पोखरा न्यूज – ०४, माघ । बिहीबार र शुक्रबार अत्यधिक हिउँ परेपछि विश्वकै चर्चित अन्नपूर्ण बेस्क्याम्प पुगेका चार पर्यटक र एक नेपाली हराएका छन्। हराउनेमा कोनाको ट्रेकि एजेन्सीबाट गएका नेपाली गाइड सरोज परियार रहेका टान पश्चिमाञ्चलका अध्यक्ष हरि भूजेलले जानकारी दिए।
अरु हराइरहेका कोरियन पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको बताइएको छ। ३ दिन अघि १५ जनवरीबाट मात्रै पदयात्रा सुरु गरेका कोरियाली पर्यटक यात्रा गरेको दोस्रो दिन देखि बेपत्ता छन्।
कोरियनहरु काठमाडौँको ट्रिप नेपाल मान्टेन गाइड नामक कम्पनीबाट टिम्स शूल्क काटेर अन्नपूर्ण बेस्क्याम्प तर्फ गएका थिए। तर, उनीहरु ट्राभल मेट नामक अन्तराष्ट्रिय एजेन्सीमार्फत नेपाल आएको पाइएको छ। ११ जनाको समुहमा रहेका कोरियालीहरु अन्नपूर्ण पदमार्गको सिगाउँबाट माथि देउराली हुदै बेस्क्याम्प तर्फ जानेहरु हराएका हुन्।
११ जना मध्ये २ जना सिगाउँ पनि गएका थिएनन। सिगाउँबाट माथी गएका ९ जना मध्ये पाँच जना केही तल रहेको होटलमा सकुशल फर्केको र चार जना बेसक्याम्प तर्फ गएकाहरु हराएका हुन्। उनीहरु बेपत्ता भएको खबर पाउने वित्तिकै टान पश्चिमाञ्चलले पोखराबाट ६ जना गाइडको समुहलाई त्यस तर्फ पठाइसकेको अध्यक्ष भूजेलले पोखरा न्यूजलाई जानकारी दिए।
उनका अनुसार पोखराबाट गएका गाइडहरु छुम्रु कटिसकेका छन्। केही घण्टामा उनीहरु बेपत्ता भनिएको क्षेत्रमा पुग्ने उनको भनाई छ। उद्धारको लागि शुक्रबार पोखराबाट हेलीकोप्टर उँडाउन खोजेपनि प्रतिकुल मौसमको कारण हेलीकोप्टर उँड्न सकेन। शनिबारको लागि पनि मौसम अनुकुल भए हेलीकोप्टर पोखरा विमानस्थलमा हेलीकोप्टर तयारी अबस्थामा रहेको बताइएको छ।
अत्याधिक रुपमा हिउ परेका कारण उक्त क्षेत्रमा बिद्युत सेवा , मोवाइल तथा इन्टरनेट सेवा समेत अबरुद्ध हुँदा घटनाको वारेमा यथार्थ विवरण आउन मुस्किल परेको प्रहरीले जनाएको छ । सम्पर्क विहिन भएकाहरुको खोजि गर्न तथा उद्धार गर्न प्रहरीको टोली उक्त स्थान तर्फा हिडिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले न्यूजलाई बताए ।