विविधता भएको नेपाली सांगीतिक क्षेत्र

अवसर बढ्दै जानु सुःखद कुरा

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । नेपाली संगीतको विशेषता भनेको आफ्नै मौलीकता हो । विविधता नेपाली सांगीतिक क्षेत्रको अर्को मुख्य पाटो हो । नेपाली संगीतमा प्रयोग गरिने बाजा, वर्णन गरिने विषयवस्तु, प्रयोग गरिने टिपिकल शब्दले नेपाली माटोको प्रतिनिधित्व गर्दछ । यिनै विशेषताका कारण नेपाली संगीतको बेग्लै महत्व रहने गर्दछ । गीत संगीतको माध्यमबाट नेपाली लोक संस्कृतीको जर्गेना गर्ने मात्र नभएर श्रोता दर्शकमाझ सन्देश प्रवाह गर्नको लागि समेत यसले महत्वपूर्ण भुमिका खेलेको छ ।

हुनत लामो इतिहास बनाइसकेको नेपाली सांगीतिक क्षेत्र अझै पूर्ण रुपमा व्यवसायिक बन्न सकेको छैन । विगतमा जस्ता कालजयी गीत नेपाली सांगीतिक क्षेत्रमा आउन नसकेका गुनासो हुन थालेको छ । यि गुनासोलाई चिर्नका लागि नयाँ जोशका साथ संगीतकर्मी अगाडि बढ्नुपर्ने अवस्था देखिन्छ । अहिले नयाँ पुस्ताको आर्कषण यो क्षेत्रमा देखिदा निकट भविष्यमा यो क्षेत्रको उचाई बढ्न सघाउने आशा गर्न भने सकिन्छ ।

पछिल्लो समयमा संगीतको अध्ययन गरेर यो क्षेत्रमा आउने क्रम समेत बढेको छ । केही संगीतकर्मीले व्यवसायिक रुपमा आफूलाई अगाडि बढाउन खोज्नुभएको छ । अहिले सांगीतिक क्षेत्रको बजार विस्तार भएको छ । नेपाली गीत संगीतले अन्तराष्ट्रिय संगीत बजारमा समेत प्रतिष्पर्धा गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । जसका लागि सबै नेपालीको साथ अपरिहार्य रहन्छ । संगीतकर्मीको लगाव, मेहनत, साधना र अध्ययनले उत्कृष्ट सिर्जना गर्न सघाउँने हँदा संगीतकर्मी आफूलाई सोही अनुसार परिवर्तन गर्नुपर्ने आवश्यकता भएको छ । सोही कारण नेपाली संगीतकर्मी निरास हुनुपर्ने अवस्था नभएपनि मेहनत गर्नुपर्ने खाँचो भने छ ।

गीतकार सुमन श्रापित संगीतकर्मीले गीत मार्फत शिक्षा र सन्देश दिदै समाजमा सचेतना फैलाउने गरेको सुनाउनुहुन्छ । एक त सांगीतिक क्षेत्र एक उद्योग बनेको छ । धेरैको जीवनयापन यहींबाट चलेको छ । लोकगीत र संस्कृतिलाई श्रब्यदृश्यका माध्यमले जगेर्ना गर्ने काम भइरहेको छ । एक जाति, समाज र भूगोलको गीतरसंगीत र संस्कृति अर्कोसम्म एक आपसमा अन्तरघुलन र बिनिमय भइरहेको छ । त्यसैगरि भनेर, बोलेर वा पढाएर भन्दा पनि मानिसहरुलाई अझैं बढी गीत संगीतद्वारा प्रभाव पार्ने काम गर्न सकिएको छ । जस्तो सुकै घटना वा परिघटना होस कलाकारहरुले भलै आफ्नो सम्पत्ति बेचेर किन नहोस तुरुन्तै गीत बनाएर शिक्षा र सन्देश दिइरहेका हुन्छन । यी नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा हुन भन्ने उहाँको बुझाइ हो ।

गायक सिताराम पोखरेल संगीतकर्मीलार्इं अगाडि बढाउन हौसाउने वातावरण नै नेपाली सांगीतिक क्षेत्रको सकारात्मक पाटो रहेको बताउँनुहुन्छ । गीत संगितको माध्यमबाट सबै सेलिव्रेटिको सबै कलाकार, श्रोता दर्शकसँग भेट हुन्छ । अन्तरक्रिया हुन्छ । एक अर्कालाई बुझ्न जान्न पाइन्छ । माया सर्पोट पाइन्छ । अर्को कुरा गीत संगितमा लागेपछि समाजबाट एउटा बेग्लै खालको इज्जत समेत प्राप्त हुन्छ । जसले संगतिकर्मीलाई अगाडी बढ्न हौसाउँछ । यी सबै नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा हुन् । गायक पोखरेलले भन्नुभयो ।

गायिका ममता गुरुङ नेपाली गीतको आफ्नै महत्व रहेको तर्क गर्नुुहुन्छ । हलिउड, बलिउडको गीत भन्दा नेपाली गीत फरक हुन्छ । नेपालीको गीतको आफ्नै महत्व छ । नेपाली गीतमा लोकसंस्कृती झल्केको हुन्छ । आफ्नो मौलीकता पाइन्छ । लोक भाका, लोक दोहोरी हाम्रो सकारात्मक पक्ष भएका उहाँको भनाई छ ।

गायिका मुस्कान रानाभाटलाई नेपाली संगीतको राम्रो पक्ष लोकसंगीत भएको भन्ने लाग्छ । संगीत आफैमा सकारात्मक हुन्छ । नेपाली संगीतको राम्रो पक्ष लोक संगीत हो । ठाउँ, परिवेश अनुसार लोक संगीतहरू छन् । प्रतिभा भएका कलाकारले आफुलाई चिनाउन धेरै नयाँ–नयाँ प्ल्याट्फर्महरू पाइरहेका छन् यो समेत नेपाली सांगीतिक क्षेत्रको सकारात्मक पक्ष हो भन्ने मेरो बुझाई हो ।

गीतकार राजेन्द्र अधिकारी अपूर्णा नेपालकै मौलिक गीत संगतिले पाएको स्थान राम्रो भएको बताउनुहुन्छ । नेपाली गीत संगीत आदी देखी नै उत्कृष्ट रहँदै आएका छन् । नेपालकै मौलिक गीत संगीतहरूले राम्रै स्थान पाएका छन् यो नेपाली सांगीतिक क्षेत्रको सकारात्मक कुरा भएको गीतकार अधिकारीको भनाई छ ।

गायक सुनिल गायक नेपाली गीतमा नेपालीपना भेटिने बताउनुहुन्छ । नेपाली सांगीतिक क्षेत्रमा विविधता छ । विभिन्न संस्कृतिको प्रतिनिधित्व नेपाली सांगीतिक क्षेत्रले गर्दछ । लोकगीत, सुगम संगीत मात्र नभएर संस्कृती अनुसारका गीत यहाँ छन् । जुन गीतमा नेपालीपना भेटिन्छ । संगीतमा पाइने नेपालीपना नै नेपाली सांगीतिक क्षेत्रको सकारात्मक कुरा हो । उहाँले सुनाउनुभयो ।

गायिका पु्र्णिमा लामा सांगीतिक क्षेत्रमा अवसर बढ्दै जानु अर्को सुःखद कुरा भएको तर्क गर्नुहुन्छ । नेपाली सांगीतिक क्षेत्रमा अवसर बढ्दैछन् । यदि म संगीत भन्दा बाहिरको जीवन जिएको भए पक्कै केही गुमाएको जस्तो हुन्थ्यो होला तर म सांगीतिक क्षेत्रमा लागेको र यहाँबाट पाएको उपलब्धिबाट सन्तुष्ट छुँ । मेरो लागि सांगीतिक क्षेत्रको सकारात्मक कुरा यही नै हो । उहाँले थप्नुभयो ।

गायक एम डि काफ्ले मौलिक संगीतकालागि नेपाल उर्वर भुमि भएको दावी गर्नुहुन्छ । मौलिक संगीतकालागि नेपाल उर्वर भुमि हो । कला संस्कृतिका लागि नेपाल धनि भएकै कारण यहाँका धेरै सांस्कृतिक सम्पदा विश्वमै नमुना छन् । तिनै सम्पदा र श्रष्टाहरुको अथक प्रयासले यहा प्रशस्त अब्बल गायक, संगीतकार र रचनाकारहरु जन्मिनुभएको छ । संघर्षरत नयाँ पिढिलाइ प्रेरणाको कमि समेत यहाँ नहुने उहाँको भनाई छ ।

संगीतकर्मी कृष्ण गौतम सजिलै अवसर पाउनु सुखद पक्ष भएको सुनाउनुहुन्छ । नेपाली संगीतबजार सकारात्मक पक्ष भनेको यो बजार खुल्ला छ । पहिला जस्तो गीत गाउन स्वर परिक्षा पास गर्नुपर्ने बाध्यता अहिले छैन । रहर भए कलाकार बन्न पाइन्छ । निरन्तरता दिन, यहीं क्षेत्रमा लागेर जीवन चलाउन भने निकै मेहनत गर्नुपर्छ । मेहनत गर्ने तथा प्रतिभा भएको कलाकारलाई दर्शक श्रोताको माया मिलिहाल्छ यो सकारात्मक पाटो भएको उहाँको बुझाई छ ।

गायक तथा संगीतकार योगेश काजीलाई नेपाली दर्शक श्रोताको हरेक बिधालाई उत्तिकै माया गर्ने बानी साह्रै मनपर्छ । हाम्रो सबैभन्दा ठूलो पक्ष लोक संगीत हो । किनकी हाम्रोमा लोक संगीतको खानी नै छ । नेपाली दर्शक श्रोताहरुले हरेक बिधालाई उत्तिकै माया गर्नुभएको छ । सुनले सुनकै दर्जा पाएको छ । यो नेपाली संगीतको सकारात्मक पाटो हो । उहाँले भन्नुभयो ।

गायक पूर्ण परियार नयाँ भिजन भएको कलाकारलाई सफलता पाउन सजिलो भएको बताउनुहुन्छ । पछिल्ला केही बर्ष त यसले धेरै प्रतिभा उत्पादन ग¥यो । र, स्थापित पनि ग¥यो । खासमा हाम्रो सांगितिक उद्योग गजबको छ । एउटै गीत चल्यो भने पनि मेला महोत्सव देश बिदेश गरेर अर्को एल्बम ननिकाल्ने बेला सम्म पुग्छ । अनि यसको लागि अरु देशमा जस्तो धेरै लगानी गर्न पर्छ जस्तो लाग्दैन । केवल नयाँ भिजन भयो भने चलिहालेको पनि छन् । र, बिना साधनै नगरि आएका कलाकारहरु समेत उस्तै परे चार दिनमै चम्किन बेर लाग्दैन । अर्को यो क्षेत्रलाई नेपाली दर्शक श्रोताले अत्यन्तै माया गर्ने गरेको परियारले सुनाउनुभयो ।

गायक एल्बिन थापामगर सागीतिक क्षेत्रबाट जीवन धान्ने अवस्था बन्नु सकारात्मक भएको तर्क गर्नुहुन्छ । हाम्रो नेपाली संगीत पनि अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ । अहिले करोडौंले नेपाली संगीत लाई माया गरेको देख्छु । कति त संगीत बाटनै आफ्नो जीवन चलाइराखेका छन्, यो सकारात्मक कुरा भएको उहाँको बुझाई छ ।

गीतकार शिव पलाँस सांगीतिक क्षेत्रबाट धेरैको रोजीरोटी चलेको बताउनुहुन्छ । देश, बिदेश बस्नेले संगीतमा ठूलो पैसा लगानी गरेका छन् । यसले धेरैको रोजीरोटी चलेको छ । क्षमता भएका तर आर्थिक अवस्थाले पछाडि परेकाहरुलाई बिभिन्न रियालिटी शोहरुले बाहिर ल्याएर स्थापित गरिदिएका छन् । यसलाई राम्रो नै मान्नुपर्ने तर्क उहाँ गर्नुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button