नेपालमा जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्दै

पोखरा न्युज ।

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक नयाँ खालका रोग देखा पर्न थालेका छन् ।

पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै सर्ने जुनोटिक रोग पशुको लसपस, दूध, दही, मासु र हावाको माध्यम बाट सर्ने गरेका छन् । नेपालमा जनावरबाट मानिसमा सर्ने ६९ प्रकारका रोग पत्ता लागेको छ ।

पटके, तुहिने, छारे, टाईफाईड, रेबिज, बर्डफ्लु, दाद, फिरफिरे, जापनिज इन्सेफलाइटिस, क्षयरोग, फिते जुका, इन्फुलन्जा, ट्राइकिभेला, ब्रसेल्ला, लिष्टेरिया, विएसइ सर्कोसिसलगायतका दर्जनौँ रोग पशुबाट मानिसमा सर्ने गरेको जिल्ला पशुसेवा कार्यालय कञ्चनपुरका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले बताउनुभयो ।

उहाँका अनुसार पशुबाट मानिसमा ६० प्रतिशत रोग सर्ने गरेका छन् । यस्ता रोगको ७० प्रतिशत स्रोत नै पत्ता लागेको छैन । ७० प्रतिशत रोग व्यापारका माध्यमबाट र अन्तरराष्ट्रिय पशुको व्यापारबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको छ ।

काटेको मासुलाई राम्ररी नपकाइ खाँदा, दूधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत जुनोटिक रोग सर्ने गरेका छन् । छाडा चौपाया छाडने कार्यले पशुबाट मानिसमा सर्ने रोग महामारीका रुपमा अगाडि आउन सक्ने सम्भावना बढेको अधिकृत धामीले बताउनुभयो ।

छाडा चौपायाबाट सर्ने रोगको उच्च जोखिममा कञ्चनपुर अग्रस्थानमा रहेको छ उहाँले भन्नुभयो, “छाडा चौपायाको व्यवस्थापन समयमै नगरिए रोगको जोखिम बढ्ने खतरा छ ।” जुनोटिक रोगको समूहमा पर्ने रेबिजबाट मात्रै कञ्चनपुरमा तीन जनाको मृत्यु भइसकेको उहाँले बताउनुभयो ।

रेबिजबाट मात्रै विश्वमा ५५ हजार मानिसले वर्षेनी ज्यान गुमाउनु परेको छ । जसमध्ये एशियामा मात्रै ९५ प्रतिशतले ज्यान गुमाउने गरेका छन् ।

हात नियमित सफा गर्ने, व्यवस्थित पशु पालनमा जोड दिने, सागपात राम्ररी सफा गरी पकाएर मात्र खाने, आन्द्राभुँडी र मासुसँगै नमिसाउने, पटके (एक्कासि मरेको) मरेको जनावरको छाला काढ्ने र चिरफार नगर्ने शंका लागेको कुकुरले टोकेमा घाउं सफा गर्ने र खोप लगाउने गरे जुनोटिक रोगबाट केही हदसम्म बच्न सकिने पशु चिकित्सकको भनाइ रहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button