खाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता 

विशाल बस्नेत ।

‘सुन साइँली साइँली परदेशबाट आउँला
सुन साइँली साइँली ४० कटेपछि रमाउँला’

हेमन्त राणाको यो गीतले भनेजस्तै उमेर छँदै परदेश पसेकाहरू उमेर ढल्केपछि घर फर्कन्छन् । वैंसमा नै छाडेकी जीवन संगिनीको कपाल फुल्न थालिसकेको हुन्छ, आउँला र रमाउँला भन्ने आशा गीतले भनेजस्तै उमेर ४० कटेपछि नै सम्भव हुन्छ ।

कलकलाउँदो उमेरमा पालेका रहरहरू जीवनको तेस्रो घुम्तीमा छल्किरहन्छन्, झल्कीरहन्छन् । भूतकालमा टुटेका सपनाहरूले भत्भती बुढेसकालमा बेस्सरी पोलिरहन्छन् ।

कसैले विवाह गरेको १५ दिनमै चटक्क छाडेर परदेश जानुपरेको छ । कसैले वैवाहिक उमेर नै परदेशमा बिताउनुपरेको छ । असन्तुलित खानपानले बाँझोपनको समस्या चौतर्फी बढीरहेको छ । महिला–पुरुषमा यौन विकृतिले कयौँको घरबार तहसनहस बनिसकेको छ ।

सबै जना पासपोर्ट बनाउने उमेर पुगेपछि रहरले विदेश जाँदैनन् । अधिकांश कहरले जानुपरेको छ । देशभित्र देखिएका नमिठा यथार्थ भित्रका प्रत्यक्ष दृष्टान्तहरूले देशभित्रै जागिर गरेर जिउन सकिन्छ भन्ने साहस र आश दुवै कम हुँदा युवा विदेश पहलायन हुन बाध्य भएका छन् । युवा विदेश पहलायनको कारण यो मात्र होइन ।  देशभित्र भइरहेका घुसखोरी, भ्रष्टाचार, अस्थिर राजनीति, नातावाद, कृपावादले पनि युवा पलायनलाई उत्प्रेरित गरिरहेका छ ।

परदेशका आँगन, गल्ली, फराकिला सडक, सपिङ महल, आलिसान बंगाला, श्रमिक क्याम्पमा भेटिरहने नेपालीहरूको गुनासोले परदेशका सकरात्मक पाटाहरूलाई स्वदेशमा पूरा हुन नसकेका सपना, पारिवारिक र सामाजिक बिछोडले एकैछिनमा विस्थापन गरिदिन्छ ।

परदेशमा ठूलाठूला मेट्रो स्टेसन, फराकिला सडक, ट्राफिक व्यस्थापन अनि सरकारको जनताप्रतिको जिम्मेवारी देख्दा नेपालीले जिब्रो टोक्नुपर्छ । किनकि हाम्रो देशमा बलात्कार गरेर सडकमा फालिएकी चेलीले न्याय पाउन सक्दिनन्, विकाशका उदेक लाग्दा संरचनाहरूको भग्नावेषले देशको करौडौ खर्च मर्मतसम्भारमा नै जान्छ । समृद्धि र विकासको नारा नारामै सीमित बनेको छ । जनता सधैँ एक छाकका लागि भौँतारिनु परेको छ । नेताहरू धनाढ्य बन्दै गएका छन् । विकास निर्माण सुस्त देखिन्छ ।

अफ्रिकी देशहरू युगाण्डा, नाइजेरियाका मानिसले नेपालीलाई खिस्याउँछन् । नेपालीहरू सामान्य विकाशलाई त ‘ओहो’ भन्छन् भने विकाशका दृष्टिले नेपाल धेरैपछि रहेको सहजै अनुमान लगाएर उनीहरू नेपालीलाई हेर्ने दृष्टीकोण नै परिवर्तन गर्छन् ।

नेपालमा यातायातको मात्र हैन हरेक विकाशका संरचनाहरू धेरै पछाडि छन् । सामान्य कामलाई सरकार नया युगको सुरुवात भनेर छाती ठोक्छ । तर, दूर्गम भेगका जनताहरूले अझै जीवनजल पाउन सकेका छैनन् । गरिबीको कारणले उपचार गर्न नसकेर ज्यान गुमाइरहेका छन् । तराई मधेशसहित स्थानमा बाढीपहिरोले धेरैलाई बर्सेनि घरबारविहीन बनाउने गरेको छ ।

अन्यायमा परेकाहरू न्याय पाउँदैनन् । अपराध गर्नेलाई सजाय हुँदैन अनि कानुन कसको लागि भन्ने विषयले नेपालमा बेला–बेलामा चर्चा पाइरहन्छ । परदेशमा आफ्ना नागरिकलाई परिवार र आफ्नो जीवनगुजाराका लागि इमान, जवान र स्वाभिमानलाई बन्धकी राख्न विवस बनाउने नेता र सरकारलाई लज्जा छैन ।

यूएईको केही समयको बसाइमा एक जना पाकिस्तानीसँगको भेटमा यो पंक्तिकारको ठूलो चर्काचर्की भयो । मुस्लिम धर्मका सिया समुदायभित्रका मुहमबद इद्रीससँगको विवाद धर्म हुँदै विकाससम्म पुग्यो । हुन त कुनै पनि देशको विकाश र कानुनको लागि धर्म, रीतिरिवाज र संस्कारले ठूलो भुमिका खेलेको हुन्छ ।

उनले प्रसङ्ग आफ्नो देशको कानुनबाट सुरु गरे । हामीलाई अचम्म लाग्न सक्छ, मुस्लिम देशहरूमा त्यहाँको कानुन ९० प्रतिशत कुरानको आधारमा बनेको हुन्छ । पाकिस्तान त्यसको अपवाद त हुने कुरै भएन । उनले हिन्दु धर्र्मभित्रका केही पाटाहरूलाई खोतर नेपाली ६० प्रतिशत धर्म र संस्कृतिकै कारण गरिब भएका हौँ ।

उनको तर्कमाथि केही प्रतिवाद गरेँ । उनको भ्रमलाई चिर्ने प्रयास गरेँ । उनले भनेका केही शब्दहरूले बेस्सरी घोच्यो पनि ।  कस्तो देशको नागरिक भएर जन्मिएछु ? प्रश्न पनि मन उठ्यो।

विदेशमा पसिना र रगत बगाउने नागरिकलाई मात्र देशको राष्ट्रियता र मायाको चिन्ता हुनुपर्ने हो कि देशमै बसेर ठूलाठूला भाषण गरी जनतालाई आँखामा छारो हालिरहने नेताहरूलाई पनि हुनुपर्ने हो ? आफैँलाई मनमनै प्रश्न गरेँ ।

guest
1 प्रतिक्रिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
KB Gurung
KB Gurung
11 months ago

nepal failure state sabit vai sakyo…sati le sarapaeko vanna man lagxa…neta haru jhan besyabriddi bata janme ko santan jastai….hoina vane kina desh ra janta ko barema cinta lidaina?

सम्बन्धित खबर

Back to top button