पोखरामा वडास्तरीय फुटबल प्रतियोगिता सुरू

पोखरा, ६ जेठ  । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ । महानगरपालिकाका ३३ मध्ये ३० वटा वडा सहभागी प्रतियोगिताको शनिबार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

जेठ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेल पोखरा रंगशाला र पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो दिन ७ खेल भएका छन् ।

आयोजकका अनुसार वडा नम्बर २६ ले वडा नम्बर ३ लाई १०–१ ले, वडा नम्बर २५ ले वडा नम्बर ४ लाई ९–० ले, वडा नम्बर ५ ले वडा नम्बर २२ लाई २–१ ले, वडा नम्बर ८ ले वडा नम्बर ७ लाई १–० ले, वडा नम्बर १० ले वडा नम्बर १९ लाई २–१ ले हराएको छ । वडा नम्बर ११ खेलमा सहभागी नभएपछि वडा नम्बर १५ स्वतः विजयी घोषित भयो । वडा नम्बर १ र ३० बीचको खेल निर्धारित समयमा २–२ मा सकिएको थियो । पेनाल्टीमा पनि ५–५ बराबरी भएपछि सडन डेथमा वडा नम्बर ३० विजयी भयो ।

वडा तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले महानगरपालिकाले प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले बताए । विजेता वडाले एक लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता हुने वडाले एक लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ । फाइनल खेल जेठ ११ गते बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button