पोखरा रंगशालामा स्विमिङ पुल र शुटिङहल निर्माण प्रक्रिया अघि वढ्यो

पोखरा । गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुदको तयारीका लागि पोखरा रंगशालामा आधुनिक स्विमिङ पुल सङ्गै शुटिङ हल निर्माण प्रक्रिया अघि बढेको छ ।

संघिय सरकार युवा तथा खेलकुद मन्त्रालयले चालु आवमा दुवै परियोजनाका लागि ५०–५० लाख रकम विनियोजन गरेपछि निर्माण प्रक्रिया अघि वढेको हो । निर्माणका लागि बजेट विनियोजन भए संगै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले काम अघि वढाउन पहल थालेको राखेपका नवनियुक्त वोर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिएका छन । पोखरा रंगशालामा निर्माणहुन लागेका यि दुई परियोजनामा करिव ३४ करोड ४०  लाख खर्च हुनेछ ।

पोखरा रंगशाला भित्र लामो समय देखि स्विमिङ पुल निर्माण गर्नका लागि धेरै पटक पहल भएपनि निष्कर्षमा पुग्न सकेको थिएन । “युवा तथा खेलकुद मन्त्रीज्युले यस विषयमा गम्भिर चासो राख्नुभएको थियो” राखेप सदस्य श्रेष्ठले भने–“मन्त्रीज्युकै पहलमा पोखरा रंगशाला भित्र दुइवटा पुर्वाधार स्विमिङ पुल र शुटिङ हल निर्माण हुने भएको छ ।” “जसरी पोखरा रंगशालामा मन्त्रीज्युकै पहलमा अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम निर्माण सम्पन्न हुने तरखरमा छ, अव नयाँ दुई वटा पुर्वाधार निर्माणको काम शुरु हुनेछ” उनले भने ।

पोखरा रंगशालामा निर्माण हुने स्विमिङ पुल आधुनिक र हिटिङ सिष्टमको हुने राखेप सदस्य श्रेष्ठले बताए । “गण्डकी प्रदेशमा अहिले सम्म यस्तो स्विमिङ पुल छैन, त्यसैले पनि यो खेलाडीका मात्रै नभई पोखरा आउने पर्यटकका लागि यो स्विमिङ पुल आर्कषणको केन्द्र वन्न सक्छ,” उनले भने । मल्टी इयर परियोजनाका रुपमा निर्माणहन लागेको स्विमिङ २० करोडको लागतमा निर्माण हुनेछ । २५ मिटर लम्वाई र २५ मिटर चौडाईको स्विमिङ पुलमा जिमहल, महिला पुरुष चेन्जिङ रुम, स्टोर रुम लगाएतको व्यवस्था हुनेछ ।

यसै गरि पोखरा रंगशाला भित्र निर्माण हुन लागेको शुटिङ हल समेत गण्डकी प्रदेशका लागि नयाँ खेलकुद पुर्वाधार हो । नवौ राष्ट्रिय खेलकुदका लागि भन्दै निर्माण हुन लागेको शुटिङ हल १० मिटर रेन्जको हुने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका इन्जिनियर प्रनिश ताम्राकारले बताए । करिव १३ करोड ४० लाखको लागतमा निर्माण हुन लागेको शुटिङ रेन्ज हल भित्र आवश्यक पर्ने सम्पुर्ण ‘इक्विपमेन्ट’ समेत हुनेछन ।

पोखरा रंगशालामा निर्माण हुन लागेका दुवै पुर्वाधारहरुको अव चाँडैनै टेन्डर आह्वानको तयारी भइरहेको राखेप सदस्य श्रेष्ठले बताएका छन । “कोभिड १९ का कारण ढिला भएको हो” उनले भने–“अव सबै सामान्य अवस्थामा फर्किने वित्तिकै टेन्डर आह्वान हुन्छ ।” “यस अघि म क्षेत्रिय अध्यक्ष हुँदा समेत यसका लागि पहल थालेको थिंए, तर समय अभावले हुन सकेन अव यसको निर्माणको प्रक्रिया शुरु गर्नेछौं” उनले भने । पोखरा रंगशाला भित्र यि दुई पुर्वाधारको निर्माण पछि पोखरा रंगशाला ‘स्पोर्टस भिलेज’को रुपमा विकसित हुने उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button