पोखरा न्युज –
कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गर्नुभएको छ ।
बागलुङमा भएको नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङ शाखाको प्रथम जिल्ला अधिवेशनमा उहाँले मोबाइलबाट मन्तव्य राख्नुभयो ।
शनिबार दिउँसो करिब ५ मिनेट काठमाडौँबाटै अधिवेशनलाई सम्बोधन गर्नुभएका मन्त्री शर्माले स्वाधिन अर्थतन्त्रका लागि उद्योग, व्यापारको विकासमा जोड दिनुभयो ।
उहाँले मुलुकको आर्थिक समृद्धिका लागि जल, जमिन, जङ्गल र जनश्रमलाई अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । “अर्थतन्त्रलाई सुदृढ र स्वाधिन बनाउनसके मात्र मुलुक अघि बढ्छ”, गृहमन्त्री शर्माले भन्नुभयो ।
“मुलुक राजनीतिक परिवर्तन हासिल गर्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढेको छ” मन्त्री शर्माले भन्नुभयो, “राष्ट्रिय पूँजी र स्वाधिन अर्थतन्त्र निर्माणका लागि सबै लाग्नुपर्ने बेला आएको छ ।”
उहाँले आउँदो १५ वर्षभित्र मुलुक आर्थिक विकासको नयाँ चरणमा पुग्ने समेत दाबी गर्नुभयो ।
अधिवेशनले सङ्गठनको नयाँ नेतृत्व चयन गर्ने बागलुङ शाखाका संयोजक रतन मलेपतिले जानकारी दिनुभयो ।
अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । रासस