दमकल केन्द्र निर्माण केही दिनमा सुरु हुने

काठमाडौँ, २७ जेठ –

चाबहिलस्थित गङ्गाहिटीमा बनाउन लागिएको दमकल केन्द्रको निर्माणको काम केही समयमा नै सुरु हुने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

इटालीको सहयोगमा बनाउन लागिएको उक्त दमकल केन्द्रको निर्माणका लागि गत बिहीबार काठमाडौँ महानगरपालिकासँग सम्झौतासमेत भइसकेको जुद्ध बारुणयन्त्र काठमाडौँका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिनुभयो । प्रमुख भट्टराईका अनुसार उक्त दमकल केन्द्र निर्माणका लागि रु दुई करोड लाग्ने अनुमान गरिएको छ भने सन् २०१६ चैत्रमा निर्माणको कामसमेत सम्पन्न गरिसक्नुपर्नेछ ।

सो केन्द्र दुई रोपनी जग्गामा बनाइने र दुई तलाको हुनेछ । भुइँतलामा दमकल र अग्नि नियन्त्रणका सामान राखिनेछन् ।

त्यसैगरी, दोस्रो तलामा अग्निनियन्त्रक र केन्द्रका अन्य कर्मचारी रहने बताइएको छ । धर्मपथमा पनि अमेरिकाको सहयोगमा अर्को दमकल केन्द्र निर्माणका लागि नक्साङ्कनको काम भइसकेको छ । नक्सा सहयोगी राष्ट्रबाट नै आइसकेको र सोही देशका प्रतिनिधिले निर्माण गर्न लागेको स्थानको अवलोकन गरेपछि निर्माणको काम सुरु हुनेछ ।

हाल काठमाडौँ उपत्यकाका तीन जिल्लामा तीन मात्र दमकल केन्द्र छन् । उपत्यकाको बढ्दो सहरीकरणलाई हेर्दा सो सङ्ख्या अत्यन्तै कम भएको हुनाले दुर्घटनालाई ध्यानमा राख्दै सो केन्द्र निर्माण गर्न लागिएको हो ।

त्यस्तै, पछिल्लो समय बढ्दै गएका आगलागीका घटनालाई कम गर्नका लागि स्थानीय विकास मन्त्रालयअन्तर्गत अग्नि विपद् व्यवस्थापन शाखाले विभिन्न जिल्लामा आगलागीका घटना नियन्त्रणका लागि तालिम पनि सञ्चालन गरिरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button