तिलु शर्मा पौडेल, दोहा कतार । डिजिटल अडिसनबाट ५८ जना प्रतिस्पर्धी छनौट गरेको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ कोरोनाका कारण करिब २ महिना रोकिएसँगै पुन नयाँ तालिका सार्वजनिक गर्दै कार्यक्रमलाई निरन्तरता दिने भएको छ । एनआरएनए मध्यपूर्व युवा विभागले भर्चुअल मार्फत पत्रकार सम्मेलनको आयोजना गरी नयाँ तालिका सार्वजनिक गर्दै एनआरएन आइडलको ग्राण्ड फिनाले सन् २०२१ को सेप्टेम्बर १७ मा हुने घोषणा गरेको छ ।
सार्वजनिक नयाँ तालिका अनुसार आइडलको ओपनिङ राउन्डलाई ३ चरणमा विभाजन गरिएको छ । जस अन्तरगत अन्तरा राउन्ड जुन २५ मा हुनेछ । यस राउन्डमा डिजिटल राउन्डबाट छनौट भएर आएका ५८ जना प्रतियोगीहरूले प्रवेश पाउने छन् l यस राउन्डमा थप एक–एक गीतको प्रस्तुति पश्चात् अन्तरा राउन्डबाट १८ जना प्रतियोगीहरू बाहिरिने छन् l बाँकी ४० जना प्रतियोगीहरूले सारेगम राउन्डमा प्रवेश पाउनेछन् । सारेगम राउन्ड जुलाई २ मा हुने छ । यस राउन्डमा अन्तरा राउन्डबाट छनौट भएर आएका ४० जना प्रतियोगीहरूले प्रवेश पाउने छन् । आयोजकका अनुसार यस राउन्डबाट १० जना प्रतियोगीहरू बाहिरिने छन् । बाँकी ३० जना प्रतियोगीहरूले पियानो राउन्डमा प्रवेश पाउनेछन्। पियानो राउन्ड जुलाई ९ मा हुनेछ । यस राउन्डमा प्रवेश पाएका ३० जनाले स्वतः गाला राउन्डमा प्रवेश पाउनेछन् ।
पियानो राउन्डमा कुनै पनि प्रतियोगीहरूले प्रस्तुति दिनुपर्ने छैन । प्रतियोगीहरूको भोटिङ निरन्तर खुल्ला नै रहने छ। गाला राउन्डलाई ३ चरणमा विभाजन गरिएको छ । प्रथम गाला राउन्ड अगस्ट ६ मा हुने छ। यस राउन्डमा प्रवेश गरेका ३० जना प्रतियोगीमध्ये प्रथम गाला राउन्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन्, बाँकी २५ जना प्रतियोगी दोस्रो गाला राउन्डमा प्रवेश पाउनेछन्। दोस्रो गाला राउन्डमा १३ अगस्टमा हुनेछ । यस राउन्डमा प्रवेश गरेका २५ जना प्रतियोगीमध्ये दोस्रो गाला राउन्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन् । ‘बाँकी २० जना प्रतियोगी तेस्रो गाला राउन्डमा प्रवेश पाउनेछन्। तेस्रो गाला राउन्ड २० अगस्टमा हुने छ । यस राउन्डमा प्रवेश गरेका २० जना प्रतियोगीमध्ये तेस्रो गाला राउन्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन् । बाँकी १५ जना प्रतियोगीले सेमी फिनालेमा प्रवेश पाउने छन् l
सेमी फिनाले राउन्ड ३ सेप्टेम्बरमा हुनेछ । अन्तिम चरणबाट प्रवेश पाएका १५ जनामध्ये पहिलो चरणबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन् भने १० जना प्रतियोगीहरूले फिनालेमा प्रवेश पाउने सम्मेलनमा जानकारी गराइयो । फिनाले राउन्ड १७ सेप्टेम्बर, २०२१ मा ११ बजेदेखि १ बजेसम्म हुने एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीले बताउनु भयाे । फिनालेमा प्रवेश पाएका १० जनामध्ये थप ५ जना प्रतियोगीहरू बाहिरिने छन्।
‘ग्राण्ड फिनालेको अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरूलाई क्रमशः पाँचौँ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी सार्वजनिक मतका आधारमा निर्णायक मत उद्घोष गरी विजेता घोषणा गरिने रेग्मीले बताउनु भयाे । ग्राण्ड फिनाले (१७ सेप्टेम्बरमा २ बजेदेखि ५ बजेसम्म हुने रेग्मीले कार्यक्रममा जानकारी दिनुभयाे। नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ नाराका साथ आयोजना गरिएको एनआरएन आइडलमा गायक उदय सोताङ, गायिका प्रश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल निर्णायक छन् । प्रतियोगिताका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्ने छन् भने द्वितीय पुरस्कार चार लाख रुपैयाँ, तेस्रो दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौँ पुरस्कार पचास हजार रुपैयाँ तय गरिएको छ।
नयाँ तालिका सार्वजनिक गर्न आयोजित कार्यक्रममा गैर आवासीय नेपाली सङ्घका सचिव आरके शर्माले नेपाली कला, संस्कृति र सङ्गीतलाई विश्वभरि परिचित गराउनका लागि नै एनआरएनएले यस किसिमका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भएकाे थियाे। सचिव शर्माले नेपालबाट विभिन्न देशमा पुगेका नेपालीहरूले साङ्गीतिक यात्रालाई जोगाइराखेकाले अब एनआरएनए आइडलमार्फत विश्वलाई देखाउने जानकारी दिनु भयाे। त्यसैगरी गैर आवासीय नेपाली सङ्घका प्रवक्ता डिबी क्षेत्री, सङ्घका सल्लाहकारद्वय टिबी कार्की र सोम सापकोटा लगायतले ग्लोबल एनआरएन सिंगिङ आइडलको आयोजनाले गैर आवासीय नेपालीहरूको कला र साङ्गीतिक जीवन अघि बढाउन सहयोग पुर्याउने बताउनु भयाे। गैर आवासीय नेपाली सङ्घ मध्यपूर्व क्षेत्रीय युवा विभागका संयोजक राज रेग्मीले कोभिड–१९ का कारण विविध कठिनाइ भएकाले ग्लोबल एनआरएन सिंगिङ आइडलको मिति हेरफेर गर्नु परेको बताउनु भयो । रेग्मीले कार्यक्रम भव्य र सभ्य बनाउन सबै गैर आवासीय नेपालीलाई आग्रह समेत गर्नु भयो।