तालचोक-बेगनास सडक स्तरोन्नति कार्यको शिलान्यास

पोखरा, २७ चैत । पोखराको तालचोक–बेगनास सडक खण्डको स्तरोन्नति कार्यको  सोमबार शिलान्यास गरिएको छ । वर्ल्ड बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।

निकै लामो समयदेखि निर्माणको चर्चा चलिरहेको यस सडक खण्डको निर्माण पछिल्लो पटक तोकिएको समय भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रमुख आचार्यले निर्देशन दिए । “तोकिएको समय भित्र निर्माण सम्पन्न गर्नुभयो भने, कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ ।” प्रमुख आचार्यले भने ।

तोकिएको समयमा लक्ष्य अनुसारको काम गर्न कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई निर्देशन दिँदै मेयर आचार्यले आगामी २०८१ साल चैत्र २६ गते सडकको उद्घाटन हुने  बताए।  ‘२०८१ साल चैत्र २६ गते हामीले यो बाटोको उद्घाटन गर्नेछौँ ।  किन्तु परन्तु, यो भयो, त्यो भयो भनेर कसैले भन्न पाउनु हुनेछैन ।  यसमा कुनै प्रकारको मोलाहिजा हुनेछैन’, मेयर आचार्यले भने । पैसाका कारण काम नरोकिने भन्दै उनले गुणस्तरीय निर्माणमा जोड दिए ।

कूल ३.२८ किमि लम्बाइको तालचोक बेगनास सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ । सडक खण्डमा  ५ वटा पुलहरू निर्माण हुनेछन् । सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ १/१ मिटर चौडाइको हरियाली क्षेत्र, २/२ मिटर चौडाइको फुटपाथ रहने बताइएको छ ।

सडक निर्माणको ठेक्का स्वच्छन्द- सपना वल्र्डवाइड जेबी, काठमाडौँले पाएको छ । उसले अनुमानित रकम भन्दा ३८.६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजार ८७३.९४ रुपैयाँमा ठेक्का पारेको हो । निर्माण कम्पनीसँग सम्झौता भएको मितिले ७३० दिनमा सम्पन्न गर्ने गरी ४ जुलाई २०२२ मा सम्झौता भईसकेको छ ।  लागि १ अर्ब ६ करोड बजेट विनियोजन गरिएको थियो ।

महानगरले विश्व बैंकसँगको सहकार्यमा विभिन्न सडक निर्माण प्रक्रिया अघि बढाउने भएको छ । परियोजनामा वर्ल्ड बैङ्कले रु.१ अरब ४९ करोड १५ लाख लगानी गर्ने जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button