कारागारमा उडुसको बिगबिगी

डोटी, १ असार –

राणाशासनकालमा निर्मित जिल्ला कारागार भवन जीर्ण बन्दा सास्ती खेपिरहेका कैदी हाल उडुसको टोकाइबाट हैरान बनेका छन् ।

कारागारको उचित व्यवस्थापन नहुँदा कैदीले बारम्बार सास्ती खेप्नुपरेको हो । बर्सात्मा चुहिने कारागार भवनको अझै निर्माण नहुँदा फोहोर भई लामखुट्टे, उडुसजस्ता परजीवीको सङ्क्रमणबाट बिरामी हुने गरेको कैदी मोराडीसिं बमले बताउनुभयो ।

जिल्ला कारागारमा बर्सात हुँदा चुहिने पानीले ओस जमेपछि विभिन्न किसिमका परजीवीले सङ्क्रमण गर्न थालेको कारागारका कैदी दीपेन्द्र जेठाराले गुनासो गर्नुभयो । उडुस मात्रै होइन, लामखुट्टे र उपियाँले पनि सताउने गरेको जेठाराको भनाइ छ । “कारागार व्यवस्थापनलाई बारम्बार जानकारी गराउँदा समेत समस्या जस्ताको तस्तै छ” उहाँले भन्नुभयो । ढुङ्गामाटाबाट निर्मित पुरानो कारागारमा त्रिपाल टाँगेर बर्सात्मा ओत बस्ने गरेका कैदीलाई हरेक समस्याले पिरोलेको छ ।कैदीलाई कारागारभित्र खेल्ने, एकापसमा भेटघाट गर्ने लगायत क्रियाकलाप गर्न जमिनको अभावका कारण समस्या रहेको कारागारका प्रमुख यज्ञराज पाठकले बताउनुभयो ।

प्रजिअ केशवप्रसाद आचार्यका अनुसार पुरानो कारागार भएकै कारण भूकम्पको दृष्टिले समेत जोखिममा छ । “प्रशासनका तर्फबाट कारागार व्यवस्थापन गर्न हामी लागेका छौँ”, प्रजिअ आचार्यले भन्नुभयो । कारागारमा लामो समयदेखि कैद भोगिरहेका कैदीको चालचलन बानीव्यहोरा हेरी उनीहरुको व्यवस्थापन गर्नु पनि अहिलेको आवश्यकता रहेको आचार्यले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button