सामीप्यता बढ्ने डरले पूर्वप्रेमीलाई भेट्न चाहन्नः दीपाश्री निरौला

पाेखरा न्यूज । दीपाश्री निरौला लगातार सफल फिल्म दिने निर्देशकमा पर्नु हुन्छ । अभिनेत्री हुँदै निर्देशनमा लाग्नु भएकी दीपाले ‘छक्का पञ्जा’ मार्फत निर्देशनमा पाइला टेक्नु भएकाे हाे । यसअघि उहाँ ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताका रूपमा रहनु भएकाे थियाे ।

डेब्यु फिल्ममै उहाँले सफलता पा‍उनु भयाे। त्यसपछि ‘छक्का पञ्जा २’ र ‘छक्का पञ्जा ३’ ले पनि सफलताको रेकर्ड बनाउँदै गए । नेपाली फिल्मको बजार तताउने श्रेय दीपासहित दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरेलगायतको टिमलाई जान्छ ।

०५४ मा पहिलोपटक फिल्ममा अभिनय गर्नु भएकी दीपालाई ‘गाउँले’ चलचित्रमा समावेश गीत ‘गोली सिसाको’ ले चर्चा दिलाएको हो । उक्त गीतमा राजेश हमालसँग नृत्य गर्नु भएकी दीपाले राम्रो चर्चा बटुल्नु भयाे। सो चलचित्र २०५५ तिर रिलिज भएको थियो ।

दीपाले यो सफलता सजिलै भने पाउनु भएकाे हाेइन । विराटनगरको मध्यम परिवारकी सदस्य दीपाले काठमाडौंमा धेरै संघर्ष गर्नु भयाे । ०५० सालतिर उहाँको भेट दीपकसँग भएको हो । रेडियो नेपालमा कामका लागि पुग्नु भएकी दीपाले त्यहीँ प्रांगणमा दीपकलाई पहिलोपटक भेट्नु भएकाे थियाे । त्यसपछि यी दुईले सहकार्यको सुरुवात गर्नु भयाे । ‘दीपकलाई धनिया क्यारेक्टर चाहिएको रहेछ र म तराईको भएकाले उसले काम गर्न अफर गर्यो र हामीले सहकार्यको सुरुवात गर्यौं,’ दीपाले भन्नु भयाे । त्यही सहकार्यले तीतो–सत्य हुँदै ठूलो पर्दाको चलचित्रसम्म निरन्तरता पायो ।

तर पनि चाडवाडमा दीपाले आफूलाई कहिलेकाहीँ एक्लो महसुस गर्नु हुन्छ । ‘चाडवाडमा सबै परिवारसँग हुन्छन्, म एक्लै हुन्छु त्यसैले आममान्छे झैँ मलाई पनि फिल हुनु स्वाभाविक नै हो,’ दीपाले भन्नु भयाे । तर पछिल्लो समय उहाँले आफ्नो जिम्मेवारीलाई अझ अगाडि बढाउनु भएकाे छ । दर्शकको विश्वासले गर्दा उहाँ झन् बढी मेहनती हुनु भएकाे छ ।

किन एक्लै हुनु हुन्छ त? भन्नु हुन्छ, ‘सायद म करियरमा बढी फोकस भएँ । प्रेम पनि बसेको थियो, तर मैले त्यो समयमा करियरलाई नै रोजे । किनकि सानैदेखि मलाई अभिनय गर्छु भन्ने लागेको थियो ।’

उहाँको पहिलो प्रेम त बस्यो, तर करियर बाधक बन्यो । किनकि उहाँ फिल्मनगरीमा आफूलाई देख्न चाहनु हुन्थ्याे, तर उहाँको प्रेमीको योजना अर्कै थियो । ‘मैले मलाई प्रयास गर्न देऊ भनेकी थिएँ । किनकि म आफ्नो सपनालाई एकपटक यथार्थमा परिणत भएको हेर्न चाहन्थे । तर उसले मलाई १–२ वर्ष पनि कुर्न सकेन । उसको आफ्नै बाध्यता थियो, मेरो आफ्नै,’ दीपाले भन्नु भयाे ।

उहाँले प्रेमीसँग केही समय माग्नु भएकाे थियाे तर प्रेमीसँग पारिवारिक दायित्व थियो । घरमा आमाबुबा विरामीलगायतका दायित्वका कारण त्यतिबेला जोडी सम्भव नभएको दीपाको भनाइ छ । तर पनि पहिलो प्रेम अझै उहाँलाई याद छ । ‘हाम्रो सामाजिक सञ्जाल तथा फोनमा कुराकानी हुन्छ, तर भेटघाट हुँदैन,’ उहाँले भन्नु हुन्छ । भेटघाटले सामीप्यता बढाउने भएकाले त्यसो नगरेको उहाँको भनाइ छ ।

दीपाश्रीले विवाह गर्ने मनसाय नबनाउनु भएकाे हैन्, तर अहिलेसम्म जुरेको छैन । ‘मेरो परिवारलाई पनि मेरो विवाह हेर्ने रहर छ, तर कहिले हुन्छ भन्न सकिन्न,’ उहाँले भन्नु भयाे । उहाँले दायित्व नभएकै कारण आफूले सफलता प्राप्त गरेको पनि बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ ‘मैले एकाग्र भएर फिल्ममा काम गर्न पाएकी छु । अरु केही सोच्नुपरेको छैन, त्यसैले मेहनतको सफलता पाएकी छु ।’

जीवनसाथी नपाए पनि आफूले माया गर्ने साथी पाएको उहाँको भनाइ छ । जोसँगको सहकार्यले उहाँले आफ्नो सपनालाई मूर्तरुप दिन सफल हुनु भएकाे छ । ‘हाम्रो बीचमा माया छ तर त्यसमा मित्रता छ । हामीले यत्रो वर्ष सहकार्य गरेका छौँ, अनि सफलता पनि सँगै पाएका छौँ । माया नहुने सम्भव भएन, तर हाम्रो मित्रता निकै माथि छ,’ दीपाले भन्नु भयाे। दीपाले आज आफ्नो जन्मोत्सव मनाउँदै हुनुहुन्छ । आजदेखि उहाँ ४६ वर्षमा प्रवेश गर्नु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button