पोखरा न्यूज – २१, मंसिर । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।
सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जिते । उनले २ घण्टा २१ मिनेट ५७ सेकेन्ड समय लगाउँदै रजत जितेका हुन् । भारतकै श्रे सिंहले कास्यपदक हात पारे । उनले २ घण्टा २२ मिनेट ०७ सेकेन्डसहित कास्य जितेका हुन् ।
सोही स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । उनले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए । अहिलेसम्म त्यो कीर्तिमान भङ्ग हुन सकेको छैन ।
सोही स्पर्धाको महिलातर्फको श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जितिन। उनले २ घण्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण जितेकी हुन् । त्यस्तै नेपालकी पुष्पा भण्डारीले रजतपदक हात पारिन । उनले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गरिन । भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पारिन ।
एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पारे । उनले १ मिनेट ५१.४४ सेकेन्डको समय खर्चे । १ मिनेट ५०.५२ सेकेन्डको समयसहित श्रीलङ्काका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१.२५ सेकेन्डको समयसहित रजत पदक हात पारे । जारी सागमा नेपालका यो ४२औँ स्वर्ण पदक होे ।