बागलुङ कालिकामा चैत्राष्टमी मेला चैत ३० देखि वैशाख ६ सम्म

पोखरा । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा यसवर्षको चैत्राष्टमी मेला आगामी चैत ३० देखि बैशाख ६ गतेसम्म सञ्चालन हुने भएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार मेला बागलुङ नगरपालिका वडा नं १ बाल उद्यानमा हुनेछ ।

लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउन लागिएको कालीका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताए ।

‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन–स्थानीय उत्पादन, ब्यापार र पर्यटन प्रवर्द्धन’ मूल नारा तय गरिएको छ ।

मेलाको अवसरमा कालीका कप खुला भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यान लगायतका कार्यक्रम समावेश गरिएको छ ।

सयौं वर्षदेखि चल्दै आएको चैत्राष्टमी मेला यो वर्ष जिल्लामा क्रियाशील संघ संस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको बताइएको छ ।

मन्दिरमा सो अवधिमा पाँच लाखभन्दा बढी भक्तजन पूजा गर्न आउने अनुमान गरिएको छ । मन्दिरमा भाकल गरेका बोका, हाँस, कुखुरा, राँगो सयौंको संख्यामा बलि दिने चलन छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button