वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड कस्ले हात पार्ला ?

किरण, सुरेश र आनन्दबीच प्रतिष्पर्धा

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ मा कुल ७ विधामा अवार्ड प्रदान गरिदैछ । अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट प्रशिक्षक विधामा फुटवलका किरण श्रेष्ठ, बक्सिङका सुरेश मल्ल ठकुरी र पौडीका आनन्द कुँवरबीच प्रतिष्पर्धा हुँदैछ ।

मनोनयनमा पर्नुभएका तीनजना मध्ये कस्ले अवार्ड जित्नुहोला भन्ने जिज्ञाशा असार १८ गते शुक्रबार दिउँसो साढे २ बजे पछि बल्ल मेटिनेछ । यो विधामा मनोनयनमा परेकोमा तीनै जना प्रशिक्षक उत्साहित हुनुहुन्छ । उहाँहरुको सपना वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पार्ने रहेको छ । तर, तीनजना मध्य एक जनाले मात्र अवार्ड हात पार्ने हुँदा उहाँहरुमा अवार्ड आफ्नो हातमा पर्छ की पर्दैन भन्ने कौतुहलता बढेको छ ।

किरण श्रेष्ठ

वर्ष उत्कृष्ट प्रशिक्षक विधामा मनोनयनमा पर्नुभएका किरण श्रेष्ठले पोखराबाट व्यावसायिक खेलजीवन र प्रशिक्षण सुरुआत गर्नुभएको हो । ४५ वर्षीय श्रेष्ठ एएफसीको ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक हुनुहुन्छ । बावु हिराकाजी श्रेष्ठ र आमा विष्णुमाया श्रेष्ठका सुपुत्रकोरुपमा २०३३ सालमा पोखरामा जन्मनुभएका किरणका श्रीमती र १ छोरा र १ छोरी रहनुभएको छ ।

त्यसो त किरण श्रेष्ठलाई स्कुल पढ्दादेखि नै खेलकुदमा रुचि थियो । फुटबल भनेपछि उहाँ हुरुक्क हुनुहुन्थ्यो । जीवनको सुरुवातमा उहाँले मार्सल आर्टस् समेत खेल्नुभयो । रोमाञ्चकारी खेल फुटबलमा रुचि बढ्दै जाँदा राष्ट्रिय खेलाडीको यात्रा तयसँगै ३ वर्षदेखि राष्ट्रिय टिमको प्रशिक्षकको भुमिकामा उहाँ रहनुभएको छ ।

पोखरा ड्यामसाइड क्लबबाट खेल सुरुआत गरेको श्रेष्ठ बताउनुहुन्छ । त्यसपछि सहारा क्लब नै उहाँको लागि बलियो सहारा बन्यो । फुटबल खेलको सुरुआतीमा उहाँले २०५० सालमै सालमिगल कप खेल्न काठमाडौं गएको अनुभव स्मरण गर्नुहुन्छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा २०५५ सालमा भएको क्याराभान गोल्डकप खेलेका उहाँले तत्कालीन आहा गोल्डकप (हाल आहारारा गोल्डकप) का सुरुआती संस्करणहरु खेल्नुभयो । सहारा क्लबबाट खेल्नेक्रममा काठमाडौंको जावलाखेल युथ क्लबबाट ए डिभिजन खेल्नुभयो ।

कास्की जिल्लाबाट जिल्लास्तरीय फुटबल खेल्नुभएका उहाँले तत्कालीन गण्डकी अञ्चलस्तरीय खेलकुद प्रतियोगितामा भाग लिनुभएको थियो । गण्डकी अञ्चलबाट राष्ट्रिय लिग खेलेको श्रेष्ठले बताउनुभयो । काठमाडौं साँगास्थित त्यसबेलाको दीपेन्द्र पुलिस स्कुल पढ्नुभएका उहाँले त्यतिबेलै फुटबल खेलेको स्मरण गर्नुहुन्छ ।

फुटबलमार्फत सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित सहारा क्लब पोखराको टिमबाटै उहाँको यात्रा प्रशिक्षणतर्फ मोडिएको हो । सहाराको टिम हेर्दाहेर्दै काठमाडौंस्थित बौद्ध फुटबल क्लबमा दुई सिजन हेर्नुभयो । उहाँले त्यहाँ सन् २०१२ देखि ०१३ प्रशिक्षण सम्हाल्नुभएको हो । त्यसपछि नेशनल लिगअन्तर्गत सुदूरपश्चिम फुटबल क्लबमा हेड कोच सम्हाल्नुभयो । त्यहाँ उहाँले सन् २०१४ देखि ०१५ सम्म क्लब हेर्नुभयो ।

पश्चिमबाट फेरि सहारा क्लब फर्किनुभएका उहाँ सन् २०१८ देखि भने नेपालको राष्ट्रिय फुटबल टिम प्रशिक्षकमा जमिरहनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेष्ठलाई ३ वर्षअघि १२ औं साफ च्याम्पियनसीप लक्षित गर्दै प्रशिक्षक नियुक्त गरेको हो । पोखरामा जन्मनुभएका किरण हाल काठमाडौंमा एन्फामै बस्नुहुन्छ । यतिेबला साफ च्याम्पियनसीप र एएफसी एशियन कप छनोटका लागि क्याम्प सुरु हुँदैछ ।

सुरेश मल्ल ठकुरी

उत्कृष्ट प्रशिक्षक विधामा मनोनयनमा पर्नुभएका नेपाली बक्सर सुरेश मल्ल ठकुरीले सानो छँदा स्कुल आउजाउ क्रममा रंगशालामा बक्सिङ खेलेको देखिरहनुहुन्थ्यो । एक दिन कक्षा छोडेर रंगशाला छिर्नुभयो । हेर्दै र बुझ्दै जाँदा उहाँ पनि यसप्रति आकर्षित हुनुभयो । सिक्ने हुटहुटी उहाँमा जाग्यो । विद्या मर्सानीले उहाँलाई ४/५ दिनको कक्षा दिनुभयो । त्यसपछि बुटवलमा आयोजित ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०४४ खेल्ने अवसर पाउनुभयो । किनकि उहाँले पोखरामा छनोटमा रजत जित्नुभएको थियो । त्यसपछि क्लोज क्याम्प बस्नुभयो । क्रमशः विभिन्न प्रतियोगितामा भाग लिँदै जानुभयो ।

१९८८ मा काठमाडौंमा आयोजित चौथो आमन्त्रित बक्सिङ च्याम्पियनसीपको स्वर्ण पनि उहाँकै नाममा छ । उहाँ फेदर वेटमा प्रथम हुनुभयो । कोलम्बोमा आयोजित पाँचौ साउथ एशिया फेडेरेसन गेम्स १९९१ मा कास्य पदक हासिल गरेका उहाँले १९९४ मा जापानको हिरोसिमामा आयोजित १२ औं एशियन गेम्समा नेपालको तर्फबाट सहभागिता जनाउनुभयो । १९९० मा बेइजिङमा आयोजित ११ औं एशियन गेम्समा पाँचौ स्थान हासिल गर्नुभयो । सोही उपलब्धिमार्फत उहाँले बैंककमा सातौ वल्र्ड कपमा भाग लिने अवसर पाउनुभएको थियो ।

चौथो साफ च्याम्पियनसीपमा रजत पदक जित्नुभएका बक्सर सुरेशको चाहना स्वर्ण जित्ने थियो । सुरेश भारतकै टप बक्सर मनोजसँग फाइनलमा रिङ उत्रिनु भएको थियो । बेन्टम क्याटगोरीको खेल थियो । आफ्नो पक्षमा जित आउने आशा गर्नुभएका सुरेश त्यसबेला रजतमा सीमित हुनुपर्‍यो । त्यतिबेला निष्पक्ष रुपमा निर्णय भई स्वर्ण जित्न सकेको भए आफ्नो जीवनमा कायापलट हुने उहाँको बुझाई छ ।

सुरेशले चौथोमात्र हैन, पाँचौ साग पनि खेल्नुभयो । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित पाँचौ साउथ एशिया फेडेरेसन गेम्स, १९९१ मा उहाँको नाममा कास्य पदक छ । नेपालमै सन् २०१९ मा भएको १३ ‌औं सागमा भने उहाँ प्रशिक्षक हुनुहुन्थ्यो ।

त्यस्तै, सन् १९८९ मा इण्डोनेसियामा आयोजित १२ औं प्रेसिडेन्ट कप इन्टरनेशनल एमेच्युर बक्सिङ टुर्नामेन्ट–१९८९ मा उहाँले भाग लिने अवसर पाउनुभयो । त्यसबेला विभिन्न क्याटागोरीमा नेपालबाट ९ जनामात्र खेलाडी छानिएका थिए । तर उहाँ सहित प्रचण्ड शर्माले मात्र गरी कास्य पदक देशका लागि भित्राउनुभयो । यो पनि ५१ वर्षीय सुरेशका लागि अहिलेसम्मकै सुखद क्षण हो ।

पोखरा रंगशालमा उहाँले अझै पनि बिहान बेलुका गरी दैनिक करिब ४० जनालाई बक्सिङ प्रशिक्षण दिने गर्नुभएको छ । हालसम्म ३ सयभन्दा बढीलाई प्रशिक्षण दिइसकेको उहाँ सुनाउनुहुन्छ । कास्की जिल्ला बक्सिङ संघ मार्फत प्रशिक्षण दिने सुरेशमात्र हुनुहुन्छ । उहाँहाल पोखरा ७ सुकुम्बासी बस्ती बस्नुहुन्छ ।

२२ वर्षदेखि निरन्तर बक्सिङ प्रशिक्षण गर्दै आएका उहाँले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीलाई पदक जिताउन सफल हुनुभयो । सातदोबाटोमा आयोजित प्रथम यु–१९ महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७६ मा उहाको प्रशिक्षण रहेको गण्डकीको टिम च्याम्पियन बनेको थियो । त्यसबेला गण्डकीले ३ स्वर्ण, २ रजत र ३ कास्य जितेको थियो । यस्तै, भारतको पटियालामा डिप्लोमा इन बक्सिङ कोर्स लिन सफल प्रियंका बर्माका प्रशिक्षक सुरेश हुनुहुन्छ । उहाँको परिचय अहिले रेफ्री जज हो । परेको बेला रेफ्री र जज दुवै भ्याउँनुहुन्छ। नाच्न सिपालु उहाँ पछिल्लो समय टिकटकमा समेत सक्रिय हुनुहुन्छ ।

आनन्द कुँवर

उत्कृष्ट प्रशिक्षक विधामा मनोनयनमा पर्नुभएका आनन्द कुँवरको जन्म बाबु डिलबहादुर र आमा सन्तु कुँवरका सुपुत्रका रुपमा २०३१ सालमा भएको हो । पोखरा बैदामका कुँवरलाई सानैदेखि पौडी खेलप्रति रुचि थियो । पौडिनका लागि अहिलेजस्तो स्वीमिङ पुल भने हुन्थेनन् । तैपनि आँगनमै फेवाताल थियो । एक दिन तालवाराही छेउमा पौडिनेक्रममा काठमाडौंबाट घुम्न आएका कोचको नजरमा उहाँ पर्नुभयो । त्यसपश्चात पहिलोचोटि २०५२ सालमा पश्चिमाञ्चलबाट राष्ट्रिय खेल खेल्ने अवसर जुर्‍यो ।

घरको आर्थिक स्थिति कमजोर नै थियो । डाइटको लागि र पोशाकको लागि उहाँले फेवामा डुंगासमेत चलाए । स्कुलेजीवनमा उहाँले फुटबल, भलिबल, एथलेटिक्स पनि खेल्नुभयो । तर जीवन पानीमै बित्यो । २६ वर्षसम्मको खेलजीवनमा उहाँले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनुभयो । आठौं साफमा उहाँले नेपाललाई पदक जिताउनसमेत सफल हुनुभयो ।

२०६१ सालसम्म प्रतियोगितामा भाग लिएका उहाँ त्यसयता प्रशिक्षणमा व्यस्त छन् । यसबीचमा ४ सय जनाभन्दा बढीलाई पौडी सिकाइसकेको उहाँको दाबी छ ।

खेलमा उहाँको उपलब्धी हेर्दा आठौं साफमा नेपालका लागि कास्य पदक जित्ुभयो भने भारतमा भएको १३ औं एशिया प्यासिफिक स्वीमिङ तथा डाइभिङ प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नुभयो । सातौं साफमै पनि उहाँ क्लोज क्याम्पमा पर्न सफल हुनभयो । यस्तै सन् १९९६ मै फेवातालमा भएको सातौं स्टार अन्नपूर्ण टाइथनमा सहभागिता, नवौं राष्ट्रिय पौडी प्रतियोगितामामा २ रजत र ३ कास्य, १० औं राष्ट्रिय पौडी प्रतियोगितामा ३ रजत र २ कास्य, चौथो राष्ट्रिय खेलकुदमा ३ रजत, दीपेन्द्र जन्मोत्सव कप पौडी प्रतियागितामा १ स्वर्ण र २ रजत हात पार्नुभयो । उहाँले बेगनासमा २०५५ मा सम्पन्न खुला पौडी प्रतियोगितामा स्वर्ण पदक जित्न सफल हुनुभयो ।

उहाँ २०५६ मा राजा वीरेन्द्रबाट गोर्खा दक्षिणबाहु पाँचौबाट विभूषित समेत हुनुभएको थियो । उहाँले फिना कोर्स, ओलम्पिक सोलिडारिटी कोर्स फर कोच एण्ड रेफ्री, फस्ट एड/लाइफ गार्डिङ/पिसीआर कोर्सलगायत थुप्रै तालिमसमेत लिनुभएको छ । घरको आर्थिक अवस्था सुधार्न उहाँ २०५८ सालपछि ३ वर्ष खाडी मुलुकमा पनि रोजगार गर्न पुग्नुभयो ।

जीवन नै पौडीमा बिताउनुभएका कास्की पौडी संघका सचिव कुँवरले गण्डकी बोर्डिङ स्कुलमा २ सय, पश्चिम पृतनामा ६०, फेवाताल र अन्य पुलहरुमा करिब २ सय जनलाई प्रशिक्षण दिइसकेको सुनाउनुहुन्छ ।

यसरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा मनोनयनमा पर्नुभएका फुटवलका किरण श्रेष्ठ, बक्सिङका सुरेश मल्ल ठकुरी र पौडीका आनन्द कुँवर मध्ये उत्कृष्ट एक जनाले ३५ हजारसहित अवार्ड जित्नुहुनेछ । अवार्ड कार्यक्रम असार १८ गते दिउँसो साढे २ बजे पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमि–भर्चुअल माध्यमबाट हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले पोखरा न्यूजलाई बताउनुभयो ।

समारोहमा उत्कृष्ट प्रशिक्षक,सहित लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकारतर्फ २ जनालाई यसपाली पुरस्कार प्रदान गरिनेछ ।

सिमित व्यक्ति प्रत्यक्ष उपस्थित भइ सेमी भर्चुअल माध्यमबाट आयोजना हुने अवार्ड कार्यक्रम खेलप्रेमीले घरमानै बसेर हेर्न सक्ने व्यवस्था मिलाइने महासचिव विजय नेपालको भनाई छ । अवार्ड कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका सहित विभिन्न संघसंस्था तथा खेलप्रेमी महानुभावको विशेष सहयोग रहेको कोषाध्यक्ष शशीकुमार पौडलले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button