फुटबललाई जीवन ठान्ने रञ्जितलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । फुटबललाई नै जीवन ठान्ने व्यक्ति हुनुहुन्छ केशव रञ्जित (आनन्द) । उहाँ पोखरेली फुटबलका लागि जिउँदा इतिहास रहनुभएको छ । किनकि उहाँले आफ्नो उर्जाशील समय फुटबलकै लागि सर्मपण गर्नुभयो ।

यसरी फुटबल मार्फत पोखराको शान, मान र प्रतिष्ठा उकास्नका उहाँले गरेको मेहनत तारिफयोग्य छ । उहाँको यहीं योगदानको कदर गर्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ । असार १८ गते शुक्रबार दिउँसो साढे दुई बजे पोखरा रंगशालाको व्याडमिन्टन हलमा सेमी–भर्चुअल माध्यमबाट आयाजना गर्नेे ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ मा उहाँलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

पोखरा–३ नदीपुर निवासी ६८ वर्षीय रञ्जितको पोखराको फुटबल विकासमा अतुलनीय योगदान छ । अवार्डसहित उहाँलाई ४० हजार बराबरको चाँदीको करुवा, ताम्रपत्र प्रदान गरिनेछ ।

सरल जीवन बिताउन चाहने स्वभाव रञ्जितको विशेषता हो । उहाँ धनआर्जनको पछि लाग्नुभएन । फुटबलमा पाएको उपलब्धिलाई नै आफ्नो महत्वपूर्ण उपलब्धि ठानेर रम्नुभयो ।

त्यसो त बुबा गणेशलाल रञ्जित र आमा गंगादेवी रञ्जितको कोखबाट उहाँको जन्म २०१० साल चैत २९ गते भएको हो । २०३१ सालदेखि खेल जीवन शुरु गर्नुभएका उहाँले करीब डेढ दशक गण्डकी अञ्चलको कप्तानी सम्हाल्नुभयो । सानैदेखि फुटबल भनेपछि हुरुक्क हुने उहाँले २०३१ सालदेखि २०४५ सालसम्म गण्डकी अञ्चलको कप्तान बन्नुभएको थियो ।

समकालीन फुटबल खेलाडीमा अब्बल उहाँले कैयौं खेलाडी जन्माउनुभयो । डेढ दशक गण्डकी अञ्चल फुटबल टिमको कप्तानी सम्हाल्नुभएका आनन्दको टिमले २०३२ सालमा काठमाडौंमा भएको शुभ जन्मोत्सव कपमा स्वर्ण पदक जितेको इतिहास छ । उहाँकै कप्तानीमा २०३२ सालमै अन्तरअञ्चल नर ट्रफी प्रतियोगितामा सेमीफाइनलको यात्रा तय ग¥यो । २०३५ सालमा नर ट्रफी प्रतियोगितामा संयुक्त विजेता बन्दै पहिलो ६ महिना ट्रफी राखेर सफल कप्तानको रुपमा उहाँले आफूलाई स्थापित गर्नुभयो । उहाँकै कप्तानीमा २०३७ सालमा बुटवलमा भएको नर ट्रफी प्रतियोगितामा गण्डकी अञ्चलको टिम उपविजेता बनेको थियो ।

२०३८ सालमा उहाँले महेन्द्र पुलिस क्लबबाट खेल्नुभयो । त्यही वर्ष उहाँको टिम महेन्द्र पुलिस क्लवले शुभ जन्मोत्सव कपको उपाधि चुमेको थियो । २०३१ सालदेखि २०४२ सालसम्म विभिन्न समयमा महेन्द्र पुलिस क्लब, न्यूरोड टिम (एनआरटी)बाट खेलेका उनले थुप्रै पदक र प्रमाणपत्र जित्नुभएको छ ।

२०३८ सालमा नेपालको राष्ट्रिय टिममा पर्नुभएका आनन्दले सो वर्ष रुस र भारतमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभयो । उहाँ समकालीन फुटबलरमा टेक्निकल गेमका लागि अब्बल दरिनुभयो । सन् २००३ मा नेपाली राष्ट्रिय टिमको अफिसियल भई दक्षिण कोरिया, भारत र थाइल्याण्ड भ्रमण गर्नुभएको थियो । २०३८ सालमा राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल टीमको गण्डकी प्रदेशको कप्तान भई फेयर प्ले उपाधि जिताउन सफल हुनुभयो ।

खेलाडी र प्रशिक्षकमात्र होइन, उनको योगदान विभिन्न संघसंस्थामा समेत छ । २०५८ देखि ०६२ सम्म कास्की जिल्ला फुटबल संघ अध्यक्ष रहेर जिल्लाको फुटबलको विकास र बिस्तारमा महत्वपूर्ण योगदान दिनुभयो ।

प्रतिभा छनोटका लागि गठित समितिले रञ्जितको नाम सिफारिस गरेकोमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको कार्यसमितिको २५ औं बैठकले अनुमोदन गरेको हो । मञ्च संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ, सुदर्शन रञ्जित तथा पदेन अध्यक्षमा एकराज गिरी र महासचिव विजय नेपाल हुनुहुन्थ्यो ।

यसअघि लाइफटाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा, प्राडा वीरेन्द्रसिंह गुरुङ, खड्गबहादुर रानाभाट र चित्रबहादुर गुरुङ सम्मानित भैसक्नुभएको छ । यसपालि लाइफटाइम अचिभमेन्ट अवार्डका लागि पोखरा लेकसिटी हस्पिटल, सिमलचौरले पुरस्कार प्रायोजन गरेको छ ।

अवार्ड कार्यक्रम असार १८ गते दिउँसो साढे २ बजे पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमि–भर्चुअल माध्यमबाट हुनेछ । समारोहमा लाइफ टाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकारतर्फ २ जनालाई यसपाली पुरस्कार प्रदान गरिनेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button