रामचन्द्र पाैडेल पक्षका कांग्रेस नेताको सामूहिक राजीनामा

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा उहाँ पक्षका कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेद्वार दिएका छन् ।

एकातिर नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर कारबाहीमा पर्नुभएका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहको नेकपा एमालेसँग तालमेल अर्कोतिर टिकट वितरणमा असन्तुष्टले धमाधम राजीनामा दिन थालेसँगै कांग्रेस चेपुवामा परेको छ ।

दमौलीमा मंगलबार पत्रकार सम्मेलन गर्दै व्यास नगरपालिकाको मेयरका आकांक्षी भए पनि टिकट नपाउनुभएका कांग्रेस तनहुँ जिल्ला कार्यसमितिका पूर्व सचिव विश्व बास्तोलासहित सात जना नेताले राजीनामा दिनुभएकाे छ।

शुक्लागण्डकी नगरपालिकाको मेयरका आकांक्षी महेश्वर भट्टराईले पनि राजीनामा दिनुभएकाे छ । उहाँ महासमिति सदस्य पनि हुनुहुन्छ। उहाँले सोमबार शुक्लागण्डकीको मेयरमा बागी उम्मेद्वारीसमेत दिनुभएकाे छ ।

शुक्लागण्डकीका कांग्रेस नेता दिपेन्द्र पौडेल, ऋषिराम महतसहित व्यासका चुणमणि दाहाल, दीर्घा थापा र बाबुराम बगालेले पनि मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिनुभयाे । पौडेलले शुक्लागण्डकी नगरपालिका–३ को वडाध्यक्षमा, महतले वडा नम्बर ८ को वडाध्यक्षमा, दाहालले व्यास नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा र थापाले वडा नम्बर २ को वडाध्यक्षमा बागी उम्मेद्वारी दर्ता गराउनु भएकाे छ ।

व्यासको मेयरमा पुराना कांग्रेसी नेता नेता बृषराज श्रेष्ठको पनि बागी उम्मेद्वारी परेको छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेस नेता मानकाजी श्रेष्ठले बागी उम्मेद्वारी दिनुभएकाे छ । तनहुँमा कांग्रेसका कार्यकर्ताहरुले पैसामा टिकट वितरणको आरोप लगाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button