स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा

उदीयमान खेलाडी बन्न दुवाना, प्रदीप, र विपिनबीच प्रतिष्पर्धा

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । असार १८ गतेलाई तय भएको ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ को तयारी अन्तिम चरणमा पुगेको छ । खेल क्षेत्रमा अगाडि बढ्नुभएका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई अवार्ड प्रदान गरेर खेल क्षेत्रमा थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको यो कार्यक्रमलाई भव्य बनाउनको लागि तयारी अन्तिम चरणमा पु¥याएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

मञ्चले सल्लाहकार, खेलाडी छनोट समिति, पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न समितिका संयोजक तथा प्रतिनिधिसँग निरन्तर छलफल गरिरहेको मुल आयोजक समितिका संयोजक समेत रहनुभएका गिरीले बताउनुभयो ।

कोरोना महामारीका कारण सेमी–भर्चुअल माध्यमबाट आयोजना हुने कार्यक्रममा सिमित व्यक्तिले मात्र कार्यक्रम स्थलमा प्रवेश पाउनुहुनेछ । जहाँ स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डलाई पालना गर्दै कार्यक्रम गरिनेछ । खेलप्रेमी तथा मञ्चका शुभचिन्तकलाई भर्चुअल माध्यमबाट अवार्ड वितरण समारोह हेर्ने व्यवस्था मञ्चले मिलाउने छ ।

अवार्ड कसले हात पार्ला भन्ने कौतुहलता मनोनयनमा परेका खेलाडी, प्रशिक्षक मात्र नभएर आम खेलप्रेमीका रहेको छ । किनकी मनोनयन सार्वजनिक भएका सबै विधामा कडा प्रतिष्पर्धा रहेको छ ।

यसैबिच वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा पौडीकी दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्रीबिच प्रतिष्पर्धा हुँदैछ । मनोनयनमा पर्नुभएका तीनजना मध्ये कस्ले अवार्ड जित्नुहोला भन्ने जिज्ञाशा असार १८ गते शुक्रबार दिउँसो साढे २ बजे पछि बल्ल मेटिनेछ । यो विधामा मनोनयनमा परेकोमा तीनै जना खेलाडी मनोनयनमा परेकोमा खुशी हुनुहुन्छ । उहाँहरुको सपना वर्ष उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड हात पार्ने नै रहेको छ ।

उदीयमान खेलाडी विधामा मनोनयनमा पर्नुभएकी दुवाना लामा बल्ल १४ वर्षकी हुनुभयो । उहाँको जन्म २०६३ असार ३० मा भएको हो । उहाँ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौं संस्करणको स्पोर्टस् अवार्डमा मनोनयनमा पर्ने सबैभन्दा कान्छो उमेरकी खेलाडी रहनु भएको छ ।
मनाङको निसाङ गाउँपालिका ८ घर भइ हाल काठमाडौं निवासी मुखिया र मेरी लामाको एकमात्र सन्तान हुनुहुन्छ ।

बुबाकै प्रेरणाका कारण उहाँको खेलयात्रा सुरु भएको हो । उमेरले साढे ५ वर्षमात्र टेकेको समयमा दुवानालाई उहाँका बावु मुखिया लामाले एक दिन स्वीमिङ पुल लग्नुभयो । बालुवाटारस्थित जोन डीई स्कुलबाट लाजिम्पाट नजिकै थियो । त्यहाँको शंकर होटलको स्वीमिङ पुल पुग्ने गर्नुभएकी दुवाना पौडीमा रमाउनु भयो । एकपछि अर्को गर्दै कहिले शंकर, कहिले अन्नपूर्ण, कहिले गोदाबरीको स्वीमिङमा पुग्न थाल्नुभयो । दुवानाको पौडी कला देखेपछि शुभ श्रेष्ठले मुखियालाई सुझाव दिनुभयो, ‘छोरीलाई राम्रोसँग पौडी सिकाउनुपर्छ । भविष्यमा नाम राख्न सक्छिन् ।’ हुन पनि १३ औं सागहोस् वा आठौं राष्ट्रिय खेलकुदसहित विभिन्न प्रतियोगितामा पदक हासिल गरेर सानै उमेरमा उहाँले नाम चम्काउनुभयो ।

उहाँले १३ औं सागमा टिम रिलेमा ३ कास्य र एकलतर्फ २ रजत पदक जित्नुभएको थियो । एकलतर्फ उहाँले २०० मिटरको ब्रेस्टस्ट्रोक र बटरफ्लाईमा रजत हात पार्नु भएको हो । ६ वर्षको हुँदा नै काठमाडौंमा एलए कपमा योङ्गेस्ट प्लेयर उपाधि जित्नुभएकी उहाँ निरन्तर पौडेरै दूरी घटाउनेतर्फ केन्द्रित बन्नुभयो । फलस्वरुप नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा ६ स्वर्ण र ४ रजत जित्न सफल हुनुभयो । त्यसबेला २०० मि. बटरफ्लाई क्याटागोरीमा नेशनल रेकर्डसमेत तोड्न सफल उहाँको नाममा विभिन्न प्रतियोगितामा ५० मि.ब्रेस्टस्ट्रोक, २०० मि. ब्रेस्टस्ट्रोक र २०० मि.को नेशनल रेकर्ड रहेको बावु मुखियाको दाबी छ । साथै सन् २०१९ मा बैंलोरमा भएको एशियन एजग्रुप लङ कोर्स च्याम्पियनसीपमा ५०, १०० र २०० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय रेकर्ड कायम गर्नुभएकी दुवाना थप प्रशिक्षणका लागि २ वर्षदेखि थाइल्याण्ड हुनुहुन्छ । कक्षा ९ मा पढ्दै उहाँले पौडीकला अगाडि बढाउनुभएको हो ।

यता उदीयमान खेलाडी विधामा मनोनयनमा पर्नुभएका लनटेनिस खेलाडी प्रदीप खड्का पोखरा महानगरपालिका ५, पस्र्याङमा जन्मनुभएको हो । उहाँको स्थायी ठेगाना नेपालको पूर्वी जिल्ला ओखलढुंगाको सिस्नेरी–३ हो । बाबु लालबहादुर खड्का र आमा रत्नमाया खड्काका छोरा प्रदीपले पोखराकै वाराही माविमा अध्ययन गर्नुभयो ।

पढाइ र खेलसँगसँगै अगाडि बढाउनुभएका २३ वर्षीय खड्काको खेल जीवन २०६५ सालदेखि सुरुआत भएको हो । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल खड्काको खेल जीवनमा यी र यस्तै धेरै मेडल हात परे । जुन मेडलहरु उहाँले आफ्नो घरको भित्ता सजाउनुभएको छ । उहाँ नेपालका पूर्व नम्बर १ लन टेनिस प्लेयर हुनुहुन्छ ।
लनटेनिसमै १३ वर्ष बिताइसकेका उहाँले आफूलाई अझ निखारलता ल्याउन माल्दिभ्समा थप कोर्स पनि पूरा गर्नुभएको छ । माल्दिभ्समै रहँदा उहाँले अकु टेनिस एकेडेमीमा कोचको भूमिका पनि निर्वाह गर्नुभयो ।

उहाँले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जित्नुभएको थियो । त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल नै हात पार्नुभएको थियो ।

लुम्बिनी ओपन नेश्नल लन टेनिस टुर्नामेन्टमा लगातार २ वटा संस्करणमा क्रमशः मेन्स सिंगल्स इभेन्ट र मेन्स डबल्स इभेन्सका विजेता रहनुभभएका खड्का सन् २०१९–०२० मा नेपालका नम्बर नं. १ टेनिस खेलाडी हुनुहुन्छ ।
सातौं सिटिजन्स् बैंक ओपन टेनिस टुर्नामेन्टसमा मेन्स सिंगल्सतर्फ रनरअप हुँदा १७ औं माछापुच्छे« बैंक ओपन एण्ड भेटेनान्स टेनिस टुर्नामेन्टसअन्तर्गत मेन्स डबल्समा सेकेण्ड रनर अप हुन सफल हुनुभयो । यसका अलावा दोस्रो ललितपुर डिष्ट्रिक्ट नेश्नल ओपन लन टेनिस टुर्नामेन्टमा मेन्स सिंगल्समा सेकेण्ड रनर अप, १० औं सहवीर मेमोरियल ओपन लनटनिसमा मेन्स सिंग्लसमा सेकेण्ड रनर समेत हुनुभयो ।

यसैगरी उदीयमान खेलाडी विधामा मनोनयनमा पर्नुभएका पोखरा महानगरपालिका वडा १४, चाउथे निवासी विपीन खत्री आफूलाई क्रिकेटको मोह स्कुले जीवनकालमै बसेको सुनाउनुहुन्छ । बुवा तुलबहादुर र आमा सीता खत्रीको २ सन्तानमा उहाँ जेठा हुनुहुन्छ । लेफ्टआर्म स्पीनर तथा राइट ह्याण्ड ब्याट्सम्यान पोखरेली विपिनले १० वर्षदेखि क्रिकेट खेलिरहनु भएको छ ।

विगतमा यु–१९ विश्वकप क्रिकेट टोलीको बन्दसत्रमा समेत छनोटपछि उहाँले पछाडि फर्केर हेर्नु परेन । २३ वर्षीय खत्रीलाई अहिले गण्डकी प्रदेशको पुरुष सिनियर टोलीको कप्तानीको जिम्मेवारी समेत छ ।
३ वर्षअघि धनगढीमा सम्पन्न मुख्यमन्त्री क्रिकेट कपमा उहाँ उत्कृष्ट बलर घोषित हुँदा सन् २०१६ मा काठमाडौंमा सम्पन्न प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उदियमान खेलाडीको उपाधि पनि उहाँकै पोल्टामा परेको थियो ।

अधिकांश समय पोखरा रंगशाला भेटिने विपिनले प्रधानमन्त्री कपको चारै वटा संस्करण खेलिसक्नुभएको छ । साथै इपिएल, डिपीएल र पिपिएलमा २/२ पटक उहाँले सहभागिता जनाउनुभयो गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियागितामा सहभागिता जनाउनुभएको थियो । जुन टिम धनगढीमा भएको मुख्यमन्त्री क्रिकेट कपमा उपविजेता बनेको थियो ।
हालसम्म विपिन कास्की जिल्ला एवं गण्डकी प्रदेशसहित पोखरा राइनोज, धनगढी स्टार, बुटवल ब्लास्टर, रुपन्देही च्यालेन्जर्स, काठमाडौं मेयर ११ टिमबाट पिच उत्रिसक्नुभएको छ । उहाँले पोखरा पब्लिक स्कुलबाट एसएलसी उत्तीर्णसँगै कालिका उच्च माविबाट व्यवस्थापन संकायमा प्लस टु सकाउनु भएको छ ।

यसरी वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा मनोनयनमा पर्नुभएका पौडीकी दुवाना लामा, लनटेनिसका प्रदीप खड्का तथा क्रिकेटका विपिन खत्री मध्ये उत्कृष्ट एक जनाले ३५ हजारसहित अवार्ड जित्नुहुनेछ । अवार्ड कार्यक्रम असार १८ गते दिउँसो साढे २ बजे पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमि–भर्चुअल माध्यमबाट हुनेछ । समारोहमा उदीयमान खेलाडी सहित लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकारतर्फ २ जनालाई यसपाली पुरस्कार प्रदान गरिनेछ ।

सिमित व्यक्ति प्रत्यक्ष उपस्थित भइ सेमी भर्चुअल माध्यमबाट आयोजना हुने अवार्ड कार्यक्रम खेलप्रेमीले घरमानै बसेर हेर्न सक्ने व्यवस्था मिलाइने महासचिव विजय नेपालले बताउनुभयो । अवार्ड कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका सहित विभिन्न संघसंस्था तथा खेलप्रेमी महानुभावको विशेष सहयोग रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button