दुम्कीवास-त्रिवेणी सडकले गण्डकी प्रदेशको विकासको ढोका खोल्छ : मुख्यमन्त्री

नवलपुर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवास-त्रिवेणी सडकखण्ड खुलेसँगै गण्डकी प्रदेशमा आर्थिक विकासको ढोका खोल्ने दाबी गरेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको वगुवन र त्रिवेणी क्षेत्रको स्थलगत भ्रमणपछि मुख्यमन्त्रीले प्रदेश सरकार स्थापनादेखि नै मार्ग खोल्न प्रयास भए पनि अहिले प्रक्रिया अगाडि बढेको बताए ।

“दुम्कीवासबाट त्रिवेणी जोड्ने बाटो निर्माण प्रक्रिया सुरु गर्न आवश्यक समन्वय भइरहेको छ”, उनले भने, “बाटो निर्माणका लागि बजेट अभाव हुँदैन, प्रदेशले पनि बजेटको प्रबन्ध गर्छ, सङ्घ सरकारले पनि पर्याप्त बजेट छ भनेको छ ।”

गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको त्रिवेणी-कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये आठ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुञ्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको छैन ।

चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदासूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्रीले त्रिवेणी भन्सार नाकालाई चलायमान बनाउन आवश्यक तयारी गर्न निर्देशन दिए ।

गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्र नाका त्रिवेणी भएकाले यसलाई पूर्णरूपमा उपयोग गर्नुपर्ने मुख्यमन्त्रीले बताए ।

“त्रिवेणी भन्सार कार्यालयलको व्यवस्थापन र सीमा स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि प्रदेशबाट आवश्यक पहल हुनेछ”, उनले भने, “त्रिवेणी-कोरोला मार्ग सञ्चालन गर्ने हाम्रो प्रमुख लक्ष्य हो ।”

अनुगमनमा मुख्यमन्त्री पाण्डेसहित कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीलगायत थिए ।

विनयी–त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले उत्तरमा पाल्पाबाट दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिकाको विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गरे । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button