पोखरामा रंगमञ्च प्रतिको माहोल बढ्दै

राजाराम पौडेल, पोखरा न्यूज – २० , माघ ।  पोखरामा रंगमञ्च प्रतिको माहोल बढ्दै गएको छ । नियमित रुपमा नाटक मञ्चन मात्र नभएर अभिनय सिक्ने, सिकाउने क्रम शुरु हुँदा पोखरामा माहोल बढेको हो । सोही कारण नाटकतर्फ अग्रज, अनुज र नयाँ पुस्ताको रुचि बढ्दैछ । फलस्वरुप पुराना कलाकारको रंगमञ्चमा कमब्याक मात्र नभएर नयाँ कलाकार समेत जन्मदैछन् ।

एकपछि अर्को गरी नाटक मञ्चन भइरहदा रंग क्षेत्रमा अगाडी बढ्न खोज्नेहरुले नाटकमा अभिनय मात्र नभएर नाट्यकला सिक्ने अवसर पाईरहेका छन् । विद्यार्थी तथा अभिभावकको रुचि समेत नाटक तर्फ बढ्दा केहि विद्यालयले विद्यार्थीलाई नाट्यकला सिकाउन सुरु गरिसकेका छन् । विद्यालय सञ्चालक तथा अभिभावको साथले यो सम्भव भएको हो । यसरी शुरु गरिएका कक्षामार्फत बाबुनानीमा आएको सकारात्मक परिवर्तनले विद्यालय सञ्चालक तथा अभिभावक सन्तुष्ट छन् । यसले विद्यार्थीहरुको आर्कषण समेत थिएटर तर्फ मोडिन सघाएको छ ।

पोखरा माटेपानीमा अवस्थित हिल पोइन्ट माध्यामिक विद्यालयमा यो वर्षबाट अभिनयको कक्षा सुरु भएको हो । अहिले कक्षा ७ का ४१ जना विद्यार्थीलाई यो कला सिकाइएको छ । विद्यार्थीमा आएको सकारात्मक परिवर्तनले आगामी वर्ष यसलाई थप बढाउने योजना बनाएको प्रिन्सिपल दिवाकर जैशीले बताए ।

प्लस टु मा फाइन आर्टको कक्षा चलिरहेको थियो, अब अभिनयको कक्षा पनि सुरु गरौन भनेर सुरु गरिएको उनले बताए । ‘नाटकले एउटा कुरा मात्र सिकाउदैन, बोल्न, नाच्न, गाउन, अभिनय आदी समाजमा भएका गतिविधिलाई एकैचोटी सिकाउँदछ’ उनले भने । विद्यार्थीलाई सिकाउने ‘प्लेटफर्म’ खडा गरी आउटपुट हेरौ भन्ने योजनाका साथ यो वर्षबाट अभिनय कक्षा ७ कक्षामा मात्र सुरु गरिएको भएपनि अब थप्ने योजना बनाएको उनले बताए ।  ‘विद्यार्थीमा सुधार भएको छ, उनीहरुको बानी व्यवहार अनुशासनमा परिवर्तन आएको छ, अभिभावक समेत खुशी छन्’ प्रिन्सिपल जैशीले भने । नाट्य क्षेत्रमा लागेर बाच्न सक्ने अवस्था समेत सिर्जना हुँदै गएकोले यसतर्फको आर्कषण बढ्दै जाने उनको विश्वास छ ।

एस.ओ.एस हर्मन माइनर स्कूल,गण्डकीमा यो वर्षबाट अभिनय सिकाउन थालिएको हो । एस.ओ.एस हर्मन माइनर स्कूल,गण्डकीका प्रिन्सिपल राजेन्द्र कुमार श्रेष्ठले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सम्लग्न गराई उनीहरुमा व्यवहारिक ज्ञान बढाउन अभिनय सिकाउन थालेको बताए । यसअघि आर्ट, म्युजिक र डान्सलाई अतिरिक्त क्रियाकलाप अन्र्तगत राखेर बाबुनानीको इच्छा अनुसार सहभागी गराउने गरिएको भएपनि यो वर्षबाट अभिनयलाई समेत थपिएको उनले खुलाए । ‘अभिनयले विद्यार्थीको व्यवहारिक ज्ञान सँगै अनुशासित र जिम्मेवारी बनाउँछ’ उनले भने । यतिबेला एस.ओ.एसमा झण्डै ४० जनाले अभिनय सिकिरहेका छन् ।

नाटकको माहोल प्रगती माध्यमिक विद्यालयमा २०६१ सालदेखिनै भएको प्रिन्सिपल दिनेश श्रेष्ठ बताउँछन् । ‘हाम्रोमा २०६१ सालदेखिनै प्रकट पगेनी शिवले नाटक सिकाउनु हुथ्यो, यहाँ सिकेकाले विभिन्न ठाउँमा अवसर पाइरहेका छन्’ उनले भने । हरेक वर्ष एउटा नाटक तयार पार्ने गरिएको र नाटकतर्फ इच्छुकलाई अवसर दिदै आएको उनले बताए । अहिले पनि झण्डै १५ जनाले अभिनय सिकिरहेको प्रिन्सिपल श्रेष्ठले जनाए । यो सँगै पोखराका केहि विद्यालयमा कतै नियमित त कतै अतिरिक्त क्रियाकलाप अन्तर्गत  अभिनयका कक्षा शुरु भएका छन् ।

पोखराका भानुभक्त्त माध्यामिक विद्यालय, एसओएस हर्मन माइनर गण्डकी, प्रतिभा माध्यामिक विद्यालय, बालकल्याण माध्यामिक विद्यालय, हिलपोइन्ट माध्यामिक विद्यालय, प्रगति माध्यामिक विद्यालय, बेसलाईन एकेडेमी, केफ माध्यामिक विद्यालयमा मासिक तथा वार्षिक रुपमा अभिनय कार्यशाला भएका छन् । जसले रंगमञ्चप्रतिको रौनकता मात्र नथपेर यसतर्फ नयाँ पुस्ताको आर्कषणलाई बढावा दिन सहयोग गरेको छ ।

यतिबेला पोखरामा ‘मास्र्टस क्लास विथ अनुप बराल’ भइरहेको छ । पोखराबाट आफ्नो रंगमञ्चको यात्रा अगाडी बढाएका रंगकर्मी अनुप बरालले आफ्नो जन्मस्थलमै कलाकारितामा क्षेत्रमा अगाडी बढ्नेहरुको लागि सहजता प्रदान गर्न यो कार्यशाला गरेका हुन् । भारतको नेसनल स्कुल अफ ड्रामा बाट अध्ययन गरी आफुमा निखारता थपेका अनुपले एक्टर्स स्टुडियो मार्फत काठमाण्डौमा आफ्नो ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरिरहेका थिए । सोही क्लास पोखरामा कार्यशाला हुँदा उनीसँग अभिनय सिक्ने रहर भएकाहरुको काठमाण्डौ जानुपर्ने बाध्यता पनि हटेको छ ।

पोखराको प्रतिभा माध्यामिक विद्यालयका प्रिन्सिपल विश्व गोपाल पराजुली यस वर्षबाट अतिरिक्त क्रियाकलाप अन्र्तगत विद्यालयमा अभिनय सिकाउने थालेको बताउँछन् । ‘यस अगाडि संगीत र नृत्यलाई अतिरिक्त क्रियाकलाप अन्र्तगत राखी इच्छुक विद्यार्थीलाई सिकाइरहेका थियौँ, यो वर्षबाट अभिनय पनि थपिएको हो’ उनले भने । विद्यार्थी तथा अभिभावकको सकारात्मक प्रतिक्रिया मिलेकोले अभिनय कक्षालाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए । ‘बच्चाहरुलाई नाटक भनेको के हो भन्ने बुझ्न पाएका छन्, उनीहरुमा रंगमञ्चप्रति उत्साह थपिएको छ’ उनले थपे ।

पोखरामा विधिवत रुपमा नाटक मञ्चन हुन थालेको झण्डै ८२ वर्ष भयो । यो अवधिमा पोखरेली नाट्य क्षेत्रले विभिन्न उतारचढाव भने भोग्नु पर्यो । अहिले भने पोखरामा रंगमञ्च पुनः जागेको छ । विभिन्न रंगकर्मीको सहजिकरणमा पोखरामा अभिनय कार्याशाला निरन्तर भइरहेका छन् । पोखरा थिएटरले पनि नियमित रुपमा नाट्यकार्यशाला गरिरहेको छ । भर्खरै मात्र महानगरिय स्तरिय विद्यालय नाटक महोत्सव सम्पन्न गरेको पोखरा थिएटरले नयाँ नाटक मञ्चनको तयारी सुरु गरिसकेको छ । पोखरामा नाटकघर सञ्चालन भएपछि करिब ६० वटा नाटक मञ्चन भइसकेका छन् ।

यसका अलावा पोखरामा युथ क्रियशन थिएटर, नेशनल आर्ट स्कुल, ओथेलो थिएटर गुप्र, न्यारेटर समुह आदी पछिल्ला समयमा रंगमञ्चिय गतिविधिमा क्रियाशिल बन्न खोज्दैछन् । काठमाण्डौ, विराटनगर, जनकपुर, लमजुङ आदी नेपालका विभिन्न ठाउँका रंगकर्मीले पोखरामा आएर नाटक मञ्चन गरिरहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button