गुरुङ फिल्ममा केही गर्ने लक्ष्यका साथ अगाडि बढेको छुँः विवेक गुरुङ

अवसर पाए नेपाली फिल्ममा समेत काम गर्छु

पोखरा न्यूज सम्वाददाता । शुक्लागण्डकी–१ थप्रेक, तनहुँ स्थायी घर भएका कलाकार विवेक गुरुङको जन्म भारतको बेंगलोरमा भएको हो । ८ वर्षको उमेरमा उहाँ परिवार सहित पूख्यौली थलो तनहुँ जिल्लाको थप्रेक फर्कनुभयो । थप्रेक फर्किएपछि सरस्वती सेकेन्डरी स्कूलमा कक्षा ४ मा भर्ना भएर उहाँले आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाउनुभयो ।

स्कूलमा अध्ययन गर्नेक्रममा पढाइका अलावा हाजिरीजवाफ प्रतियोगिता तथा फुटबल खेलप्रति उहाँको रुचि थियो । प्रवेशिका परीक्षा दिएपछि उहाँले संगीत समेत सिक्नुभयो । किनकि उहाँ गायन कलामा समेत आर्कषित हुनुहुन्थ्यो ।

उहाँले पश्चिामाञ्चल आइडल प्रतियोगितामा भाग लिदै गायन यात्रालाई परिपक्क बनाउन खोज्नुभयो । प्रतियोगिताको उपाधि जितेपछि अग्रज संगीतकर्मीले संगीत क्षेत्रमा लाग्ने हो भने अध्ययन गरेर निखारता थप्न सल्लाह दिनुभयो । अनि संगीतमा केही गर्ने लक्ष्य बोकेर काठमाण्डौ हानिनुभयो । काठमाण्डौमा गएर उहाँले संगीतसम्बन्धी अध्ययन  गर्नुभयाे । ललितकलाको अध्ययन गर्ने क्रममा छुट्टिमा घरमा आउँदा गुरुङ फिल्म खेल्न अफर आयो । यसरी आएको अफरलाई स्विकार्दै उहाँले फिल्मी यात्रा सुरु गर्नुभयो । उहाँले २०७३ सालमा ‘बोलन’ र ‘उकाली चढ्दा’ दुई गीत रेर्कड गर्नुभएको थियो । फिल्मी क्षेत्रमा लागेपछि गायन यात्रालाई निरन्तरता दिन सकिरहनुभएको छैन ।

गुरुङ फिल्म ‘कान्छा’ बाट अभिनयको यात्रा सुरु गर्नुभएका उहाँले ‘प्रेमीप्रेमिका’, ‘किन रुन्छ यो मन’, ‘आमाको मन’, ‘रामरानी’, ‘काँचो धागो’ फिल्ममा काम गरिसक्नु भएको छ । कलाकार मात्र नभएर कथा लेखन र निर्देशन क्षेत्रमा समेत अब्बल बन्न उहाँले खोज्नुभएको छ । फिल्मको सह–निर्देशन गरिसक्नुभएका उहाँको लक्ष्य निर्देशक बनेर आफूले आर्जन गरेको ज्ञानलाई फिल्म मार्फत पस्कने रहेको छ । उहाँ हाल पोखरा नयाँगाउँमा बस्नुहुन्छ । यसपाली हामीले उहाँसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
फिल्म निकै हेर्छु । फिल्म हेर्न मलाई एकदम मनपर्छ । नेपाली फिल्म, बलिउड फिल्म, हलिउड फिल्म मात्र नभएर गुरुङ फिल्म प्रायः सबै हेर्छु । सिक्नको लागि समेत फिल्म हेर्ने गर्छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
म प्रायः फिल्म हलमानै पुगेर हेर्छु । पहिलो सो अथवा प्रिमियर सो मार्फत हेर्न मनलाग्छ । घरमा समेत उतिकै हेरिन्छ । टिभीमा र मोबाइलमा इन्टरनेटको माध्यमबाट हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभुती कस्तो हुन्छ ?
घरमा सबै वातावरण मिलेको हुँदैन । हलमा साथीहरुसँग बसेर हेर्दाखेरीको मज्जानै बेग्लै हुन्छ । आफुले खेलेको फिल्म अडियन्ससँग हलमा बसेर हेर्दा झनै रमाइलो अनुभूति हुन्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
मेरो पुख्यौली थलो तनहुँ शुक्लागण्डकी १ थप्रेक हो । बाल्यकालमा गाउँमा व्याट्री ल्याएर टिभीबाट फिल्म देखाइन्थ्यो । किनकि त्यतिबेला गाउँका विजुली पुगेको थिएन । म ९, १० कक्षामा अध्ययन गर्नेबेलामा बल्ल गाउँमा विजुली पुगेको थियो । त्यतिबेला टेलिभिजनमा शुक्रबार, शनिबार आउने फिल्म हेरिन्थ्यो । त्यसरी हेर्दा प्रायः हिन्दी फिल्म हेरियो । कहिलेकाहि नेपाली फिल्म समेत हेर्ने अवसर मिल्थ्यो ।

अर्को कुरा हलमा फिल्म हेर्न थप्रेकबाट दुईघण्टा हिडेरनै कास्कीको गगनगौडामा रहेको मन्दिप मिलन चलचित्र मन्दिरसम्म आउथ्यौँ । फिल्म हेर्ने भनेर उत्साहित भएपछि दुई घण्टाको हिडाइलाई भुलिदिन्थ्यो ।

यसरी फिल्म हेर्न आउँदा पैसाको जोरजाम कसरी गर्नुहुन्थ्यो ?
हामी सम्पन्न परिवार थिएनौ । फिल्म हेर्नको लागि पैसा मेलापातमा काम गरेर जम्मा गरिन्थ्यो । मल बोक्ने, दाउरा बोक्ने गरेर पैसा जम्मा गथ्र्यौ । अनि छुट्टीको बेलामा समय मिलाएर फिल्म हेर्न हलमा पुग्थ्यौ ।

हलमा हेरेको पहिलो फिल्म ?
हलमा हेरेको पहिलो फिल्म नेपाली फिल्म ‘ताल’ हो । ६ कक्षा पढ्दाको समयमा हेरेको हुँ । गुरुङ फिल्ममा हलमा हेरेको पहिलो फिल्म ‘क्रोमु’ । दुईवटै फिल्म मन्दिप मिलन चलचित्र मन्दिर गगनगौडा लेखनाथमा हेरको हुँ । त्यसपछि मैले हलमा पुगेर फिल्म निरन्तर हेर्न थाले ।

मनपर्ने फिल्मी कलाकार ?
अहिलेको हिसाबमा दयाहाङ राई मनपर्छ । बाल्यकालमा शिव श्रेष्ठ, राजेश हमाल, भुवन केसी, निखिल उप्रेती, विराज भट्ट, श्रीकृष्ण श्रेष्ठ, दिलिप रायमाझी सहितका कलाकार मनपथ्र्यो । मलाई मनपर्ने कलाकार धेरै हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
नेपाली फिल्म उद्योगमा कलाकार तथा फिल्मकर्मीले रोजगारी पाइरहनुभएको छ । जीविकोपार्जनका लागि आम्दानी गर्ने ठाउँ बनेको छ । यो सकारात्मक कुरा हो । अर्को कुरा नेपाली दर्शकले मनोरञ्जन लिने ठाउँ नेपाली फिल्म बनेको छ । नेपालमा नेपाली फिल्मको क्रेज बेग्लै छ ।

सुधार गर्नुपर्ने पक्ष ?
सबैभन्दा पहिले नेतृत्वनै राम्रो हुनुपर्छ । नामले मात्र फिल्म चलाउन खोज्नु भन्दा कामले दर्शकलाई आर्कषित गर्न सक्नुपर्छ । मेकिङ, प्रिजेन्टटेसन, कथा लेखन र कलाकार चयनमा ध्यान दिनुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
रहर त्यतिबेला त भएन । बरु मेरो मनमा फिल्म खेल्ने कलाकार कस्तो हुन्छ होला वास्तविक जीवनमा भन्ने उत्सुकता थियो । कहिलेकाही पर्दामा हेर्दा साच्चै हो जस्तो नि लाग्थ्यो । के गरिरहेको होला, कसरी सम्भव भयो होला भन्ने मनमा खुल्दुल्ली हुन्थ्यो । भेट्न पाए, देख्न पाए, हेर्न पाए भन्ने हुन्थ्यो । अभिनय नै गर्छु भन्ने रहर भने मनमा पलायन ।

तपाईको फिल्म यात्रा कसरी शुरु भयो ?
म फिल्म लाइनमा आउनुभन्दा पहिले गायन क्षेत्रमा लागेको थिए । गायनको माध्यमबाट पश्चिमाञ्चल तारा हुन सफल भए । त्यसपछि सिक्नुपर्छ त्यतिकै हुँदो रहेनछ भन्ने भयो । अध्ययनको लागि काठमाण्डौ गए । शास्त्रीय गायन विषय लिएर पढे । ललितकलामा स्नातक पढ्दै गर्दा छुट्टी मनाउन पोखरा आएको थिए । संयोगवश फिल्म खेल्ने अवसर पाए । गुरुङ फिल्म ‘कान्छा’बाट अभिनयको यात्रा सुरु भयो । त्यसपछि प्रेमीप्रेमिका, किन रुन्छ यो मन, आमाको मनमा अभिनय गरे । रामरानीमा सहनिर्देशन समेत गरे । त्यसपछाडि मैले काम गरेको फिल्म काँचो धागो हो ।

बाल्यकालमा तपाइको स्वभाव कस्तो थियो, संगीत क्षेत्रमा कसरी लाग्नुभयो ?
बाल्यकालमा स्कूलमा ‘क्विज’मा भाग लिन्थे । क्लासमा पढाइमा राम्रो नै थिए । फुटबल खेल्थे । प्रवेशिका परिक्षा दिएपछि जोजीजु म्युजिक सेन्टर पोखरामा विनोद वाँनियासँग संगीत सिके । त्यसबेलानै प्रतियोगिता भएको थाहा पाए । पप गीतको माहोल भएको बेला थियो । एक महिना संगीत सिकेको थिए । पश्चिमाञ्चल तारा भएपछि श्यामशुङ तामाङ लगायतका अग्रजले यसरी हुँदैन अलिकति राम्रो गर्न चाहन्छौ भने सिक्नुपर्छ भनेपछि काठमाण्डौ गएको थिए । पहिला व्यवस्थापन संकायको अध्ययन गर्दै गरेको मैले संगीत अध्ययन गर्न भनेर काठमाण्डौमा गएर शास्त्रीय संगीत अध्ययन गर्न थालेको थिए ।

अबको यात्रा कसरी अगाडि बढाउनुहुन्छ ?
कोरोनाले परिस्थितिलाई अलिकती असर पारेको छ । अगाडि बढ्न गाह्रो बनाएको छ । म जति सक्छु गुरुङ फिल्म क्षेत्रमा केही गर्ने लक्ष्यका साथ अगाडि बढ्ने छु । नयाँ पुस्ताको आर्कषण गुरुङ फिल्ममा गराउने प्रयास गर्छु । मानिसले आफ्नो काम प्रति सन्तुष्टि लिन सक्नुपर्छ । म गुरुङ फिल्मबबाट सन्तुष्ट छु । अवसर पाए नेपाली फिल्ममा समेत काम गर्छु । यात्रामा उतारचढाव आउन सक्छ । आफुमा ज्ञान छैन भने त्यसमा हात हाल्न गाह्रो हुन्छ । सोही कारण निखारता थप्ने प्रयास समेत जारी नै छ ।

तपाईले देखेको सपना के छ ?
म अहिले कलाकारको रुपमा मात्र नभएर कथा लेखनको माध्यमबाट अगाडि बढेको छु । सह–निर्देशनको अनुभव लिइसकेको छु । अब फिल्म निर्देशन गर्ने सोच बनाएको छु । आफूले जानेको कुरा दिने रहर छ ।

पश्चिमाञ्चल तारा भइसकेको व्यक्तिले गायन यात्रालाई सँगसँगै नलाने ?
हो मैले गायन तथा फिल्मी यात्रालाई सँगसँगै लैजान सकेको छैन । मेरो गायन यात्रा रोकिएको छ । दुईवटा गीत मात्र रेर्कड भयो । २०७३ सालमा बोलन र उकाली चढ्दा गीत रेकर्ड गरेको थिए । हेरौ माहोल मिल्यो भने दुवैलाई एकसाथ अगाडि बढाउनेछु । तर अहिले मेरो प्राथमिकता गुरुङ फिल्म नै बनेको छ ।

तपाइले अभिनय गरेको गुरुङ फिल्म ‘काँचो धागो’ किन हेर्ने ?
अहिलेसम्मको दर्शकको प्रतिक्रिया तथा मैले गरेको कामको हिसाबले भन्नुपर्दा धेरै कुरा सुधार भएको वास्तविक गुरुङ फिल्म ‘काँचो धागो’ बन्न पुगेको छ । निर्देशक देखि कलाकारको मेहनत तथा फिल्मको प्रस्तुतीले फिल्मलाई परिपक्क बनाएको छ । भाषा नबुझेपनि फिल्म हेर्दा सजिलै कथा बुझ्न सकिन्छ । सोही कारण सबैले यो फिल्म हेर्नुहोला भन्छु ।

‘काँचो धागो’ फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?
‘स्यु रु’ यानेकी काँचो धागो दूईवर्ष अगाडि निर्माण भएको फिल्म हो । यो फिल्म पोखरा रामबजारको भमरकोट पार्टी प्यालेस तथा कल्पना सिनेमा हलमा प्रर्दशन भएको थियो । पोखरा बाहिरका विभिन्न गाउँमा समेत यो फिल्म देखाइएको थियो । अब यही चैत्र १३ गते शुक्रबार र १४ गते शनिबार गुरुङ फिल्म एसोशिएसन नेपालको ब्यवस्थापनमा पोखराको मिडटाउन सिनेमा हलमा फिल्म प्रदर्शन हुदैछ । यो फिल्म स्वस्ति फिल्म प्रा.लि.ले निर्माण गरेको चौथो फिल्म हो । जसको कार्यकारी निर्माता विकाश क्रोम्छे गुरुङ हुनुहुन्छ ।

फिल्ममा म सहित, जुना गुरुङ, नविन गुरुङ, अनुशा गुरुङ, डिबि गुरुङ, रेशम गुरुङ, नेत्र बहादुर गुरुङ, सुसान गुरुङ, सुविना गुरुङ सहितका कलाकारको अभिनय हेर्न पाइन्छ । फिल्मको छायाकंन खिम बहादुर गुरुङले गर्नुभएको हो । सोम गुरुङको लेखन तथा निर्देशनमा फिल्म तयार भएको हो । फिल्मको निर्मातामा जित गुरुङ, मन बहादुर गुरुङ, रामप्रसाद गुरुङ, युवराज गुरुङ, नौजंग गुरुङ र सुर्य बहादुर गुरुङ हुनुहुन्छ ।

गुरुङ फिल्मलाई हामी सबैले माया गर्नुपर्छ, हेरेपछि प्रतिक्रिया दिनुपर्छ । हाम्रो पुर्खा कस्तो थिए, हाम्रो संस्कार संस्कृति के थियो, चलनचल्ति के थियो भन्ने कुरा फिल्ममा पाउन सक्नुहुनेछ । यो व्यवसायिक लवस्टोरी फिल्म समेत हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button