आनन्दको ‘मनलाई ढाँटी’ गीत सार्वजनिक

संगीतको क्षेत्रमा केही नयाँ गर्ने रहर

पोखरा । गायक आनन्दराज बज्राचार्यको नयाँ गीत ‘मनलाई ढाँटी’ सार्वजनिक भएको छ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठले रचना गरेको यो गीतमा संगीत सुनील थापाले भर्नुभएको छ । प्लस रेकर्डिङ स्टुडियोमा रेर्कड भएको गीतको भिडियो समेत उत्कृष्ट बनेको छ ।

नेत्र इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको भिडियोको निर्देशन पछिल्लो क्रमका व्यस्त निर्देशक नेत्र गुरुङले गर्नुभएको हो । निर्देशक गुरुङले गीतमा सम्पादन र छायाकंनको काम समेत पुरा गर्नु भएको छ । दीपक गुरुङ चेग र आमिन बज्राचार्यको अभिनय भिडियोमा हेर्न पाइन्छ । भिडियो नेत्र इन्टरटेन्मेन्ट प्राली युट्ब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो गीत बज्राचार्यको ‘कन्टिन्युटी-४’ एल्बम अन्र्तगतको हो । हालसम्म नयाँ एल्बमको लागि चार वटा गीत रेर्कड भइसकेको गायक बज्राचार्यले बताउनुभयो । अन्य गीत समेत सार्वजनिक गर्ने उहाँको तयारी छ । पोखरा न्यूजसँग कुरा गर्दै गायक बज्राचार्यले भन्नुभयो–‘हालसम्म नयाँ एल्बमको लागि चार वटा गीत रेर्कड भइसकेको, अब अन्य गीत समेत सार्वजनिक गर्नेछु, यो गीत रेर्कड भएको डेढ महिना अगाडि हो । संगीतको क्षेत्रमा केही नयाँ गरौन भनेर गीत तयार पारेको हुँ । दर्शक श्रोताको माया पाउने आशा मेरो छ ।’

पोखराको मोहरीयाटोल पोखरामा बुबा प्रज्ञारत्न र मुमा चिनमाया बज्राचार्य को कान्छो सन्तानको रुपमा जन्मिएका बज्राचार्य बाल्यकालमा चञ्चले स्वभावका हुनुुहन्थ्यो । उहाका बुबा पनि सँगीतकार भएको कारण यस क्षेत्रमा अगाडि बढ्न उहाँ हौसिनुभयो । उहाँले बुबासँग घरमानै संगीत सिक्ने मौका पाउनु भएको थियो । स्कुलमा हुने विभिन्न कार्यक्रममा प्रायः प्रतिभा सुनाइहाल्ने बानि भएका उहाँले गाउने मात्र हैन राम्रो नाच्ने समेत गर्नुहुन्थ्यो ।

२०५२ सालमा देउराली क्ल्वमा आवद्ध साथीहरु मिली देउराली व्याण्डको स्थापना गरे पश्चात उहाँको औपचारिक सांगीतिक यात्रा सुरु भयो । उहाँले रेकर्ड गरेको पहिलो गीत ‘रातको सपनीमा’ हो । २०५२ मा रेर्कड गरेको यो गीत त्यही वर्ष आएको देउराली व्याण्डको पहिलो एल्बम ‘अन्यौल’ मा समावेश थियो । उक्त समयमा व्याण्ड स्थापना गर्ने लहरनै चलेको थियो । क्लबमा आवद्ध अमृत गुरुङ्ग, भीम पुन, रत्नमान गुरुङ्ग, सुक गुरुङ्ग पढाइको सिलसिलामा काठमाण्डौ हानिनुभयो । उहाँहरुले उतै नेपथ्य व्याण्डको स्थापना गरेर यात्रा अगाडि बढाउनुभयो । बाँकी रहेका सदस्यले देउराली क्लबलाई नै देउराली व्याण्डको रुपमा स्थापित गरेका थिए ।

२०५४ सालमा व्याण्ड मार्फत दोस्रो एल्बम ‘लुकीचोरी’ बजारमा आएको थियो । २०५६ मा निकालेको ‘अथाह’ नामक एल्बमबाट समेत यो समुहको लोकप्रियता बढेको मान्न सकिन्छ । आनन्दले भने २०५९ मा सोलो एल्बम ‘सुयोग’ लाई श्रोतामाझ पस्किनुभयो । पुनः २०६३ मा आनन्दले आफ्नै पहलमा देउराली व्याण्डको चौथो एल्बम ‘निरन्तरता’ मार्फत व्याण्डको निरन्तरता दिनुभएको थियो । २०६८ सालमा आफ्नो दोस्रो सोलो एल्बम ‘कन्टिन्युटी-२’ लाई बजारमा ल्याउनुभयो । उहाँको सोलो एल्बम ‘कन्टिन्युटी–३’ समेत दर्शक श्रोतामाझ आइसकेको छ ।

आनन्द राज बज्राचार्य, शान्त बज्राचार्य, तेज के.सी., मनिराज पुन, बसन्त थापा र राजेश बुद्धाचार्य मिली देउराली व्याण्डको स्थापना भएको थियो । अहिले भने आनन्द राज बज्राचार्य व्याण्डबाट अलग्गीसक्नुभएको छ । हाल व्याण्डलाई शान्त बज्राचार्य सहितको टिमलै अगाडि बढाएको छ । पछिल्ले समयमा आनन्द सोलो गायनसँगै अगाडि बढ्न क्रियाशील हुनुहुन्छ । उहाँले व्याण्ड र सोलो गरेर हालसम्म झण्डै ६ दर्जन गीतमा आफ्नो आवाज भरिसक्नु भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button