बागलुङको सहस्रधारा झरनामा पर्यटकको चहलपहल

थम्मन थापा/ बागलुङ,  २६ चैत । केही वर्ष अघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । आफैमा गुमनाम झरना पर्यटकीय स्थल बन्ला भनेर कसैले न सोचेका थिए न पत्याएका थिए । वर्षौँ देखि जङ्गलबिच गलकोट कोटको मुनी देखि छङछङ गर्दै झरना बगिनै रहेको थियो ।

गलकोट नगरपालिका–३ हटिया स्थित उक्त सहस्र झरना स्थानीय तह निर्माण सँगै पर्यटक हब बन्दै गइरहेको छ । कुनै समय गुमनाम रहेको झरना हिजो आज भनेँ आन्तरिक पर्यटकको रोजाइमा परेको छ भनेँ चर्चा समेत बटुल्न थालेको छ । आफ्नो पुरानो चिनारी बदल्ने क्रममा रहेको उक्त झरना परिसरमा आवश्यक पूर्वाधार निर्माण गरिए सँगै झरना अहिले पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिनुभयो ।

अहिले गलकोट नगरपालिका सँगै वडा नं ३ का जनप्रतिनिधि र स्थानीयवासी सहस्रधारा झरनाको विकासमा जुटेको वडा अध्यक्ष खत्रीले बताउनु भयो । झरनामा पहिलो पटक तत्कालीन गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरजङ्ग भण्डारीको नेतृत्वमा वि.सं २०७४ फागुनमा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) को सफल परीक्षणपछि झरनाले थप चर्चा पाएको थियो ।

त्यसपछि असारमा पहिलो पटक व्यावसायिक रूपमा उक्त खेल खेलाइएको थियो । छाँगावरोहण खेलपछि झरनाबारे धेरैले जानकारी पाए । बाहिर पनि प्रचार प्रसार भयो । सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले (क्यानोनिङ) सुरु गरिएको निवर्तमान वडा अध्यक्ष वीरजङ्ग भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो “पहिले एक्लै जान डर लाग्ने ठाउँ थियो”, उहाँले भन्नुभयो, “बिस्तारै सहस्रधारा पर्यटकीय गन्तव्य स्थल बन्दै छ ।”

छाँगावरण लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा उत्कृष्ट गन्तव्य रहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनु भयो । जङ्गलले घेरिएको अक्करे भिरमुनि रहेको उक्त झरनालाई आवश्यक पूर्वाधार निर्माण गरी गलकोटकै महत्त्वपूर्ण पर्यटन सर्किटको रूपमा विकास गर्न नगरपालिकाले आवश्यक गृहकार्य सँगै कार्य सम्पादन गरिरहेको नगर प्रमुख गैरेले उल्लेख गर्नुभयो ।

बागलुङ सदरमुकामदेखि मध्य पहाडी पुष्पलाल लोक मार्गको ४५ किलोमिटर यात्रापछि गलकोट आइपुग्न सकिन्छ भनेँ हटिया बजारबाट आधा घण्टाको पैदल यात्रा र सवारी साधन मार्फत १० मिनेटमा झरनामा पुग्न सकिन्छ । ८६ मिटर अग्लो मनमोहक झरनाले त्यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गरेको त्यहाँ घुम्न पुगेका आन्तरिक पर्यटक कृष्ण खत्रीले बताउनु भयो ।

गलकोट नगरपालिका, वडा सरकार सँगै स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवर्द्धन केन्द्र’ गठन गरेर खेलसँगै झरनाको अहिले प्रवर्द्धन गरिरहेका छन् । युवाको सोच र योजनामा गलकोट नगरपालिकाले अगुवाइ प्रदान गरेको छ । वडा मार्फत सहस्रधारा क्षेत्रको पर्यटकीय विकासमा सरकारी सहयोग समेत भित्रिएको गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य रबिन बोहरा क्षेत्रीले जानकारी दिनुभयो । वडा सदस्य बोहराले झरनामा ‘क्यानोनिङ’ लाई दिगो र व्यावसायिक बनाउन केही आवश्यक पूर्वाधार निर्माण भइसकेको र थप योजना तय गरिएको उल्लेख गर्नुभयो ।

झरना परिसरमा गलकोट नगर पालिकाबाट विनियोजित रकम रु पाँच लाख बजेटबाट पदमार्ग, विश्राम स्थल, बगैँचा लगायतका संरचना बनेका छन् । ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘सहरी वन प्रवर्द्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि सञ्चालित छ । उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले १२ लाख बजेट विनियोजन गरेको थियो । सहस्र झरनामा एक हजारभन्दा बढी फोहोरा खस्छन् । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुई पटक झरनामा पूजा गर्ने गर्छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button