पाँचौ पोखरा स्पोर्टस् अवार्डको सम्पूर्ण तयारी पूरा

विभिन्न ७ विधामा अवार्ड वितरण गरिने

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता ।  बहुप्रतिक्षित पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रम सेमी–भर्चुअल माध्यमबाट भोली शुक्रबार आयोजना हुँदैछ । कार्यक्रमको तयारी पूरा भएको मञ्चका अध्यक्ष एकराज गिरीले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै पोखरा रंगशालाको ब्याण्डमिन्टन हलबाट सेमि भर्चुअलरुपमा समारोह गर्न लागेको अध्यक्ष गिरीले बताउनुभयो ।

कोरोनाका कारण अघिल्लो वर्ष अवार्ड कार्यक्रम गर्न नसकिएकोले यसपालि वर्ष २०७६/७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्टस् अवार्ड प्रदान गर्न लागिएको हो । कार्यक्रममा विभिन्न ७ विधामा अवार्ड वितरण गरिनेछ । अवार्ड वितरण गर्ने विधामा लाइफ टाइम अचिभमेन्ट, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार छन् । तीमध्ये उत्कृष्ट पत्रकारतर्फ २ जनालाई सम्मान गरिनेछ ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु¥याएका केशव रञ्जित (आनन्द) र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई दिने तय भएको छ ।

वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली (कराते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) तथा वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) उत्कृष्ट ३ मनोनयनमा पर्नुभएको छ ।

उदीयमानतर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) तथा उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनीत हुनुहुन्छ । हरेक विधामा उत्कृष्ट १ जनाले मूल कार्यक्रममा नगद सहित अवार्ड जित्ने छन् । साथै मनोनीत सबैलाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ ।

लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही २/२ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने छ । वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार (२ जना) लाई जनही ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला दिइनेछ ।

गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा हुने अवार्ड कार्यक्रमको एबिसी न्यूज टेलिभिजन र पोखरा टेलिभिजन सहित युट्वबाट असार १८ गते शुक्रबार दिउँसो ठिक ३ बजे लाइभ प्रसारण गरिनेछ ।

सिमित व्यक्ति प्रत्यक्ष उपस्थित भइ सेमी भर्चुअल माध्यमबाट आयोजना हुने अवार्ड कार्यक्रम खेलप्रेमीले घरमानै बसेर हेर्न सक्ने व्यवस्था मिलाइने महासचिव विजय नेपालले बताउनुभयो । अवार्ड कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका सहित विभिन्न संघसंस्था तथा खेलप्रेमी महानुभावको विशेष सहयोग रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button