पोखरामा राष्ट्रिय वर्षे बाली कार्याशाला शुरु

पोखरा न्युज -०३, असार।
कृषि क्षेत्रमा विद्यमान अनुसन्धान, उपलब्धि एवं त्यस क्षेत्रमा देखिएका समस्या विषयक अनुसन्धानात्मक कार्यपत्र तयार गर्दै अभिलेखीकरण गर्ने उद्देश्यका साथ आज देखि २९ औँ राष्ट्रिय वर्षे बाली कार्यशाला गोष्ठी शुरु भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को आयोजना एवं क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्ले कास्कीको व्यवस्थापनमा आयोजित गोष्ठीमा कृषिको अनुसन्धान, प्रचारप्रसार र कृषि शिक्षा बीचको सहकार्यमा महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

कार्यक्रममा मुलुकको विभिन्न हावापानी तथा भौगोलिक अवस्थितिमा रहेका कृषिजन्य समस्याको समाधानका उपाय पत्ता लगाउनु आवश्यक भएको बताउँदै वक्ताले कृषिको समग्र विकासका लागि आधुनिकीकरण आवश्यक रहेकामा जोड दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सो कार्यक्रमको उद्घाटन गर्दै मुलुकको विद्यमान कृषि विकासका समस्यामा आधारित रही अनुसन्धानमार्फत उपयुक्त तथा दिगो कृषि प्रविधिको विकास गरी जनताको जीवनस्तर उकास्नु अपरिहार्य भएको बताए ।

कृषि क्षेत्रमा वैज्ञानिकले अनुसन्धानका माध्यमबाट गरेका उपलब्धिलाई कृषकको खेतबारीसम्म पु¥याउनु पर्ने बताउँदै उनले कृषि क्षेत्रमा आम्दानीभन्दा लगानी बढी भएको कारण जमिन बाँझो राखेर युवा शक्ति विदेसिन बाध्य भएको बताए ।

विषादीको न्यूनीकरण गर्दै प्राङ्गारिक मलको प्रयोगबाट उत्पादनमा वृद्धि गर्न विज्ञको ध्यान पुग्नुपर्ने बताउँदै उनले सरकारले कृषि, पर्यटन र ऊर्जामा विशेष जोड दिएको उल्लेख गरे ।

प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले शिक्षित वर्गलाई कृषि पेशामा आकर्षित गर्नु आवश्यक भएको बताउँदै उनीहरूलाई यसतर्फ आकर्षित नगर्दासम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने उल्लेख गरे ।

प्रदेश सरकारले पांँच वर्षको अवधिमा एक हजार २०० युवालाई तालीम प्रदान गर्ने रणनीति तय गरेको बताउँदै उनले सो अवधिमा ४०० भन्दा बढी व्यावसायिक फर्म दर्ता भई व्यावसायिक कृषि तथा पशुपालन सञ्चालन गर्ने धारणा राखे।

नार्कका कार्यकारी निर्देशक डा वैद्यनाथ महतोले मुख्य खाद्यान्न बाली धान, मकै र गहुँ तथा दलहन, तेलहन बालीतर्फ केन्द्रित रहेको जानकारी दिँदै उन्नत बीउबिजन र आधुनिक प्रविधि कृषकको खेतबारीमा पु¥याउन नार्क निरन्तर लाग्दै आएको बताए ।

कार्यक्रममा विगत दुई वर्षको अवधिमा अनुसन्धान गरिएका बाली प्रजनन्सम्बन्धी ७७, बाली विज्ञानतर्फ १९, रोग विज्ञानतर्फ १४, कीट विज्ञानतर्फ पाँच, माटो विज्ञानतर्फ १०, खाद्यतर्फ एक र सामाजिक आर्थिक अनुसन्धान र सञ्चारसम्बन्धी छ गरी कूल १३२ वटा वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको नार्कका वाली तथा बागवानी अनुसन्धानका निमित्त निर्देशक डा आनन्दकुमार गौतमले जानकारी दिए ।

कार्यक्रममा कृषि अनुसन्धानतर्फ मुलुकका १०० भन्दा बढी वैज्ञानिकको सहभागिता छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button