३० गते मत दिनुहोस्, ५ वर्षमा सुन्दर पोखरा दिनेछौँ – कोपिला

पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदका उम्मेदवार कोपिला रानाभाटले पाँच वर्षपछि आफूहरूले पोखरेलीलाई सुन्दर पोखरा उपहार दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गठबन्धनको चुनाव प्रचार अभियान अन्तरगत आज वडा नम्बर १७ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रानाभाटले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । वैशाख ३० गते तपाईँहरूले हामीलाई मत दिनुहोस्, त्यसपछि हामीले तपाइहरूलाई सुन्दर पोखरा दिनेछौँ ।’ उहाँले भन्नुभयो ।

पोखरा महानगरपालिकाको वर्तमान नेतृत्व जस्तो आफूहरू लोभी पापी नभएको भन्दै उहाँले आफूहरूको एक मात्रै मिसन भनेको सुन्दर र हराभरा पोखरा बनाउने हो, हँसिला पोखरेली बनाउने रहेको बताउनुभयो ।

उपमेयर भएर मलाई घर चलाउनु छैन, छोराछोरी पाल्नु छैन त्यसैले मेरो २४ सै घण्टा पोखराका जनताको सेवामा बित्छ ।’ उहाँले भन्नुभयो । उहाँले राजनीति र समाजसेवामा आफ्नो लामो अनुभव भएको बताउँदै त्यो अनुभवलाई कार्यान्वयन गर्न आफूले उपमेयरमा उम्मेदवारी दिएको बताउनुभयो ।

नेकपा एमाले नेतृत्वको पोखराको टोलीले पोखरालाई विकास गर्न भन्दा पनि दोहन गर्न ध्यान दिएको आरोप लगाउँदै उहाँले अबको पाँच वर्ष पोखराको विकासको वर्ष भएको बताउनुभयो ।

लोकतन्त्र, संविधान र पद्धति जोगाउन अहिलेको पाँच दलीय गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्मै जानुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य श्रीनाथ बराल, नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य वृन्दादेवी राना मगर, नेपाली काँग्रेसका क्षेत्रीय सभापति दीपक आचार्य, वडा अध्यक्षका उम्मेदवार देवराज आचार्य लगायतले प्रतिगमनलाई परास्त गर्न तथा लोकतन्त्रको रक्षा गर्न गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button