पार्टीभित्र अनुशासन आवश्यक छः सभापति देउवा

पोखरा न्युज -१७, जेठ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक भएको बताएका छन् ।

काँग्रेस कास्की जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले अनुशासनहीनताका कारण पार्टी कमजोर बन्दै गएकाले पार्टीमा मौलाएको छाडापन नियन्त्रण र निर्वाचनमा अन्तरघात गर्नेहरूलाई कारवाही नगरिएसम्म पार्टीलाई सबल बनाउन नसकिने धारणा राखे ।

लोकतन्त्र स्थापनाका लागि काँग्रेसले लामो समयदेखि अनवरत संघर्ष गरेको बताउँदै सभापति देउवाले लोकतन्त्रको रक्षाका लागि पनि काँग्रेस बलियो बन्नुपर्ने औँल्याए ।

“संगठन सुदृढीकरणका लागि जनतामाझ पार्टी पुग्नु अपरिहार्य छ, जनस्तरबाटै पार्टी बलियो बने मात्र अपेक्षित लक्ष्य हासिल गर्न सकिन्छ ”, उनले भने ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सर्वोच्च अदालत, अदुअआजस्ता संवैधानिक निकायलाई थर्काएर शासनसत्ता सञ्चालनमा लागेको आरोप लगाए । लोकतन्त्र बलियो बन्न काँग्रेस बलियो बन्नु अपरिहार्य भएकामा जोड दिँदै नेता पौडेलले भने “पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वमा न्याय, निष्ष्पक्षता एवं पारदर्शिता अपरिहार्य भए पनि त्यो हुन नसक्दा समस्या सिर्जना भएको छ, कार्यकर्ता पनि कर्मयोगी बन्नु जरुरी छ ।” पार्टी नेतृत्वले एक किसिमको सहमति गर्ने तर त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण असमझदारी बढ्ने गरेको उल्लेख गर्दै उनले त्यसतर्फ नेतृत्वले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र इमान्दार कार्यकर्ताको भूमिका मुल्याङ्कन हुनु आवश्यक छ भन्दै पार्टीलाई एकलौटी रुपमा बढाउन खोज्दा सही कार्यकर्ताको भावनाको कदर हुन नसक्ने बताए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्यद्वय गोपालमान श्रेष्ठ र जीवन विश्वकर्मा, प्रदेश नं ४ संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, यज्ञबहादुर थापा, खेमराज पौडेल, महादेव गुरुङ, देवराज चालिसेलगायतले आगामी दिनमा पार्टीलाई सुदृढ बनाउन नेतृत्व तहबाट विशेष पहल गरिनुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button