कांग्रेस सभापति पद एक: उम्मेदवारी दाबी अनेक !

पोखरा न्यूज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । सोही क्रममा आज कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यले आसन्न महाधिवेशनको तयारी र नेतृत्वको तयारी सम्बन्धमा छलफल गर्नुभयो ।

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला तथा नेता प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, सुजाता कोइरालालगायत करीब २५ पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी हुनुहुन्थ्यो । संस्थापन इतर समूहका लगभग उहाँहरु सबैले आफूलाई सभापतिको उम्मेदवारीमा दाबी गर्दै आउनुभएको छ । यद्यपि सहमतिका आाधारमा एक मात्र उम्मेदवार बनाउन सकिए कतिपय नेताहरुले पछि हट्न सकिने बताउनुभएको थियो ।

भेलामा अधिकांश केन्द्रीय सदस्यले सो समूहबाट सभापतिमा सहमतिका आधारमा एक मात्र उम्मेदवार हुनुपर्नेमा जोड दिनुभएको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिनुभयो । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामका बारेमा भेलामा समीक्षा हुनाका साथै भावी नेतृत्वमा सहमतिको प्रयासलाई जारी राख्नुपर्नेमा जोड दिइएको थियो ।

कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यसँग चरणबद्ध रुपमा छलफल थाल्नुभएको छ । पछिल्लो पटक सभापति देउवा निकट मानिनुभएका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने तयारी थाल्नुभएको छ ।

संशोधित कार्यतालिकानुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button