लकडाउनले पशुपालक कृषक समस्यामा

कृष्ण न्यौपाने। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि तनहुँ जिल्लाका पशुपालक कृषकहरु समस्यामा परेका छन् ।

लकडाउनका कारण उद्योगहरु सञ्चालन नहुँदा र ढुवानीका साधन सञ्चालन नहुँदा दाना र परालको अभाव भएको कृषकको गुनासो छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका गाईपालक कृषक काशीनाथ भट्टराईले लकडाउनका कारण दाना र चोकरको अभाव भएको बताउए । “पहिलाको भन्दा भाउ निकै बढेको छ”, उनले भने, “महङ्गो भए पनि किन्न पाएको छैन् ।” यस्तै अवस्था धेरै समय हुने हो भने गाई पाल्न नसकिने भट्टराईको गुनासो छ ।

सरकारले पशुपालक कृषकलाई राहत दिन खाद्यान्न जस्तै दाना र चोकरको पनि ढुवानीमा सहजता ल्याउनुपर्ने उनको माग छ । लकडाउनका कारण दूध बिक्रीमा समस्या भएको शुक्लागण्डकी नगरपालिका–९ स्थित शुक्ला सुरौदी लाइभस्टक एग्रो प्रालिका अध्यक्ष ऋेश्वर भुवाईले बताए । उनका अनुसार गाईभैसीलाई खुवाउने दानापानी अभाव भएपछि स्याउला खुवाउने गरिएको छ । “दानापानी सिद्धिएको छ, लकडाउनले तराईबाट आएको छैन,” उनले भने, “जङ्गल नजिकै भएकाले स्याउला खुवाएर भैसीलाई पालिरहेका छौ ।”

व्यास नगरपालिका–१३ गुदीमा भैसीपालन गर्दै आएका ईश्वरराज पन्थले लकडाउन हुँदा पराल, दाना तथा चोकरको अभाव भएको गुनासो गर्नुभयो । गाउँमा भैसी पाल्दा यो बेलामा पराल, दाना र चोकरको ढुवानी तथा विक्रीका लागि बजारसम्म दूध ल्याउन पनि समस्या हुने भएपछि पन्थले पृथ्वीराजमार्गको छेउमै व्यास नगरपालिका–४ स्थित सिमलटारमा अस्थायी रुपमा भैसी पालनको व्यवस्था मिलाएको छ । तर राजमार्गको छेउमा भैसी ल्याएपनि पराल नहुँदा भैसीलाई खुवाउन निकै समस्या परेको उनको गुनासो छ ।

भैसी दुहेर दूध स्कुटरमा राखी बिक्रीका लागि व्यास नगरपालिका–१ भादगाउँ लैजादै गर्दा प्रहरीले लकडाउनको उल्लङ्घन गरेको भन्दै अभद्र व्यवहार गरी कुटपिट गरेको उनले बताए । “लकडाउनका बेलामा दूधलाई अत्यावश्यक सेवा मानेर दूध बोक्ने सवारी सञ्चालन गर्न दिने निर्णय थाहा पाएर दूध बिक्रीका लागि हिँडेको थिएँ,” उनले भने, “तर प्रहरीले तीन घण्टासम्म नियन्त्रणमा राख्यो ।”

लकडाउनका समयमा पनि कुखुराको दाना र गाईभैसीको दाना तथा चोकरको ढुवानी निर्वाध हुने सरकारले बताएपनि त्यस्तो अवस्था नरहेको कृषकको भनाइ छ । तनहुँमा चोकर उत्पादन गर्ने उद्योग नहुुदा तराई क्षेत्रबाट ल्याउनुपर्ने बाध्यता रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।

केही कृषकले चोकरको अभाव भएको बारेमा आफूलाई पनि जानकारी गराएको भन्दै उनले यस समस्याको सम्बोद्धनका लागि सरकारले केन्द्रीय स्तरबाट नै पहल गर्नुपर्ने बताए । तनहुँमा करीब दुई सय ५० गाई/भैसी फार्म बढी मात्रामा चोकर दानामा निर्भर छन् ।

वडाले खरिद गर्दै, कृषकलाई बाँड्दै

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरी वडावासीलाई निःशुल्क वितरण गर्न शुरु गरेको छ । लकडाउनका कारण कृषि उपज सामग्री बिक्री नभएपछि प्रोत्साहन स्वरुप वडा आफंैले त्यस्ता उपज खरिद गर्न थालेको हो ।

वडाका किसानले उत्पादन गरेको दूध, हरियो तरकारी र अण्डा किनेर वडावासीलाई वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । दूध दैनिक रुपमा र अण्डा तथा तरकारी एक–एक दिन पालो गरेर बाँड्ने गरिएको छ ।“लकडाउनका कारण किसानको उत्पादनले बजार पाएको छैन । दूध फाल्नुपर्ने अवस्था आएको छ,” उनले भने, “किसानलाई कृषि पेशामा टिकाइराख्न वडाले नै त्यस्ता सामग्री खरिद गरेर वितरण गर्छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button