स्काउट भेला जेठ १६ गतेमा

पोखरा न्यूज- ०४, जेठ ।

किशोर–किशोरीलाई देश र समाजप्रति अनुशासित एवं आज्ञाकारी बनाउने उद्देश्यले यही जेठ १६ देखि २१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय स्काउट भेला (ज्याम्बोरी) आयोजना हुने भएको छ ।

नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालीम केन्द्रमा आयोजना हुने सो ज्याम्बोरीमा नेपालसहित दक्षिण एशिया क्षेत्रका १० देशका करीब पाँच हजार स्काउटकर्मीले भाग लिनेछन् ।

अन्तर्राष्ट्रिय स्काउटको मूल्य मान्यताअनुसार हरेक चार–चार वर्षको अन्तरालमा हुनुपर्ने ज्याम्बोरी नेपाल स्काउटले पाँचवर्षको अन्तरालपछि आयोजना गर्न लागेको हो ।

पछिल्लो ज्याम्बोरी २०६९ चैत २८ देखि २०७० वैशाख २ गतेसम्म चितवनको टिकौलीमा सम्पन्न भएको थियो । स्काउटको स्थापना २००९ असार ५ गते भएको थियो ।

युवा तथा खेलकूल मन्त्रालयले ज्याम्बोरीका लागि रु दुई करोड विनियोजन गरेपछि कार्यक्रम आयोजना हुन लागेको हो । प्रथम ज्याम्बोरी २०४३ मा कीर्तिपुरमा सम्पन्न भएको थियो ।

स्काउटकर्मीको महाकुम्भमेलाका रुपमा ज्याम्बोरीलाई लिइन्छ । स्काउटका तदर्थ समितिका संयोजक चन्दन कौशीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ज्याम्बोरीका सहभागीले आ–आफ्ना मौलिक प्रतिभा प्रस्फुटन गरी ज्ञान आदानप्रदान गर्ने जानकारी दिए ।

विभिन्न जात, वर्ग, भाषा, धर्म र वर्णका साथीसित कसरी मिलिजुली बसेर समाजमा एकता र सद्भावनालाई थप बलियो बनाउने विषयमा सहभागीहरुले सिक्ने महत्वपूर्ण अवसरका रुपमा ज्याम्बोरीलाई लिइन्छ ।

उनले प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक केपी शर्मा ओलीले ज्याम्बोरीको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button