अबको जनगणनामा राउटेलाई समेटिने

प्रकाश अधिकारी -१४, पुष । राउटेको यकिन सङ्ख्या कति छ ? जनगणना अद्यावधिक गर्ने केन्द्रीय तथ्याङ्क विभागसँग यसको उत्तर छैन । यही प्रश्न राउटे अगुवालाई सोध्दा पनि सिधा जवाफ आउँदैन । ‘टाउको गन्न हुन्न’ भन्ने मान्यताका कारण राउटे समुदाय अहिलेसम्म राष्ट्रिय जनगणनामा अटाउन सकेको छैन ।

सरकारले १२ औँ राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिसकेको छ । प्रत्येक १०/१० वर्षमा अद्यावधिक गरिने जनगणनाको यही माघदेखि ‘नमूना गणना’ शुरु हुँदैछ । तर, नेपालको एकमात्र फिरन्ते र लोपोन्मुख जाति राउटेको सङ्ख्या र यसका अन्य विवरणहरु राज्यको आधिकारिक तथ्याङ्कमा समावेश हुन्छ कि हुँदैन भन्ने आम चासोको विषय बनेको छ । यो समुदायको आधिकारिक तथ्याङ्क नहुँदा विभिन्न अनौपचारिक स्रोतलाई आधार मानेर सरकारी तथा गैरसरकारी निकायहरु राउटे समुदायमा परिचालित भएको पाइन्छ ।

कर्णालीको प्रदेश राजधानी सुर्खेतस्थित सरोकारवालाहरुले केन्द्रीय तथ्याङ्क विभागलाई जनगणनामा राउटे समुदायलाई अटाउन सुझाव दिएका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आफ्नो सङ्ख्या गन्न नदिने राउटे समुदायको प्रवृत्ति भए पनि जनगणनामा समावेश गर्नुपर्ने बताए । “कर्णालीमा मात्रै रहेका राउटेहरुको सङ्ख्या, उनीहरुको पारिवारिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतको अवस्थाबारे स्पष्ट तथ्याङ्क आउनुपर्छ,” उनले भने – “राज्यले राउटे समुदायको वास्तविक सूचना सङ्कलन गर्नुपर्दछ । अब पनि यो समुदायलाई छुटाउँदा जनगणना अपुरो हुनेछ ।”

त्यस्तै, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले राउटे समुदाय कर्णालीकै गौरव भएको बताए । “अब हुने जनगणनामा राउटेको विवरण समावेश हुनुपर्छ, फिरन्ते भए पनि मानव जाति हुन्,” उनले भने – “राउटे समुदायसँग घुलमिल भएका व्यक्तिलाई गणकको जिम्मेवारी दिँदा वास्तविक तथ्याङ्क सङ्कलन हुनसक्छ ।” राउटेहरु हाल दैलेखको गुराँस गाउँपालिकाको दोबाटो जङ्गल क्षेत्रमा बसोबास गर्दछन् । विसं २०७५ वैशाखदेखि यस गाउँपालिकामा प्रवेश गरेका यो समुदायले अहिलेसम्म नौ स्थानमा बसाइँ सरिसकेका छन् । उनीहरु स्थायी बसोबास गर्न चाहँदैनन् । अहिलेसम्म नागरिकताको प्रमाणपत्र पनि लिएका छैनन् ।

गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठान, नेपालका केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काले जङ्गलमा बसोबास गर्ने, नयाँ मानिससँग बोल्न नचाहने, नाम ठेगाना बताउन नसक्ने, महिलालाई अन्य समुदायसँग बोल्न नदिनेजस्ता प्रवृत्तिका कारण यसअघिका गणनामा राउटेहरु छुटेका हुनसक्ने बताए । पहिलेभन्दा राउटेहरु परिवर्तन हुँदै गएकाले अब हुने गणनामा सहज हुने उनको विश्वास छ । उनका अनुसार यो जातिमा व्याप्त ‘टाउको गने पाप लाग्छ’, ‘महिलाको नाम भन्नुहुँदैन’ भन्ने मान्यतामा विस्तारै परिवर्तन आएको छ ।

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीद्वारा लिखित ‘दोसा“धका राउटे’ पुस्तकमा विभिन्न अध्येताहरुका बेग्लाबेग्लै तथ्याङ्क पाइन्छ । कार्कीले २०३९ सालमा आफ्नो अध्ययनबाट १ सय ९० सङ्ख्या रहेको उल्लेख गरेका छन । समाजशास्त्री डोरबहादुर विष्टले सन् १९७६ मा २ सय , डा. नन्दबहादुर सिंहले सन् १९९७ मा १ सय ३०, केशरसिंह माझीले ३ सय , पत्रकार हरिहरसिंह राठौर १ सय ६४ र विष्णुऋषि पाण्डेले ३ सय ५० सङ्ख्या उल्लेख गरेको भेटिन्छ । राउटे उत्थान प्रतिष्ठान नेपालका अनुसार हाल ४६ परिवार र १ सय ५१ जना सदस्य छन् । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सूचीकृत ५८ जनजाति मध्येमा राउटे पनि पर्दछ ।

केन्दीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले यसपटकको जनगणनामा सबै जाति, वर्ग, समुदायको स्पष्ट तथ्याङ्क सङ्कलन गरिने बताए । राउटे लगायतका अति लोपोन्मुख जातिको तथ्याङ्क सङ्कलन गर्दा थप सर्तकता अपनाइने उनको भनाइ छ । “‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारासहित जनताको घरदैलोमा पुग्ने राष्ट्रिय कार्यक्रममा राउटे समुदाय अटाउने प्रतिवद्धता व्यक्त गर्दछु,” निर्देशक लामिछानेले भने ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button