दमकल केन्द्र निर्माण केही दिनमा सुरु हुने

काठमाडौँ, २७ जेठ –

चाबहिलस्थित गङ्गाहिटीमा बनाउन लागिएको दमकल केन्द्रको निर्माणको काम केही समयमा नै सुरु हुने भएको छ ।

इटालीको सहयोगमा बनाउन लागिएको उक्त दमकल केन्द्रको निर्माणका लागि गत बिहीबार काठमाडौँ महानगरपालिकासँग सम्झौतासमेत भइसकेको जुद्ध बारुणयन्त्र काठमाडौँका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिनुभयो । प्रमुख भट्टराईका अनुसार उक्त दमकल केन्द्र निर्माणका लागि रु दुई करोड लाग्ने अनुमान गरिएको छ भने सन् २०१६ चैत्रमा निर्माणको कामसमेत सम्पन्न गरिसक्नुपर्नेछ ।

सो केन्द्र दुई रोपनी जग्गामा बनाइने र दुई तलाको हुनेछ । भुइँतलामा दमकल र अग्नि नियन्त्रणका सामान राखिनेछन् ।

त्यसैगरी, दोस्रो तलामा अग्निनियन्त्रक र केन्द्रका अन्य कर्मचारी रहने बताइएको छ । धर्मपथमा पनि अमेरिकाको सहयोगमा अर्को दमकल केन्द्र निर्माणका लागि नक्साङ्कनको काम भइसकेको छ । नक्सा सहयोगी राष्ट्रबाट नै आइसकेको र सोही देशका प्रतिनिधिले निर्माण गर्न लागेको स्थानको अवलोकन गरेपछि निर्माणको काम सुरु हुनेछ ।

हाल काठमाडौँ उपत्यकाका तीन जिल्लामा तीन मात्र दमकल केन्द्र छन् । उपत्यकाको बढ्दो सहरीकरणलाई हेर्दा सो सङ्ख्या अत्यन्तै कम भएको हुनाले दुर्घटनालाई ध्यानमा राख्दै सो केन्द्र निर्माण गर्न लागिएको हो ।

त्यस्तै, पछिल्लो समय बढ्दै गएका आगलागीका घटनालाई कम गर्नका लागि स्थानीय विकास मन्त्रालयअन्तर्गत अग्नि विपद् व्यवस्थापन शाखाले विभिन्न जिल्लामा आगलागीका घटना नियन्त्रणका लागि तालिम पनि सञ्चालन गरिरहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button