालीले विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले महानगरले प्रकाशन गरेको कानुनहरुको संगालोको सार्वजानिक समेत गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button