हिमपहिरोमा परी बाचेका खत्री यसो भन्छन्, ३ नेपालीसहित ७ जना भने अझै सम्पर्कबिहीन

दीननाथ बराल, पोखरा न्यूज -४, माघ । अन्नपूर्ण पदमार्गमा बिहीबार  र शुक्रबार भएको हिमपात र पहिरोका कारण  ७ जना अझै सम्पर्कबिहीन भएका छन्। उक्त हिमपहिरोमा परी ३ नेपाली र ४ जना कोरियन सहित ७ जना हालसम्म सम्पर्क विहिन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

कास्कीको अन्नपूर्ण पदमार्गमा पर्ने देउराली लगायतका ठाउँमा अत्याधिक हिमपहिरोले गर्दा तत्काल उद्धार गर्न कठिन भएको उनले जनाए । उनका अनुसार शनिबार पोखराका विभिन्न हेलिकोप्टर कम्पनि, ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको पहलमा अन्नपूर्ण आधार शिविरमा जार्दै गरेका करिब २ सय जनाको उद्धार गरिएको छ । विभिन्न ठाउँबाट उद्धार गरी केहीलाई छुम्रुङमा र केहीलाई पोखरासम्म ल्याइएको प्रजिअ केसीले जनाए ।

सम्पर्क विहिन हुने कोरियन पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको टान पोखराका सचिव जिवनराम सापकोटाले बताए । कोरियनहरु काठमाडौँको ट्रिप नेपाल माउन्टेन गाइड नामक कम्पनीबाट टिम्स शूल्क काटेर अन्नपूर्ण बेसक्याम्प तर्फ गएका थिए। त्यसैगरी नेपालीहरुमा मिन बहादुर लामा(तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार हालसम्म सम्पर्क विहिन भएको सचिव सापकोटाले पोखरा न्यूजलाई बताए ।

नेपाली गाइड परियारसंगै अन्नपूर्ण आधारशिविरमा जार्दै गरेका  एक युवा हिमपहिरोमा परेकोमा  ठुलो सघर्षले बाच्न सफल भएका छन्। पोखराको लेकसिटि कलेजमा बीबीएस दोश्रो बर्षमा अध्ययनरत पोखरा ८ का जगदीश खत्रीले आफुँ हिमपहिरोमा परि करिब १० मिनेट जसो तल झरेर पानीको भागमा पुगेर उत्रिदै  बाच्न सफल भएको बताए । उनका अनुसार देउराली क्षेत्रमा रहेका होटलको भाग सवै पुरिने गरी करिब ५/६ मिटर बाक्लो हिमपहिरो आएको हो । उनले भने “ मेरो पहाडी घर बाग्लुङ हो, पहिला पहाडी भेगमा हिडडुल गरेको हुँदा  हिमपहिरोमा लड्दै र बग्दै गरेर  संघर्ष गरेर  आज बाच्न सफल भए, मेरो खुट्टामा सामान्य चोट लागेको छ । ”

आफु हिमपहिरोमा पर्दै गर्दा केही व्यत्तिले मोवाइलबाट भिडियो खिचेको तर आफुले हेल्प हेल्प भन्दा सहयोग नगरेको उनले गुनासो गरे । हिमपहिरोमा परि माथिबाट आएको हिउले पटक पटक भिरालो ठाउँमा ह्वात ह्वात्त गर्दै तल लैजादा कुनै समयमा सास समेत फेर्न कठिन हुने गरेको अनुभव उनले सुनाए । आफुँ जिक ज्याक गरेर हिउमा लड्न पुगेको बताउदै उनले  करिब १० मिनेटको सघर्षपछि पानी भएको सतहमा पुगेर मुन्टो उठाएर आफु हिउबाट उत्रिन  सकेको जनाए । उनकोे साथमा भएको सर समान समेत हिउमा परी लड्न पुग्दा हराएको छ । लडेको केहि समयपछि  माथिल्लो भागमा आएपछि एक विदेशी र एक नेपालीले सहयोग गरेको उनले बताए । उनको हाल पोखराको फेवासिटि अस्पतालमा उपचार भैरहेको  छ । उक्त क्षेत्रमा हाल उद्धारको नाममा हेलिकोप्टर समेत जान नसक्ने अबस्था रहेको उनले जनाए ।

शनिबार पोखरामा नेपालसहित ७ देशका ६४ जनालाई अन्नपूर्ण पदमार्गबाट पोखरामा हेलिकोप्टर मार्फत ल्याइएको छ । भने अन्य झन्डै डेढ सयलाई  हेलिकोप्टर मार्फत  नजिकैको सुरक्षित  स्थानमा अवतरण गराइएको जनाइएको छ ।  कोरियन २७, चाइनिज १६, नेपालका १०, डेनमार्कका २, सिंगापुरका ५, अष्ट्रेलियाका १, भारतका २ र टियुनेसियाका १ जनालाई पोखरामा विभिन्न हेलिकोप्टर मार्फत ल्याइएको टानले जनाएको छ ।

हिमपहिरो गएको स्थानमा बिद्युत तथा इन्टरनेट  सेवासमेत अबरुद्ध भएको र  हालसम्म उक्त स्थानमा प्रहरी तथा टानको टोली एवं रेस्क्यू टिम जान नसकेको बताइएको छ  । शनिबार प्रभु, सिम्रिक र डाइनोष्टिक हेलिकोप्टर कम्पनीहरुले अन्नपूर्ण पदमार्गमा जादै तथा आउदै गरेकाहरुलाई उद्धार गरेका हुन्।

हाल हिमपहिरो आएको जोखिम पूर्ण क्षेत्र घान्द्रुकबाट करिब दुई दिनको पैदलमा पर्छ भने हिमचुली सहितका केही हिमालबाट हिमपहिरो झरेको हो । अहिले करिब २ किलोमिटर सम्मको क्षेत्र हिमपहिरोको उच्च जोखिम रहेको टान पोखराका सचिव सापकोटाले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button