मुख्यमन्त्री गुरुङले बागलुङ अस्पतालमै पुगेर कोरोना संक्रमितको अवस्था बुझे

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शुक्रवार बागलुङको धौलागिरी अञ्चल अस्पतालमा पुगेका छन् ।

बिहीबार कोरोना भाइरस संक्रमणका कारण अस्पतालमा उपचाररत १९ बर्षिय युवतीसँग टेलिफोनमा कुराकानी गरेका मुख्यमन्त्री गुरुङ शुक्रवार विहानै अस्पताल पुगेका हुन् ।

टेलिफोन कुराकानीका क्रममा युवतीले डाक्टरहरु कोठामै छिर्दैनन् भन्ने गुनासो गरेपछि मुख्यमन्त्री गुरुङ, मुख्य सचिव हरिप्रसाद बस्याल, राजनीतिक सल्लाहकार गोबिन्द नेपाली, प्रेस सल्लाहकार विक्रम न्यौपानेसहित अञ्चल अस्पतालमा पुगेका हुन् ।

मुख्यमन्त्री गुरुङले २ जना कोरोना भाइरस संक्रमित विरामीको उपचार गरिरहेको उक्त अस्पतालमा पुगेर विरामीको स्वास्थय अवस्था, अस्पताल र स्वास्थ्यकर्मीहरुको समस्याका वारेमा प्रतक्ष्य जानकारी लिएका थिए ।

अस्पतालमै पुगेर मुख्यमन्त्री गुरुङले निरीक्षण गर्दा अस्पतालको आइसोलेसन वार्डमा उपचाररत एक युवती र अर्की वृद्धा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार न्यौपानेले बताए । मुख्यमन्त्री गुरुङ अस्पतालमा उपचाररत बिरामी, अग्रपंतिमा बसेर काम गरिरहेका स्वास्थकर्मी, सुरक्षाकर्मी, सहयोगी लगायतको हौसला बढाउने उद्देश्यले अकस्मात त्यहाँ पुगेको र जानकारी लिएको  न्यौपानेले बताए ।

“उहाँले कोरोना भाइरस संक्रमित विरामीको उपचार गराइरहेको अस्पतालमा कसरी छिटोभन्दा छिटो आइसीयु संचालन गर्न सकिन्छ र अस्पतालमा स्रोत साधन तथा कर्मचारीको परिपूर्ति गर्न सकिन्छ भन्ने कुराको जानकारी गर्न समेत यहाँ आउनुभएको हो”, सल्लाहकार न्यौपानेले भने, “उहाँले यहाँको जानकारी लिदै अस्पताललाई आवश्यक स्रोत र साधनको व्यवस्था गर्न प्रदेश सरकार तत्पर रहेको बताउनुभयो।“

संघीय सरकारले पोखराको गण्डकी अस्पताल प्रदेशलाई हस्तान्तरण नगरेको र पोखरामा छुट्टै प्रादेशिक अस्पताल निर्माणमा लाग्नुपर्ने अवस्था रहेको बताउदै मुख्यमन्त्री गुरुङले प्रादेशिक उप अस्पतालको रुपमा धौलागिरी अञ्चल अस्पतालाई विकास गरेर लगिने बताए ।  अस्पतालमा आवश्यक उपकरण तथा कर्मचारी दरबन्दी तथा बजेटका बारेमा  प्रदेश सरकारले पहलकदमी लिने उनले बताए । मुख्यमन्त्री गुरुङले अस्पतालको निरीक्षण गर्दै कोरोना भाइरसबाट सङ्क्रमितको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई प्रशासनलाई निर्देशन समेत दिएका छन् ।

मुख्यमन्त्री गुरुङले अहिले तेरो पार्टी मेरो पार्टी भन्ने बेला नरहेको उल्लेख गर्दै निस्वार्थ ढंगले मानवीय कर्तव्य पुरा गरी कोरोना भाइरसविरुद्ध एकजुट भएर सबै लाग्नुपर्ने आवश्यकता रहेको बताए । उनले बागलुङमा राहात वितरणको प्रवाभकारिता, गुणस्तरीयता र समस्याको बारेमा समेत चाँसो देखाएका थिए ।

मुख्यमन्त्री गुरुङले पर्वतको जिल्ला प्रशासन कार्यालयमा समेत पुगी त्यहाँको सुरक्षा अवस्था, जिल्ला अस्पतालको तयारी र जनजीवनको जानकारी लिंदै स्वास्थ्यकर्मी र सुरक्षा संयन्त्रलाई हाई अलर्टमा बस्न निर्देशन समेत दिएका छन् ।

उनले शुक्रवार बागलुङ जादै गर्दा अस्पतालमा उपचाररत संक्रमित महिलासंग फोनमा कुराकानी गरि हौसला बढाउदै उनको स्वास्थ्य अवस्थाको वारेमा जानकारी समेत लिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button