पोखरा न्यूज – २७, चैत । संस्कृतिको संरक्षण गर्दै मौलिक कला प्रबर्द्धन गर्ने उद्देश्यले बागलुङमा राष्ट्रिय खुला भजन प्रतियोगिता आयोजना गरिएको छ । ‘चैते दशैँ २०७५’ को अवसरमा बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले राष्ट्रिय खुला भजन प्रतियोगिताको आयोजना गरेको हो ।
“हाम्रा मेला पर्वहरुमा पश्चिमा संस्कृति भित्रिएको अवस्थामा मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि भजन प्रतियोगिता गरेका हौँ”, मूल आयोजक समितिका संयोजक राजु खड्काले भने, “भजन प्रतियोगिताले राष्ट्रियस्तरमा भजनको महत्व चित्रण गर्दै प्रचारप्रसारमा टेवा पुर्याउनेछ ।”
अहिलेको समयमा मौलिक कला हराइरहेको गुनासो चलेको सन्र्दभमा कालिका भगवती गुठीले मेलाका अवसरमा भजन प्रतियोगितासहित लोपन्मुख तारा हान्ने खेल, नौमती बाजा प्रतियोगिता आयोजना गरिरहेको छ । चैते दशैँ मेलाका अवसरमा मङ्गलबार आयोजना गरिएको खुल्ला राष्ट्रिय भजन प्रतियोगिता जैमिनी सङ्कृतन समूह बागलुङ प्रथम भएको छ ।
नेपालभरका १४ भजन समूह सहभागी रहेको प्रतियोगितामा राष्ट्रिय लोक भजन चुट्का संरक्षण समिति कास्कीको समूह दोस्रो, अमर मावि बिहुँ बागलुङको समूह तेस्रो र पञ्चासे भजन समूह कास्की सान्त्वना भएको मेला आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले रु ५१ हजार, दोस्रो हुने समूहले रु ३१ हजार र तेस्रो हुने समूहले रु २१ हजार प्राप्त गरेका छन् । यसअघि बिहुँकोट राम मन्दिर काठेखोला गाउँपालिका–५ बिहुँले समेत राष्ट्रिय खुला लोक भजन प्रतियोगिताको अयोजना गरेको थियो । यही चैत २३ गतेदेखि सञ्चालित चैते दशैँ मेला वैशाख २ गतेसम्म चल्नेछ ।