पोखरामा १६ करोड लागतमा बन्ने सेमी हाई अल्टिच्युड खेल मैदानको शिलान्यास

पोखरा न्यूज । पोखरा महानगरको मौजामा निर्माण हुने ‘सेमी हाई अल्टिच्यूड’ खेल मैदानको शनिबार शिलान्यास गरिएको छ ।

पोखरा महानगरपालिकाको लगानीमा १६ सय ५० मिटरको उचाइमा बन्ने खेलमैदानको महानगर प्रमुख मानबहादुर जिसी र गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले शिलान्यास गर्नुभएको हो ।

करीव १६ करोड लागत अनुमान गरिएको मैदान निर्माणका लागि प्राविधिक तयारी पूरा गरिएको प्रमुख जिसीले बताउनुभयो । जिसीले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्धन गर्ने उद्धेश्यले छुट्टै विशेषता सहितको “ सेमी हाई अल्टिच्युड” खेल मैदान निर्माण गर्न थालिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले प्रदेश सरकारको तर्फबाट मैदानका लागि सहयोग गर्न आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।

सो अवसरमा सहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेले मैदानको निर्माणसंगै खेल गतिविधि बढ्न सकेमा ग्रामीण क्षेत्रको आर्थिक विकास तीव्र हुने बताउनुभयो ।

मैदान सम्म्याउनका लागि महानगरले यस वर्ष रु ४० लाख विनियोजन गरिसकेको छ र वर्षेनि यसमा आवश्यक बजेट विनियोजन गरिने महानगरपालिका योजना महाशाखा प्रमुख, इन्जिनियर शारदामोहन काफ्लेले बताउनुभयो ।

खेल मैदानमा इलेभन ए साइड फुटबल खेल्न मिल्ने गरी संरचना निर्माण हुने र त्यहाँ करिब ३ हजार दर्शक अटाउने क्षमताको प्राकृतिक प्यारापिटसमेत निर्माण गरिने वडा नं २० का अध्यक्ष सिम गुरुङले बताउनुभयो ।

मैदानको दक्षिणी भागमा बास्केटबल र भलिबल कोर्टसमेत बनाइने गरी डिपीआर तयार भएको छ । खेलाडीका लागि चेञ्जिङ रुम, शौचालयलगायतका संरचना पनि  निर्माण गरिनेछ ।

पोखरा महानगरपालिकाले आफ्नो पाँचौँ नगर सभा मार्फत मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्ने योजना अघि सारेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button