टिकटकबाट पोखराकी चेलीलाई ८४ लाख गिफ्ट अफर, पैसा ठगेर खाताको दुरुपयोग

लभ अफेयरमा स्कटल्यान्डको सपना देखेकी अर्की युवतीको होस् उड्यो

पोखरा न्यूज । कोरोनाका कारण सिर्जित लकडाउनका कारण व्यवसाय ठप्प भएकै बेला पोखराकी फेवा क्षेत्री (नाम परिवर्तन) लाई उनका चिनेका एक साथीले टिकटक मार्फत भिडियो बनाएर व्यवसायको प्रवर्धन गर्न सुझाए ।

फेवाले सामाजिक सञ्जालमा पछिल्लो समय चर्चा बटुलेको टिकटकका बारेमा धेरै सुनेकी र थोरै मात्र बुझेकी थिइन । उनलाई साथीको त्यो आइडिया उपयुक्त लाग्यो । र, आफ्नै परिवारको भिडियो बनाउन सिकेर टिकटक चलाउन थालिन । सिक्दै गर्दा उनले आफ्नो व्यवसायका सामानहरूको भिडियो समेत बनाएर हाल्न थालिन ।

यसै क्रममा उनको टिकटकमा एक जना अपरिचित पिटर इरिक नाम गरेको विदेशी नागरिकको म्यासेज आयो । आफू अमेरिकी नागरिक रहेको र हाल युकेमा बसोबास गरिरहेको भन्दै अंग्रेजीमा आएको व्यक्तिको म्यासेजले उनको ध्यान तान्यो । ३४/ ३५ वर्षीया फेवाले आफू विवाहित महिला भएको र स-साना बच्चा रहेको सुनाएपछि पिटरले आफ्ना पनि स-साना बच्चा रहेको र श्रीमतीको दुई वर्ष अघि मृत्यु भएकाले बाल बच्चाको रेखदेख आफू एक्लैले गर्दै आएको बताए । पिटरले श्रीमतीको मृत्यु भएको भनी दुखेसो गरेपछि फेवाले पनि आफ्नो श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेकोले बाल बच्चाको आफूले रेखदेख गरेको भन्दै व्यवहारिक पाटोलाई सम्झाउँदै पिटरलाई सान्त्वना दिइन ।

यस क्रममा पिटरले फेवाको बारेमा भन्दा बालबच्चाको बारेमा बढी सोधखोज गर्ने र उनीहरूको केयर बढी गर्न थाले । पिटरले आफूलाई भन्दा बालबच्चाको बारेमा बढी चासो देखाउन थालेपछि फेवालाई पिटर राम्रै नियतको मान्छे हो भन्ने लाग्यो । टिकटकमा बोल्दै जाँदा पिटरले एक दिन फेवालाई गिफ्टको अफर गरे । फेवाले आफूलाई कुनै गिफ्ट नचाहिने बताइन । गिफ्ट नलिने बताएपछि फेवालाई पिटरले हप्काउँदै कस्तो खालको मान्छे होस् मैले बालबच्चाको लागि सहयोग गर्न खोजेको हो नलिने भए तँलाई ब्लक गर्छु भन्दै ब्लक नै गरे ।

फेवा अचम्ममा परिन र सोचिन, कस्तो खालको मान्छे रहिछ गिफ्ट लिन्न भन्दा ब्लक नै गर्‍यो । उनले सो कुरा लगतै आफू नजिकै बस्ने बेगना तमु ( नाम परिवर्तन) लाई सेयर गरिन । बेगनाले फेवासँग के नै गिफ्ट पठाउला र उसले ? किन नलिने भन्ने लिन्छु भन्दे भन्ने सल्लाह दिइन । अचम्म मानेर बसिरहेकी फेवालाई ब्लक गरेका पिटरले त्यसको तीन/चार घण्टामै अन ब्लक गरे र कुराकानी पुनः सुरु गरे । लगत्तै पिटरले फेवाको ह्वाटस्एप नम्बर मागे । फेवाले आफूले ह्वाटस्एप चलाउने नगरेको र ह्वाटस्एप नभएको बताएपछि पिटरले फेवालाई ह्वाटस्एप डाउनलोड गर्न र एक्टिभ गर्न लगाए ।

ह्वाटस्एप एक्टिभ गर्नासाथ पिटरले आफू कारमा रहेको र कारमा आफ्ना बच्चाहरू रहेकोले धेरै बेर बोल्न नमिल्ने बताउँदै गिफ्ट पठाउने ठेगाना दिन आग्रह गरे । त्यसको केही बेरमै पिटरले क्रिसमसको गिफ्ट प्याकेट भन्दै त्यसभित्र रातो रंगको आइफोन, चुराहरू र ५० हजार डलर बालबच्चाको लागि राखेको भन्दै पार्सल एयरपोर्टबाट पठाउँदै गरेको भिडियो फेवालाई पठाए । फेवाले त्यतिका धेरै गिफ्ट किन पठाएको पर्दैन भनेपछि पिटरले धेरै बोलिस् भने फेरी ब्लक गर्छु एयरपोर्ट आएर सामान लग भने । फेवाले सो कुरा आफ्नो माइतीमा र विदेश रहेका श्रीमान् सँग समेत सेयर गरिन ।

पैसा जम्मा गर्ने सिलसिला…

अर्को दिन पिटरले सामान पठाएको छ भन्दै नेपाली नम्बरबाट फेवाको ह्वाटस्एप नम्बरमा कल आयो । कल गर्ने व्यक्तिले आफूमार्फत पिटरले सामान पठाएको भन्दै अंग्रेजीमै बोले । फेवाले अंग्रेजी बोलेको नबुझेपछि उक्त व्यक्तिसँग टुटे फुटेको अंग्रेजी मै म्यासेज गर्दै बोल्न थालिन । त्यही क्रममा उक्त व्यक्तिले पार्सल एयरपोर्ट आइपुगेको तर पार्सलको सामान एयरपोर्ट बाट पास गराउन नेपाली ८५ हजार रुपैयाँ लागे बताए । लगतै फेवाले पिटरलाई ह्वाटस्एप मै सामान आयो भन्छ त्यत्रो पैसा र सामान पठाउने ले एयरपोर्ट ट्याक्स किन नतिरेको भनी प्रश्न गरिन । पिटरले मैले यहाँबाट पठाउने हो,नेपालको एयरपोर्टको नियमको ज्ञान र त्यहाँ तिर्ने नेपाली पैसा मसँग कसरी हुन्छ र भन्दै उल्टो प्रश्न गरे । उनले त्यो एजेन्टले भनेअनुसार गरेर सामान लिन आग्रह गरे । फेवालाई पनि पिटरको कुरा हो जस्तो लाग्यो । र, एजेन्टले भनेअनुसार काठमान्डौको एभरेस्ट बैंकमा खाता भएकी बागम ढकाल (नाम परिवर्तन) को नाममा बिहान १० बजेपछि ८५ हजार नगद डिपोजिट गराइन । फेवालाई १२:३० बजे सामान पोखरा आइपुग्ने भनिएको थियो । तर, १२ बजे फेवालाई एजेन्टको अर्को म्यासेज आयो । म्यासेजमा पार्सलमा डलर भेटिएकाले एयरपोर्टमा अफिसरलाई एक लाख ३० हजार रुपैयाँ बुझाउन पर्ने भन्दै तुरुन्त उक्त रकम जम्मा गर्नु आग्रह गरिएको थियो । म्यासेजमा जवाफको क्रममा उक्त पैसा अफिसरलाई नबुझाए मनि लाउन्ड्रीङ्गमा पर्ने र त पनि फस्छस् भनेपछि फेवाले तत्काल पैसा खोजेर उसले भनेकै खातामा जम्मा गरिन ।

यति पैसा बुझाएपछि आफूले पचास हजार डलरसहितको उक्त पार्सल पाउनेमा फेवा ढुक्क थिइन् । तर, त्यसको ३० मिनेटमै एयरपोर्टको ठुलो अफिसर नमानेको भन्दै थप तीन लाख ३० हजार रुपैयाँ जम्मा गर्न भनियो । नेपालमा सामान पास गराउन घुस खुवाउन पर्छ, पैसा नलिई काम गर्दिँदैनन् भन्ने हल्ला सुनेकी फेवाले ठुलो अफिसर मानेन भनेपछि होला त देश नै यस्तै छ भन्नेमा पुगिन । र, भोलिपल्ट फेवाले एक छिमेकी सँग सापटी मागेर तिलिचो भट्ट (नाम परिवर्तन) को नाममा महालक्ष्मी बैंकको खातामा दुई लाख र नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा एक लाख रुपैयाँ जम्मा गरिन । यति गरेपछि उताबाट जवाफ आयो, ‘ल ठुलो अफिसर मान्यो आज ५ बजिसक्यो भोलि काम हुन्छ।’

भोलिपल्ट त पार्सल पाइएला भन्ने आसमा रहेकी फेवालाई बिहानै थप झड्का दिने म्यासेज आयो । पार्सल भित्रका विभिन्न पोकामा थप २० हजार डलर भेटिएकोले अतिरिक्त पाँच लाख ५० हजार रुपैयाँ बुझाउन पर्ने भनियो । यसपछि भन्ने फेवालाई आफू ठगिएको हो कि भन्ने भान हुन् थाल्यो । उनले तत्कालै पिटरलाई म्यासेज गरिन । पिटरले उही पुरानै रिसाउने झर्किने शैलीमा झन् तँलाई सर्प्राइज दिन भनेर २० हजार डलर एक्स्ट्रा पठाएको भनेर झपारे । उनले तेरो बालबच्चाको भविष्य बन्छ त्यति पैसा हालेर पार्सल लिग भने । फेवाले दुई दिन रिप्लाई नदिई बसिन् । त्यसपछि उनले म सँग पैसा छैन, जम्मा गर्न सक्दिन म पुलिसको मा जान्छु भनेपछि एजेन्टले प्रहरीकोमा गए सबैभन्दा पहिला मनि लाउन्ड्रीङ्ग केसमा तँलाई नै समात्छ भन्यो । फेवाले एजेन्टले भनेको कुरा पिटरसँग सेयर गरिन । पिटरले आफ्नो एक जना दुबईमा रहेको साथीले दुई लाख ५० हजार हालिदिएकाले बाँकी तीन लाख रकम जसरी हुन्छ हालेर पार्सल लिन भने ।

फेवाले तिलिचो भट्टको नाममा एभरेस्ट बैंकको खातामा दुई लाख ३० हजार र बागम ढकालको नाममा कुमारी बैंकको खातामा एक लाख रुपैयाँ जम्मा गरिन । ३० हजार रुपैयाँ पहिले भने बमोजिमको रकम बाँकी रहेकाले उनले यस पटक तीन लाख ३० हजार जम्मा गराइन । यसरी पुस १ गते बाट ८५ हजारबाट जम्मा गरेकी फेवाले पुस १३ गतेसम्म आठ लाख ७५ हजार रुपैयाँ जम्मा गराइन ।

विभिन्न बैंकमा फेवाले नगद जम्मा गराएका भौचरहरु

खाता दुरुपयोगको सिलसिला…

अव भने फेवामा ५० हजार र २० हजार गरी ७० हजार अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ ८४ लाख र दुई लाख बढीको आइफोन र सामान पाउने आस बढेको थियो । भोलिपल्ट फेवालाई पैसा सिधा डिपोजिट गर्दा बैंकमा शङ्का हुने, कारोबार गर्न नमिल्ने भएकाले कारोबार मिलाएर गर्नको लागि तत्काल डेबिट कार्ड झिक्न मिल्ने कुनै चार वटा बैंकमा नयाँ नम्बर राखेर नयाँ खाता खोल्न भनियो । फेवालाई माछापुच्छ्रे, एभरेस्ट, कुमारी, एनआइसी, एसबीआइ, नेपाल इन्भेस्टमेन्ट मध्येका कुनै बैंकमा खाता खोल्न आग्रह गरियो । फेवाले एसबीआइमा छोराको र आफ्नो नाममा तथा एनआइसी र एभरेस्टमा आफ्नो नामका एक एक वटा खाता खोलिन ।

एजेन्टले फेवासँग राम्रो तवरले कुरा गरिरहेको थियो । फेवाले खाता खोलेपछि खाता खोल्न प्रयोग गरेको सिम कार्ड, बैंकको एटिएम कार्ड र चेक बुक पुनीत कुमार नाम गरेको व्यक्तिको दिल्लीको ठेगानामा डीटिडीसी कुरियर मार्फत नै पठाउन भनियो । सोही अनुसार उनले सबै सामाग्री कुरियर गरेर पठाइन । उताबाट ट्र्याकिङ् नम्बर मागियो । फेवा कुरियर अफिसमा पुगिन । अफिसले ट्र्याकिङ् नम्बर आउन ४/५ दिन लाग्ने बतायो । सामान पठाएको एक सातामा एजेन्टले सामान पाएको बताउँदै एटिएमको पिन नम्बरहरू माग्यो । काठमान्डौबाट पैसाको कारोबार हुने भनेको एजेन्टले एटिएम र चेक लगायतका सामान दिल्लीको ठेगानामा पठाउने भन्दा फेवाले ध्यान दिन सकिनन् ।

उनलाई पुस १५ मा केही शङ्का लाग्यो र एनसेलको कार्यालयमा गएर आफूले उता नम्बर हरायो भनेर सिम कार्ड निकालिन । उनले सिम आफ्नो मोबाइलमा हालिन । मोबाइलमा सिम हाल्दा आफ्नो बैंकमा रकम हरू आउने जाने गरेको नोटिस प्राप्त गरिन । फेवा एजेन्टले कारोबार मिलाउन नै यसो गरेको हो भन्नेमा पुगिन । सोही क्रममा पैसा धेरै भएकाले कारोबार मिलाउन गाह्रो भयो भन्दै थप दुई वटा बैंकको एकाउन्ट खोलेर पठाउन भनियो । उनले एनआइसी र कामना बिकास बैंकको खाता खोलेर पहिले जसरी नै पठाइन । यस पटक उनले हतारमा एनआइसीको एटिएम एक्टिभ नगराई पठाइन । एजेन्टले फेवालाई थर्कायो, की घरको आमा नत्र कोही नजिकको विश्वासिलो मान्छेको खाता पठाउ भन्यो । र , उनको दिमागमा आइन गिफ्ट लिनको लागि सल्लाह दिने उनै साथी बेगना तमु । फेवाले एजेन्टको आग्रहमा बेगना तमुको नाममा एसबीआइ र एनआइसी बैंकमा दुई वटा खाता खोलेर कुरियर गरेर पठाइन ।

पिटर इरिक नाममा प्रयोग गरिएको एकाउन्ट

यसै क्रममा फेवालाई गिफ्ट पठाउने पिटरले आफू टेन्डरको सिलसिलामा भारतमा आइपुगेको भन्दै आफ्नो मोबाइल खसेर फुटेकाले दुई लाख मूल्य बराबरको सामसुङको मोबाइल किनेर पठाउन भने । फेवाले आफूले त्यति महँगो मोबाइल पठाउन नसक्ने जनाउँदै ५० हजार मूल्यको छोरीले चलाउने ट्याव पठाउने भनिन । सस्तो फोनले आफूलाई काम नहुने भन्दै पिटरले अस्वीकार गरे । पछि पिटरले साथीले पैसा पठाएर आफैले मोबाइल बनाए भने । पिटरले मोबाइल माग्दै गर्दा एजेन्टले भने फेवाको काम भइरहेको भन्दै आश्वासन दिइरहेका थिए ।

आफू ठगिएर जोगाइन युवती…

एजेन्टको विश्वासमा बसिरहेकी फेवाको दिमाग फेसबुकमा अपरिचित एक युवतीले गरेको म्यासेजले खलबलायो । झापाबाट बेतानी रिजाल (नाम परिवर्तन) ले फेवाको एसबीआइको खाता नम्बर र नाम सोध्दै यो तपाइको खाता हो भनिन् । आफ्नो ब्वाईफ्रेन्डले भारतमा सामान अड्किएको भन्दै फेवाको पोखराको खातामा पैसा जम्मा गर्न भनेपछि बेतानीले फेवालाई फेसबुकमा सर्च गरेर म्यासेज गरेकी थिइन् । यो सुन्ने बित्तिकै फेवा छाँगाबाट खसेजस्तै भइन् । आफू फसे पनि ती युवती नफसुन् भनेर फेवाले बेतानीसँग सोधपुछ गर्न थालिन । बेतानी फेवाले चासो देखाउँदा रिसाइन । लगत्तै फेवाले बेतानीलाई म्यासेन्जरमा कल गरेर आफूमाथि घटेको घटना सबै सुनाइन । बेतानीलाई विश्वास दिलाउन उनले आफ्ना कुराकानीका स्क्रिन सट सबै पठाइन । फेवाले सबै कुरा भनेपछि बेतानीको होस् उड्यो । उनको स्कटल्यान्ड पुग्ने सपना क्षणभरमै चकनाचुर भयो । उनले आफू ठगिन लागेको महसुस गरिन अनि उनले आफ्ना कुरा सेयर गरिन । बेतानीलाई झुटो लभ अफेयरमा पारेर स्कटल्यान्ड लाने सपना पिटरले देखाएका रहेछन् । र, पठाएको गिफ्ट भारतमा रोकिएको भन्दै पैसा डिपोजिट गर्ने  गराउने सिलसिला सुरु हुन लागेको रहेछ ।

आफू फसिसकेको थाहा पाएकी फेवाले बेतानीलाई फस्नबाट जोगाएर आफ्नो, छोराको र साथीको नाममा खोलेका बैंक खाताहरू बन्द गराउन् थालिन । बैंक खाता बन्द गराउने क्रममा एभरेस्ट बैंकको अमरसिंह चोकको खातामा रिपोर्ट परेकाले पहिले नै बन्द भएको मौखिक जानकारी बैंकले दिएपछि फेवा आफ्नी साथी बेगनासहित जिल्ला प्रहरी कार्यालयमा आज बुधबार ठगिएको जानकारीसहित उजुरी दिन पुगेकी छन् ।

चिठ्ठा / उपहार र पुरस्कारको प्रलोभनमा नपर्न कास्की प्रहरीको आग्रह 

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख, डिएसपी सुन्दर तिवारीले पीडितको तर्फबाट लिखित निवेदन परेको बताउनुभयो । उहाँले निवेदकको निवेदन, भनाई र पठाएका म्यासेज, डिपोजिट भौचर र कागजात हेर्दा ठगी गर्ने व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर चलाखीपूर्ण हिसाबले ठगी गरेको देखिएको बताउनुभयो ।

‘ठग्ने व्यक्ति भारतमा बसेर योजना बनाएर उहाँलाई सामाजिक सञ्जालको प्रयोग गर्दै ठगी गरेको देखिन्छ । ठगी गर्नेले एक जना लाई ठग्न अर्को व्यक्तिलाई थाहा नै नहुने गरी बैंक खाताको प्रयोग गर्ने गराउने गरेको देखिएको छ । यहाँ सबै जना जानी नजानी ठगहरूको सिकार बनेका छन्’, डिएसपी तिवारीले भन्नुभयो, ‘डिपोजिट गराउन प्रयोग गरिएका खाताका व्यक्ति स्वयं आफैँ ठगिएका छन् । यस सम्बन्धमा विभिन्न चरणमा अनुसन्धान गर्दै यसमा संलग्न व्यक्तिहरूको अन्तिम पहिचान गर्ने कार्य चुनौती पूर्ण रहेको छ । कास्की प्रहरीले यस्ता घटनामा गम्भीर ढङ्गले अनुसन्धान गरिरहेको छ ।’

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कास्कीमा ह्वाटस्एप, इमो, भाइवर जस्ता सामाजिक सञ्जालको प्रयोग गरेर ई सेवा तथा मोबाइल बैंकिंगलाई जोडेर ठगी गरेका घटनाहरू बढी मात्रामा आउन थालेको उहाँको भनाई छ । यस्ता घटनासँग जोडिएर ठगीमा संलग्न रहेको देखिएका व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाएर उनीहरूमार्फत अन्य ठगी गर्ने व्यक्तिको पहिचान गर्ने कार्यमा प्रहरी लागिपरेको तिवारीले बताउनुभयो ।

डिएसपी तिवारीले लाखौ रुपैयाँ उपहार र  चिठ्ठामा परेको भन्दै ह्वाटस्एप, भाइबर, इमो, फेसबुक लागायतका  सामाजिक सञ्जाल र मोबाइलमार्फत आउने कुनै पनि म्यासेज, अडियो, भिडियोको विश्वास नगर्न र त्यस्तो प्रलोभनमा कसैले कहीँ कतैबाट पार्न खोजेमा तत्काल प्रहरीलाई खबर गर्न र गराउन अनुरोध समेत गर्नुभयो ।

ठगी गर्नेले म तँलाई पैसा पठाइदिन्छु अथवा अन्य केही प्रयोजनका लागि हो भन्दै बैंक खाताको विवरण माग्ने गरेको र  आफ्नो खातामा पैसा छैन क्यारे , पैसा नभएको खाता दिँदा के भयो र भनेर खाता विवरण दिँदा खाताको दुरुपयोग हुने गरेको समेत पाइएकाले आफ्नो व्यक्तिगत खाता विवरण कोही कसैलाई नदिन डिएसपी तिवारीले आग्रह गर्नुभयो ।

ह्वाटस्एपमा आएको झुटो पुरस्कारको म्यासेजको उदाहरण

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button