ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ-नेता पम्फा भुसाल

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) की सांसद पम्फा भुसालले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई पुर्नविचार गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भुसालले सरकारले संसद नभएको बेलामा असंवैधानिक किसिमले अध्यादेश ल्याएर संवैधानिक निकायमा पदाधिकारीकारी नियुक्ति गरिएको भन्दै सो नियुक्तिलाई पुर्नविचार गर्नुपर्ने बताउनुभएको हो । संसदीय सुनुवाइलाई छलेर प्राविधिक रुपमा तिथिमिति मिलाएर नियुक्ति गरिएकाले संवैधानिक नियुक्तिलाई संविधान सम्वत् बनाउनैपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो -‘पार्टीको स्थायी समितिमा लेखेको मसी नसुक्दै झुठ तरिकाले त्यही अध्यादेश अनुसार संवैधानिक परिषद्हरुमा असंवैधानिक तरिकाले नियुक्त गरेको कुरा पनि बाहिर आयो । र अहिले पनि संवैधानिक निकायहरुमा असंवैधानिक तरिकाले नियुक्त गरेका मान्छे पठाइएको छ । अब यो संसद पुर्नस्थापना भएको छ । हामी एउटा ढंगले त्यसको पुर्नविचार गर्नैपर्छ । हामीले त्यसलाई संविधान सम्वत् बनाउनै पर्छ । संसदको सुनुवाइ गर्ने परम्परालाई छलेर केवल टेक्निकल तिथिमिति गरेर, ढाँटेर, जुन ढंगले गरिएको छ । त्यो पनि म यहाँ स्मरण गराउन चाहान्छु ।’

सांसद भुसालले वर्तमान राजनीतिक प्रणाली अनुसार निर्वाचनमा कसैको पनि दुईतिहाइ आउने सम्भावना नरहेको भएपनि प्रधानमन्त्री ओलीले दुईतिहाई ल्याउने धाक दिएर आफ्नो लाज छोपेको बताउनुभयो । प्रतिनिधि सभाको हालको बनावट अनुसार राजनीतिक दललाई बहुमत ल्याउन पनि गाह्रोपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो -‘हाम्रो देशले हाम्रो संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीले तपाईले सोच्नुभएको छ, तपाईंले जनतालाई भ्रम दिनुभाछ कि ढाट्नु भाछ कि आफै भ्रममा हुनुहुन्छ र मुर्खता गर्नुभाछ ?

हाम्रो जस्तो निर्वाचन प्रणाली जहाँ ६० प्रतिशत प्रत्यक्ष छ । ४० प्रतिशत समानुपातिक छ । जहाँ समाजका सबै जाति, वर्ग, लिङ्ग, समुदाय आउनुभाछ । संविधानले व्यवस्था गरे अनुरुप हाउसको जुन बनावट छ । यस्तो निर्वाचन प्रणालीमा बहुमत पनि यदाकदा आउँदैन । दुईतिहाइको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुस् । मेरो अपिल छ ।’

सांसद भुसालले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने पनि बताउनुभयो । सरकारले संसद सञ्चालनको लागि एजेण्डा नदिएको भएपनि प्रधानमन्त्री ओलीले सडकबाट संसद सञ्चालनको सम्बन्धमा सभामुखलाई गाली गर्दै हिडेको उहाँको भनाई छ । देशको वर्तमान राजनीतिक समस्याहरुको राजनीतिक दलहरु र संसदबाटै हल खोज्नुपर्नेमा उहाँको जोड छ ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button