गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियान कञ्चनपुरमा

पोखरा न्यूज ।  जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियाका लागि धुर्मुस सुन्तली फाउण्डेशनको टोलीले कञ्चनपुरमा आर्थिक सहयोग जुटाउने कार्य गरिरहेको छ । फाउन्डेसनका सञ्चालक सिताराम कट्टेल(धुर्मुस) लगायतको टोलीले दुई दिनअघिदेखि दोधारा–चाँदनी नगरपालिकाबाट शुरुआत गरेको अभियानमा जनस्तरबाट, स्थानीय तह, सङ्घसंस्था, सरकारी कार्यालयलगायतबाट सहयोग रकम सङ्कलनको कार्य उत्साहजनकरुपमा अगाडि बढेको छ ।

सबै क्षेत्रबाट अभियानलाई सहयोग भइरहेको छ । जनस्तरबाट स्वस्फूर्तरुपमा सहयोग रकम उपलब्ध गराउने कार्य भइरहेको छ । स्थानीय तहमा अभियानबारे फाउन्डेसनका सञ्चालक सीताराम कट्टेलले जानकारी गराउने कार्य गरिरहनुभएको छ । स्थानीय तहका जनप्रतिनिधिले अभियानमा साथ र सहयोग दिने प्रतिबद्धतासमेत गरेका छन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक अभाव भएका कारण अर्थ सङ्कलनका लागि मेची–महाकाली अभियान सञ्चालन गरिएको फाउन्डेसनका सञ्चलक कट्टेलले बताउनुभयो । “गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको अभियानमा छौँ । यो नितान्त राष्ट्रको अभियान हो”, उहाँले भन्नुभयो, “यस अभियानलाई पूरा गर्न सबैको सहयोग र साथ चाहिएको छ ।”

रङ्गशाला निर्माणको कार्यलाई निरन्तरता दिनका लागि आइपुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार रङ्गशालाभित्र ७७ वटै जिल्लाका कोठा रहने छन् । रङ्गशाला निर्माता कट्टेलले रङ्गशाला खेल्ने र हेर्ने मात्र नभई अध्ययन गर्ने ठाउँका रुपमा समेत विकास गरिने बताउनुभयो । सिङ्गो देशको रङ्गशाला बनोस् भन्नका लागि अभियानलाई निरन्तरता दिँदै आएको छ । “रङ्गशाला निर्माणका लागि रु ४३ करोड खर्च भइसकेको छ”, उहाँले भन्नुभयो, “रु १३ करोडजति उधारोमा काम गरेका छौँ ।” उहाँका अनुसार रङ्गशाला निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको छ ।

अन्तरराष्ट्रिय खेल मैदानको ८५ प्रतिशत काम पूरा भएको छ । आउँदो वैशाखमा ३० हजार दर्शकले हेर्न मिल्ने गरी पहिलो चरणको प्याराफिट तयार हुनेछ । विसं २०७५ माघ १६ गते भरतपुर महानगरपालिका र फाउन्डेसनबीच गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो ।

अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि रु तीन अर्ब ५५ करोड खर्च लाग्ने लागत अनुमान गरिएको छ । रङ्गशालामा ३० हजार दर्शक अट्ने र १० हजार सवारी साधन पार्किङ गर्ने सुविधा हुनेछ । बाहिर निष्कने चार द्वार निर्माण गरिने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button