माटो बेचेर दसैं खर्चको जोहो

पाेखरा न्यूज । बागलुङ नगरपालिका–३ की पूजा विकको दिनचार्या एक सातायता मध्यपहाडी लोकमार्गमा बित्ने गरेको छ । विहान चियाखाजा खाएर उहाँ हातमा कुटो र बोरा लिएर साथीसँगै लोकमार्गको मुलपानी खण्डमा पुग्नुहुन्छ । यसरी दिनहुँ लोकमार्गको बागलुङ–अक्षते खण्डमा पुग्नुको कारण हो, दसैं खर्च जोहो गर्नु । उहाँ यहाँबाट घर पोत्न प्रयोग हुने रातो माटो ल्याएर बेच्ने गर्नुहुन्छ ।

लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुले रातो माटो खरिद गरेर लैजाने गर्छन । उहाँकै सिको गरेर यहाँ अहिले अरु ५–६ जना महिला सामुहिक रुपमा माटो बिक्री गरे दसैं खर्चको जोहो गर्न थाल्नुभएकाे छ । स्थानीय अविसा सुनारले दुई–तीन बर्षदेखि माटो बच्ने काम गरेको बताउनु भयाे ।

कसैले माटो खन्ने, कसैले ढुंगा चाल्ने र कसैले उठाएर बोरामा राख्ने गरी कामको बाँडफाँड गरी सामुहिक काम गर्दै आएको सुनारले बताउनु भयाे । एकजनाको भागमा दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म पर्छ ।

मुलपानी आसपास, सिगाना, तित्याङको साथै काठेखोला, गलकोट, ताराखोला, बडिगाड, ढोरपाटन, तमान, निसीसम्मका यात्रुले रातो माटो खरिद गरेर लैजाने गरेका छन् । गाडा रातोमाटो भएको हुँदा धेरै यात्रुको रोजाइमा पर्ने गरेको छ ।

गाउँका कच्ची घरमा समेत चुना र रङको प्रयोग गर्न थालेपछि माटोको व्यापार घटेको उहाँहरूको भनाइ छ । ‘तर पनि माटो बिक्रीबाट दसैं खर्चको जोहो भइरहेको छ,’ सुनारले भन्नुभयाे, ‘दसैं सुरु हुनुभन्दा एक साता अघिदेखि माटो बेच्न थालेका हौँ ।’ छिमेकीकै जग्गामा रातो माटो भएको हुँदा जग्गाधनीलाई पनि शुल्क तिर्नु नपर्ने उहाँहरूले बताउनु भयाे ।

मध्यपहाडी लोकमार्गको बाटो विस्तार गर्दा उक्त ठाउँमा रातो माटो भेटिएको थियो । व्यक्ति स्वयंले पनि यहाँबाट निःशुल्क माटो उठाएर लैजान सक्छन् । यात्राको क्रममा माटो खन्ने, उकार्ने र ढुङ्गा छु्ट्टाएर तयारी पार्न समय लाग्ने भए पछि तयारी अवस्थाको माटो किन्न उपभोक्ता तयार छन् । ‘दसैंमा एक जोडा लुगा फेर्न र मिठो मसिनो खाद्यन्न र मासु किन्ने पैसा हुन्छ,’ सुनारले भन्नुभयाे, ‘छोटो समयमा राम्रो आम्दानी हुने हुँदा नियमित गर्ने कामबाट बिदा लिएर पनि माटो बेच्ने गरेका छौँ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button