हरिदेवी कोइरालाको मौलिक तीज गीत ‘जरुवाको पानी’ (भिडियो सहित)

राजाराम पौडेल । वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाको मौलिक तीज गीत ‘जरुवाको पानी’ सार्वजनिक भएको छ । तीजको बेलामा माइत जान नपाउँदा विवाहिता छोरीको मनमा खेलेका कुरालाई गीत मार्फत निकै सरल तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।

‘कहिले तीज आउला र हुन्छ माइता जाम्ला झै, आमाले पकाएको भात खाम्ला झै’ भन्दै विवाह गरेर पराइघर गएका चेलीलाई तीजको महत्व कति हुने गर्दछ भनेर प्रष्ट्याउन खोजिएको छ । यस्तै सरल शब्द ‘जरुवाको पानी जरुवामा कलकली, माइती देशको सम्झना आयो झलझली’ले गीतमा छुट्टै मिठास थपेको छ ।

माइती देश, बाबा, आमा, भाइ, दाइ, दिदी, बहिनी, संगीसाथी सबैलाई तीजको अवसरमा सम्झिएको प्रसंगले पात्रको बाल्यकालदेखि अहिलेसम्मको जीवनलाई सजिलै बुझ्न सघाएको छ । मुख्यपात्रको जीवनमा दर्शकले कहिकतै आफ्नो अपनत्व पाउनसक्नु गीत अनि भिडियोको विशेषता हो ।

गीतलाई म्युजिक नेपालकाे युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । गीत गायिका कोइरालाकै आवाज शब्द तथा लय संकलनमा तयार भएको छ । गीतको थेगो पिताम्बर गौतमले सिर्जना गर्नुभएको हो भने रेकर्ड म्युजिक नेपालको स्टुडियोमा गरिएको हो ।

गीतलाई जीवन्तता दिन भिडियो निर्माणमा उतिकै मेहनत गरिएको छ । भिडियोमा स्मृती तिमिल्सिना ‘गुरुआमा’,  रमा थपलिया,  रामबहादुर कोइरालाको मुख्य अभिनय हेर्न पाइन्छ ।

भिडियोमा अभिनय गर्नुभएका रामबहादुर गायिका कोइरालाका श्रीमान् हुनुहुन्छ । साथमा कोरस नृत्य तथा अन्य कलाकारको अभिनयले भिडियोलाई आकर्षक बनाउन सघाएको छ । गुरुआमा फिल्मस् प्रालिले पोष्ट प्रोडक्सनको जिम्मेवारी पुरा गरेको भिडियोमा प्रकाश धमला भाञ्जाको सम्पादन, सुरेश श्रेष्ठले छायाकंन, रोशन भुषालको श्रृगार रहेको छ । भिडियोको निर्देशन स्मृती तिमिल्सिना गुरुआमाले गर्नुभएको हो । भिडियोमा मुख्य पात्रको रुपमा निर्देशक तिमिल्सिना आफैले जीवन्त अभिनय गर्नुभएको छ ।

त्यसो त २०४० सालमा ‘पाइन खबर’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गर्नुभएकी गायिका कोइरालाले २०४२ सालदेखि निरन्तर तीजका एल्बम बजारमा निकालिरहनुभएको छ । उहाँ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद सदस्य हुनुहुन्छ ।

उहाँका मनको वह, दुःखीकाे विलौना, फेवाताल सलल, कास्कीको कोसेली, पाइन खबर–२, काठमाण्डौको कथा, फूल गोगनको, पिपल चौतारी, मुटुको धड्कन, ऐना हेरेर, लाली फूल, झिलझिल सितारा लगायतका असीभन्दा बढी एल्बम आइसकेका छन् । आफ्नै शब्द, लय र आवाजमा चारसय भन्दा बढी गीत उहाँले तयार पारिसक्नुभएको छ ।

भिडियो लिंकः

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button