पाँचौ पोखरा स्पोर्ट्स अवार्डको ४ विधामा मनोनयन सार्वजनिक

कार्यक्रम आगामी बैशाख २० गते पोखरा सभागृह हलमा हुने

पोखरा न्यूज सम्वाददाता । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा हुने पाँचौ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७६/७७ को लागि ४ विधामा मनोनयन सार्वजनिक गरिएको छ । मञ्च गण्डकीले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मनोनयन सार्वजनिक गरेको हो ।

जस अनुसार वर्ष खेलाडी पुरुष विधामा करातेका नवीन रसाइली, टेबलटेनिसका विनेश खनिया र फुटबलका सुमन अर्याल मनोनयनमा पर्न सफल हुनुभएको छ । वर्ष खेलडी महिलाको मनोनयनमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री हुनुहुन्छ ।

यसैगरी उदियमान खेलाडीको विधामा पौडीका दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन क्षेत्री मनोनयनमा पर्नुभएको छ । उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा पर्न सफल हुनेमा पौडीका आनन्द कुँवर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी हुनुहुन्छ ।

पोखरा स्पोर्टस् अवार्डमा खास प्रतिभा छनोट गर्दै अवार्डलाई पारदर्शी बनाउन मञ्चले खेलाडी छनौट उपसमिति गठन गरेको थियो । मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित समितिले छनोट गरेकामध्ये सोमबार वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सूची पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो । मञ्चले प्रदान गर्ने बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा केही दिनपछि सार्वजनिक गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । अवार्ड वितरण आगामी २०७८ साल बैशाख २० गते पोखरा सभागृह हलमा भव्य कार्यक्रमका बीच गरिनेछ ।

मञ्चका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष तथा पत्रकार महासंका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, संस्थाका उपाध्यक्ष रञ्जन अधिकारी र महासचिव विजय नेपालले बोल्नुभएको थियो ।

खेल पत्रकारको हित, संरक्षण र वृत्ति विकासमा सहयोग गर्ने उद्देश्य स्थापित संस्था भइकन पनि समग्र खेलकुदको विकासबिना खेल पत्रकारिताको पनि विकास हुन नसक्ने तथ्य मनन गर्दै विविध गतिविधि गर्ने क्रममा मञ्चले स्पोर्टस् अवार्डलाई निरन्तरता दिँदै आएको अध्यक्ष एकराज गिरीले बताउनुभयो ।

‘यो वर्ष आयोजना हुने स्पोर्ट्स अवार्डमा विभिन्न ७ विधा रहने छन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकारतर्फ २ जनालाई पुरस्कार प्रदान गरिनेछ’ मूल आयोजक समितिका संयोजक समेत रहनुभएका अध्यक्ष गिरीले भन्नुभयो ।

विगतदेखि नियमित रुपमा हुँदै आएको अवार्ड गत वर्ष कोभिड–१९ महामारीका कारण हुन सकेको थिएन । सोही कारण यस पालि वर्ष २०७६/७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्टस् अवार्ड प्रदान गर्ने निर्णय गरिएको महासचिव विजय नेपालले बताउनुभयो ।

लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला प्रदान गरिने कोषाध्यक्ष शशीकुमार पौडेलले बताउनुभयो । यसैगरी वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिलालाई नगद दूई लाख सहित ट्रफी र दोसल्ला प्रदान गरिनेछ । यसैगरी वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार सहित ट्रफी र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघलाई नगद ३५ हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकासबैलाई अघिल्ला वर्षहरुमा झैं ट्रफी र उपहारहरु प्रदान गरिने कोषाध्यक्ष पौडेलको भनाई छ ।

अवार्ड कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाले सहयोग रहने छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

यस्तै, पोखरा लेकसिटीका तर्फबाट निर्देशक डा. विष्णु नेपालीले लाइफ टाइम अचिभमेन्ट अवार्डवापत ४० हजार, माई होटल, लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार र पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनमगरको स्मृतिमा उहाँको परिवारजनबाट पत्रकारलाई प्रदान गरिने अवार्डमा नगद ३५ हजार रुपैयाँ प्रायोजन सम्झौता भएको छ । साथै पोखरा सभागृहचोकमा सञ्चालित मुगलान रेष्टुरेन्ट स्पोर्टस् अवार्डमा रेष्टुरेन्ट पार्टनररुपमा जोडिएको मञ्चले जनाएको छ ।

मञ्चले स्पोर्ट्स अवार्डलाई बृहत् बनाउन मञ्च अध्यक्ष एकराज गिरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । यसैगरी मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा सल्लाहकार उपसमिति गठन गरिएको छ । सो उपसमिति सदस्यमा पत्रकार कृष्णप्रसाद बास्तोला, नारायण कार्की, पुण्य पौडेल, बद्रीविनोद प्रतीक, रमेश पौडेल, त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, केशवशरण लामिछाने, माधव बराल, नवीन सिग्देल र दुर्गा अधिकारी हुनुहुन्छ । यस्तै, सो समितिमा पत्रकार महासंघ गण्डकी प्रदेश क्षेत्रका ११ वटै जिल्लाका महासंघ अध्यक्ष, विभिन्न खेलसम्बद्ध संघका अध्यक्षलाई समेटिएको छ ।

यसैगरी, आर्थिक उपसमिति संयोजकमा मञ्च कोषाध्यक्ष शशीकुमार पौडेल, प्रचारप्रसार उपसमिति संयोजकमा महासचिव विजय नेपाल, मायाको चिनो, प्रमाणपत्र एवं प्राविधिक व्यवस्थापनमा उपाध्यक्ष रञ्जन अधिकारी, सांस्कृतिक उपसमितिमा सचिव राजाराम पौडेल, संघसंस्था समन्वयमा कार्यसमिति सदस्य नारायण शाही, अतिथि सत्कारमा सदस्य कविता घर्तीमगर, भिडियोग्राफी फोटोग्राफीमा सदस्य गीता राना, स्वयंसेवकमा दीपक गोदार संयोजक रहनुभएको छ ।

यस्तै, खेलाडी छनोट समिति संयोजकत्वमा रामकृष्ण ज्ञवाली सहित सदस्यमा केशव पाठक, विनोद लामिछाने, दीननाथ बराल, सन्देश श्रेष्ठ र सुदर्शन रञ्जित हुनुुहुन्छ भने वर्ष उत्कृष्ट पत्रकारिता अवार्डका लागि दीपेन्द्र श्रेष्ठ, त्रिभुवन पौडेल,
विनोद लामिछाने रहेको प्रतिभा छनोट समिति गठन गरिएको छ । दुवै समितिको पदेनसदस्य मञ्च अध्यक्ष र महासचिव छन् । सबैको साथ र सर्पोट सहित अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीलाई तिव्र पारिएको मञ्चले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button