पोखराको लेकसाइडमा चैत्र ९ गते देखि नो भेइकल जोन संचालन हुने

डिएनबी, पोखरा न्युज – ०१ चैत्र ।

पोखराको लेकसाईड क्षेत्रमा यही मार्च २३ अर्थात चैत ९ गते शुक्रबार देखि नो भेइकल जोन कार्यक्रम संचालन हुने भएको छ । पोखरामा आज (विहिबार) सामुदायिक सेवा केन्द्र बैदामको आयोजनामा भएको भेलाले यही चैत्र ९ गते शुक्रबार देखि हप्तामा शुक्रबार र शनिबार गरी दुई दिनको लागि मात्र लेकसाईडको सिमित क्षेत्रबाट हाल नो भेईकल जोन लागु गर्ने भएको केन्द्रका अध्यक्ष भिम पराजुलीले बताए ।

शुक्रबार र शनिबार अपरान्हः ५ बजे देखि राति ११ बजेसम्म पोखराको हल्लनचोक देखि बाराही घाटसम्मको क्षेत्रलाई पहिलो चरणमा नो भेईकल जोनको रुपमा विकास गर्ने निर्णय भएको अध्यक्ष पराजुलीले बताए । उक्त अभियानलाई दिगो रुपमा सफल पार्न पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीको संयोजकत्वमा समिति समेत गठन गरिएको छ। पोखरा पर्यटन परिषद, सामुदायिक सेवा केन्द्र बैदाम, रेवान पोखरा, टान, पश्चिमाञ्चल होटल संघ, नेपाल पर्यटन बोर्ड क्षेत्रिय कार्यालय पोखरा, विभिन्न संघ संस्था, आमा समुह लगायतका समितिको सदस्यमा रहेकाछन।

उक्त भेलामा कास्कीका प्रहरी प्रमुख एस.पी. असोक सिंहले पोखराको पर्यटन प्रवद्र्धन हुने गरी संचालन हुने उक्त कार्यक्रमको लागि आवश्यक शान्ति सुरक्षा दिन प्रहरी कटिवद्ध भएको बताए । उनले भने “ हामी जनतासंग सधै सहकार्य गरी अघि बढ्न चाहेका छौँ, पर्यटन प्रबर्द्धन हुने जस्तो कार्यमा हामीले पुर्ण रुपमा साथ र सहयोग गर्ने छौं । ” वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले उक्त अभियानलाई सफल पार्न सबैले आर्थिक तथा नैतिक समर्थन गर्नूपर्ने बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले नो भेइकल जोन कार्यक्रम पोखराको एक ब्राण्ड नै बनाउनु पर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड क्षेत्रिय कार्यालय पोखराका प्रमुख सुर्य थपलियाले उक्त अभियानलाई सफल पार्न आफुहरुले सहकार्य गर्न तयार रहेको बताए । उनले पोखरामा सिसि क्यामरा र सोलार लाईट सहितका भौतिक पुर्वाधार निमार्णमा जोड दिन आग्रह गरे । रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले पार्किङको खोजि गरी स्थानियहरुसंग अझ छलफल गरी उक्त अभियानलाई अगाडी बढाउनु पर्नेमा जोड दिए । पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले पोखरामा केहि बर्ष अघि संचालन भएको नो भेईकल जोन स्थानिय र प्रशासनको समन्वय नमिल्दा सफल हुन नसकेको बताउदै नो भेइकल जो बनाएसंगै सडकमा विभिन्न कार्यक्रमहरु दिन सक्नुपर्नेमा जोड दिए ।

केन्द्रका सल्लाहकार बिष्णु बहादुर भट्टराईले कम्तिमा हप्ताको दुई दिन केहि घण्टा लेकसाईडको सिमित क्षेत्रलाई नो भेईकल जोन कार्यक्रम गर्दा प्रदुषण र ध्वनि न्यूनिकरण हुने तथा पर्यटकहरुलाई मनोरन्जन हुने बताए । रेवान पोखराका पुर्व अध्यक्ष गोपि बहादुर भट्टराईले उक्त अभियान सफल पार्न आफुहरु हरतरहबाट सहयोग गर्न तयार रहेको बताए । पर्यटन व्यवसायी बासु त्रिपाठीले उक्त अभियानलाई सफल पार्न ध्वनि प्रदुषणलाई नियन्त्रण गरी मौलिक र सांस्कृतिक कार्यक्रम पस्कन सक्नु पर्ने बताए । पोखरा ट्याक्सि व्याबसायी समितिका सचिव तुल्सिप्रसाद दाहालले आकास्मित सेवा भई परेको खण्डमा संचालन हुने गरी र पार्किङको ब्याबस्थापन हुने गरी उक्त अभियान सुरु गर्नूपर्ने बताए । सल्लाहकार पम्फा पहारी, वडा प्रहरी कार्यालय बैदामका डि.एस.पी. नविन कार्की, पर्यटन व्यवसायी मिना भट्टराई, केन्द्रका सचिव चेतनारायण पाण्डे लगायतले वोलेका थिए । पोखरामा करिब ५ बर्ष अघि ७ महिना नो भेईकल जोन लेकसाईड क्षेत्रमा संचालन भएको थियो । सुर्य बहादुर भुजेलको संयोजकत्वमा उक्त अभियान संचालन भए पनि दिउसो ३ बजेबाटै सुरु भएकोले गर्दा पनि उक्त अभियान सफल हुन नसकेको स्थानियले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button