पोखरामा नाटक ‘मेरो बचपनको साथी’ मञ्चन हुने

राजाराम पौडेल, पोखरा न्यूज – ०९, माघ । नाटक ‘मेरो बचपनको साथी’ माघ १० गते शुक्रबार पोखरामा मञ्चन हुने भएको छ ।  यो नाटकमा पोखराको बालकल्याण माध्यामिक विद्यालयका विद्यार्थीले अभिनय गर्नेछन् ।

पोखरामा आयोजित महानगरस्तरीय विद्यालय नाटक महोत्सवको पाँचौ दिन बालकल्याण माध्यामिक विद्यालयको प्रस्तुतीको यो नाटक मञ्चन हुने भएको हो । बिहान साढे ११ बजे पहिलो सो हुनेछ र पुनः दिउँसो २ बजे दोस्रो मञ्चन गरिनेछ । नाटकलाई परिपक्वता प्रदान गर्न उनीहरुले मेहनत गरेका छन् । आफुहरुको मेहनतका कारण नाटक राम्रो बन्ने उनीहरुको विश्वास छ ।

पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन हुने यो नाटकलाई सुदिप बाँस्तोलाले लेखेका हुन् । बाल मनोविज्ञानमा आधारित नाटक भएकोले यसलाई अभिभावकले हेर्नुपर्ने उनी बताउँछन् । अभिभावकले बाबुनानीको इच्छा विपरित अध्ययन गर्न लगाउँदा उनीहरुमा पर्ने मानसिक असर र त्यसले निम्त्याउने दुर्घटनालाई नाटक मार्फत देखाउन खोजिएको उनले बताए । झण्डै ४२ मिनेट अवधिको नाटकले बालबालिकालाई अरुसँग तुलना गर्न नहुने र उनीहरुको रुचि अनुसारको कार्य गर्न दिनुपर्ने सन्देश दिनेछ ।

पुष्पराज प्रसाद गुरुङको निर्देशनमा मञ्चन हुने नाटकमा विशेष गुरुङ, मेग्ना थापा, युनिष्ट थापा, आस्था विक, रितिका बराल, रिद गुरुङ, प्रज्वल गुरुङ, विनिता नेपाली, निकेश गुरुङ, धनराज गुरुङ, प्रतिक देवकोटा, मेलिना थापा, समिक्षा गुरुङ, प्रिन्स गुरुङ र अविश क्षेत्रीको अभिनय रहनेछ ।

बालकल्याण माध्यामिक विद्यालयका प्राचार्य षडानन्द गौतमले विद्यार्थीहरुले नाटक राम्रो बनाउन निकै मेहनत गरिरहेको बताए । ‘बच्चाबच्चीको इच्छा विपरित बाबा ममी जानुँहुदैन, उनीहरुको इच्छालाई सम्मान गर्नुपर्छ, बच्चाको इच्छा नभएको विषयमा अभिभावकले जर्वजस्ती भर्ना गरिदिए विद्यार्थीले सफलता प्राप्त गर्न सक्दैन भन्ने सन्देश नाटकमा दिइएको छ’ उनले भने ।

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मुल नाराका साथ पोखरा थिएटरले महानगर स्तरीय विद्यालय नाटक महोत्सव २०७६ गरेको हो । नाटक हेर्न विद्यार्थीलाई एक सय र अन्य सर्वसाधरणलाई दूई सय शुल्क लाग्नेछ । महोत्सवमा बिहिबार गीतिनाटक ‘मुनामदन’ मञ्चन गरियो । महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको यो नाटकलाई अनिल गुरुङ र नारायण प्रसाद पराजुलीले संयुक्त निर्देशन गरेका थिए ।

नाटकमा सञ्चिता थापा, सौरभ खत्री, पुनम भण्डारी, सुलभ खनाल, रिजन राना,, सोनिया गुरुङ, प्रकाश गुरुङ, सफल तिवारी, विजय पौडेल, सरोज पराजुली, निश्चा शर्मा र पुष्पा शाहीको अभिनय रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button